काठमाडौं । मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खान तथा अन्य बलिउडका कलाकार काठमाडौं आउँदै छन् । ‘दबंग द टुर’ कार्यक्रमका लागि होलीको अर्को साता उनी नेपाल आउन लागेका हुन् ।
सलमान तीन दिनका लागि नेपाल आउन लागेको आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले जानकारी दिए । कार्यक्रम भारतमा रहेको शोहेल खान प्रडक्सन र जेई इभेन्ट्सको सहकार्यमा गरिन लागिएको हो ।
सो कार्यक्रममा सलमानका साथै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा, डेजी शाह, कृति सेनन, मिट ब्रदर, मनिष पावल लगायतका पाँच दर्जन कलाकार नेपाल आउने आयोजक संस्थाले जनाएको छ ।
यसअघि सलमान सन् १९९४ मा नेपाल आएका थिए । सो कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता मनिष पावलले गर्दैछन् ।२६ फागुनमा टुँडिखेलमा मुख्य कार्यक्रम हुनेछ । कार्यक्रममा ५० हजारभन्दा बढी सलमानका समर्थक टुँडिखेलमा आउने आयोजक ओडिसीले जनाएको छ । यो कार्यक्रम नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो ओडिसीका गुरुङले दावी गरे । सो कार्यक्रमलाई महोत्सवका रूपमा मनाउन १२ बजेदेखि नै गेट खुला गरिने उनले जनाए ।
साढे ६ बजेदेखि सलमानले करिब ३ घन्टा स्टेजमा नाचगान गरेर माहोल तताउने आयोजकले जनाए । ओडिसीका निर्देशक गुरुङले भने, ‘कार्यक्रमको सेट–अप अन्तर्राष्ट्रियस्तरको हुनेछ । गएको १० तारिखमा दिल्लीको जवाहरलाल नेहरू रंगशालामा ‘दबंग द टुर’ कार्यक्रम भएको थियो । जहाँ ५० हजारको हाराहारीमा दर्शक उपस्थित थिए ।’ काठमाडौंमा पनि सफलतापूर्वक कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रम गरिने स्थानको सुरक्षा व्यवस्था चुस्त पारिने उनले जनाए । नेपाल आएका बेला सलमानलाई हेलिकोप्टर चार्टर गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गराउने गुरुङले बताए । ‘सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् । ३ हजारदेखि १० हजार रुपैयाँसम्म टिकटको मूल्य रहने सो कार्यक्रमका लागि १० देखि १२ करोडको बजेट लाग्ने अनुमान गरेको गुरुङले जनाए ।
प्रतिक्रिया