सुभानु आचार्य
काठमाडौं । उपत्यकासहित देशभरका बजार विस्तार भएका ठाउँमा महिला सौन्दर्य केन्द्र (ब्युटी पार्लर) केही घर बिराएर हुन्छन् । पहिले लहडमा खुलेका ब्युटी पार्लरमध्ये केहीले राम्रो सफलता हात पारेका छन् भने, धेरै बन्द भएका र बन्द हुने अवस्थामा पुगेका छन् । तर, २५ वर्षअघि खुलेको ललितपुरको ‘सम्झना ब्युटी पार्लर’ भने यो पेसामा लागेका महिलाको उदाहरण बनेको छ । यो ब्युटीपार्लरलाई सञ्चालन गरेका छन् स्याङ्जाबाट काठमाडौं आएका दुई दिदीबहिनी सञ्जु र बिनिता लुंगेली मगरले ।
उनीहरूको यो पार्लर सुन्दरताका लागि मात्र नभई स्वास्थ्य टिप्स लिनका लागि पनि उपयुक्त हुने गरेको पार्लरमा पुगेकाहरू बताउँछन् । हुन पनि कक्षा नौ सम्म अध्ययन गरेकी सञ्जुले पार्लरमा आउने ग्राहकलाई उनीहरूको अनुहारमा भएको छायाँ, पोतो, डन्डिफोर तथा अन्य छाला रोगको उपचारका लागि उचित परामर्श दिने गरेकी छन् ।
विभिन्न गोष्ठी सेमिनारमा भेटिने चिकित्सकहरूसँग गफगाफ र उनीहरूले दिएको शिक्षाका कारण अनुहारमा देखा पर्ने रोगका बारेमा चिकित्सकले सरह सल्लाह दिन सक्ने क्षमताको विकास गरेको सञ्जुले बताइन् । उनले भनिन्, ‘अहिले मलाई धेरै जानकारी पनि छ । मसँग भेट हुने चिकित्सकहरूले पनि तपार्इं परेर चिकित्सक अनि हामी पढेको चिकित्सक भन्ने गर्नुहुन्छ । खुसी लाग्छ ।’
सानैमा बुबा गुमाएका उनीहरूकी आमा रोगी थिइन् । साना भाइबहिनीको स्याहारसुसारको जिम्मेवारी काँधमा आएपछि पढाइ छोडेर व्यवसाय रोजेको बताउँदै सञ्जुले पार्लर खोलेपछि दुःखका दिन हराएको बताइन् । स्थापनाको धेरै वर्षसम्म कपाल कटाइ गर्ने, कपालमा रङ तथा हातमा मेहेन्दी भर्ने र आँखिभौँको रौँ मिलाउने उनीहरूले अहिले नयाँ प्रविधिको प्रयोगसँगै ब्युटी पार्लरमा गरिने काम अत्याधुनिक रूपमा गर्दछन् ।
‘पहिले घर भाडा पाँच सय थियो, अहिले १२ हजार पुगेको छ । सेवाको शुल्क पनि बढेको छ । ३० रुपैयाँमा कपाल काट्थ्यौंँ अहिले दुई सय लिन्छौँ,’ सञ्जुले भनिन्, ‘मूल्य बढे पनि सेवा लिने घटेका छैनन् । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहको महिला पार्लरमा आउने गर्दछन् ।’
नयाँलाई सीप पनि सिकाउने सम्झना ब्युटी पार्लरमा सिक्नेहरू स्थानीय ठाउँमा पार्लर खोल्नुका साथै वैदेशिक रोजगारीका क्रममा विदेश पनि गएका छन् । आफूले सिकाएका महिलाले नेपाल मात्र ३० देखि ४० वटा पार्लर खोलेको र केही अमेरिका, लन्डन, कुबेत लगायतका देशमा काम गरिरहेको बताइन् । उनीहरूले विभिन्न हिंसामा परेका तथा पति वियोगमा परेका महिलालाई सहुलियत रूपमा सीप सिकाएर स्वावलम्बन बनाउने काम गरेका छन् ।
कुनै पनि काममा लगाव राख्नसके सफलता खोज्न टाढा जानुनपर्ने उदाहरण बनेका यी दुई दिदीबहिनीले एकै स्वरमा भने, ‘काममा उत्तारचढाव हुन्छ नै, केही असफलता भए पनि लगावका साथ काम गरे सफलता धेरै हुँदो रहेछ ।’ उनीहरूले आफूलाई स्वावलम्बन बनाउन सबै दिदीबहिनीले सिर्जनात्मक काम गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया