क्षेत्र नं. १, रूपन्देहीका उम्मेदवार विकासमा केन्द्रीत

छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेदवार । प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा फरक शैली र स्वभावका विश्वकर्मा निर्वाचन आफुले जित्नेमा लगभग ढुक्क छन् । जिल्लाको विकास निर्माण र जनताको जिवनस्तर उकास्ने आफ्नो जितपछिको प्राथामिकता रहेको उनको भनाई छ । देवदह विकास समिति बनाउने, लुम्विनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउने, जिल्लाको सुकुम्वासी समस्या समाधानमा लाग्ने उनको योजना छ । चुनावी अभियान र भावी योजनाका विषयमा वाम गठबन्धनका उम्मेदवार विश्वकर्मासँग सौर्य दैनिकले गरेको कुराकानीको सम्पादित अंश ।

छविलाल विश्वकर्मा , संयुक्त वाम गठबन्धनका उम्मेदवार ,क्षेत्र नं. १, रूपन्देही

 यस क्षेत्रमा तपाईंंको उम्मेदवारी किन ?
रूपन्देहीको क्षेत्र नं. १ मा मेरो उम्मेदवारी आमनागरिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि हो । देशभरिमै अत्यन्त धेरै सम्भावना रहेको यस क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउन सकिन्छ । यस क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय ऐतिहासिक महत्व बोकेका धार्मिक तथा सांस्कृतिक महत्वका धेरै पुरातात्विक स्थलहरू छन् । यिनीहरूको संरक्षण संवद्र्धन र प्रचारप्रसार गरेर पर्यटनको विकास गर्न सकिन्छ । यी सबै सम्भावनाहरू पूरा गर्न लुम्बिनी विकास कोषसँग जोड्दै देवदह विकास समिति गठन गर्नु आवश्यक छ ।

यस कार्यको लागि म निरन्तर लाग्नेछु । यस क्षेत्रमा अव्यवस्थित बसोवासको समस्या समाधान गर्न र जग्गाजमिनसँग रहेका विभिन्न समस्याहरू समाधान तत्काल गरी आमनागरिकलाई मालिक बनाउन सकिन्छ । यस क्षेत्रमा रहेका कलेजहरूको स्तरवृद्धि गर्न र हरेक स्थानीय निकायमा प्राविधिक शिक्षालयको स्थापना गरी सीपयुक्त योग्य जनशक्ति उत्पादन गर्न जरुरी छ । राजनीतिक परिवर्तन सम्पन्न भएकोले अब आमनागरिकको संमृद्धिको बाटो खोज्न जरुरी छ ।

राष्ट्रले चाहेको निकास र नागरिकले चाहेको विकासलाई पूरा गर्नको लागि अहिलेको वाम गठबन्धन भएको र म वाम गठबन्धनको संयुक्त उमेदवार छु । यस क्षेत्रमा रहेका पछाडि परेको वर्गसमुदायको संमृद्धि गर्न, सामजिक सद्भाव पूरा गर्न, आमनागरिकको जीवनस्तरमा सुधार ल्याई समतामूलक समाजको सिर्जना गर्नको लागि मेरो उम्मेदवारी यस क्षेत्रबाट छ । सुखी नेपाली र संमृद्ध नेपाल भन्ने आमनागरिकको अपेक्षा पूरा गर्नुका साथै यस क्षेत्रमा समानुपातिक विकास गर्न र आमनागरिकले महसुस हुनेगरी विकासका कामहरू सञ्चालन गर्न पनि म यस क्षेत्रमा आएको हुँ ।

यस क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्विक धार्मिक स्थलहरूको उत्खनन गरी प्राकृतिक संग्राहालयको यस क्षेत्रमा स्थापना गर्दै पर्यटन विकासलाई जोड दिनु आवश्यक छ । यस क्षेत्रमा बौद्ध विश्वविद्यालयको निर्माण कार्य पूरा गर्नको लागि काम मात्र सुरु भएको छ तर त्यसलाई मूर्त रूपमा पूरा गर्न धेरै चुनौतीहरू छन् । रूपन्देहीको १ नं. क्षेत्रलाई विकास र नागरिकको संमृद्धिको हिसाबले देशकै १ नम्बर बनाउनको लागि मेरो उम्मेदवारी छ ।

यस क्षेत्रमा तपाईंंका जितका आधारहरू के–के छन् ?
आमनागरिकको चाहनाअनुसार वाम गठबन्धन भएको हो । आमनागरिकले स्थिर सरकार चाहेका छन् । हामीले राम्रो कामको थालनी गरे पनि सरकारबाट बाहिरिएसँगै निरन्तरता पाउन सकेको छैन । आमनागरिकले राम्रो कामको निरन्तरता चाहेको कारण मेरो जित सुनिश्चित छ । यस क्षेत्रको विकासको लागि म हर समय लागि परेको छु । यसअगाडि म कृषि मन्त्री हुँदा किसानको पक्षमा धेरै काम गरेको छु ।

यसलाई निरन्तरता दिनको लागि आममजदुर किसानहरू र संमृद्धिको लागि मलाई आमनागरिकले मत दिनुहुनेछ । राष्ट्रियताको पक्षमा, सामाजिक सद्भावको पक्षमा र यस क्षेत्रको विकास गर्ने कार्य मेरो जितका आधारहरू हुन् । वाम गठबन्धनको साझा उमेदवार रहेको कारण र आमनागरिकको चाहना वाम गठबन्धनलाई जिताउने रहेकोले मेरो जित सुनिश्चित छ ।

तपाईंंको जित भयो भने यस क्षेत्रमा के–के गर्नु हुन्छ ?
क्षेत्र नं. १ दशगजादेखि चुरेपहाड पाल्पासम्म फैलिएको छ । दशगजादेखि दलदलेसम्म विशिष्टताअनुसार गुरुयोजना बनाएर विकासनिर्माणका काम गर्नेछु । पिछडिएको क्षेत्रमा, यस क्षेत्रको दक्षिणतर्फ विकासको अनुभूति हुन सकेको छैन । सबै क्षेत्रमा समान विकासको लागि काम गर्नेछु । यस क्षेत्रमा रहेका हरेक टोलका बाटोमा कालोपत्रे गरिनेछ । पुल तथा कल्भर्ट निर्माणको काम पूरा गरिनेछ । सुकुम्बासी र अव्यवस्थित समस्या ५ वर्षभित्र समाधान गरिनेछ । घरवासविहीनहरूका लागि नागरिक आवास कार्यक्रममार्फत आवासको व्यवस्था गरिनेछ ।

किसानको जीवनस्तर उकास्नको लागि कृषि अनुदानको व्यवस्था गरिनेछ । कृषिलाई व्यवसायिक गरिनेछ । दलित, पिछडा वर्ग र विकासको अनुभूति गर्न नपाएका आमागरिकहरूलाई विकासको मुलप्रभावमा ल्याइनेछ । कृषि, व्यापार र उद्योगको विकास गरी बिदेसिने युवालाई देशमै रहने वातावरण बनाइनेछ । सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याइनेछ । यस क्षेत्रमा बौद्ध विश्वविद्यालयको निर्माण गरिनेछ । कलेजहरूको स्तरवृद्धि गरिनेछ ।

स्वास्थ्य चौकीको स्तरवृद्धि गरिनेछ । भगवान्पुर–खैरेनी गोठादी मार्ग तथा बेलहीया कान्छीबजार चरंगे हुँदै पाल्पा जोड्ने सडकलाई वैकल्पिक मार्गको रूपमा निर्माण गरिनेछ । यस क्षेत्रमा रहेका ऐतिहासिक, पुरातात्विक धार्मिकस्थललाई संरक्षण संवद्र्धन गरी पर्यटन विकास गरिनेछ । देवदह विकास समितिको निर्माण गरिनेछ । यस क्षेत्रलाई कृषि तथा पशुपालनको लागि पकेट क्षेत्रको रूपमा योजनागत रूपले व्यवस्थापन गरिनेछ । रोजगारी नपाएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिनेछ ।

रोहिणी खोला, कजरार खोलालगायतलाई तटबन्ध गरी सिँचाइको व्यवस्था गरिनेछ । भूसतही सिँचाइ नपुग्ने स्थानमा बोरिङ गरेर सिँचाइ सुविधा पु¥याइनेछ । तीन वर्षभित्र कृषिलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने र पाँच वर्षमा कृषिउपज अन्य क्षेत्रमा पठाउने व्यवस्था मिलाइने गरी अनुदानको व्यवस्था गरिनेछ । बसोवास क्षेत्र, बजार क्षेत्र, कृषि क्षेत्र र औद्योगिक क्षेत्रलाई विभाजन गरी विशेष योजनाहरू सञ्चालन गरिनेछ । यस क्षेत्रमा खानेपानीको समस्या अति धेरै छ ।

राम्रोसँग सहरीकरण नहँुदासमेत नागरिकको धारामा खानेपानी आउन सकेको छैन । खानेपानीको समस्या समाधान गरिनेछ । पाँच वर्षभित्र सम्पूर्ण घरमा स्वच्छ खानेपानी उपलब्ध गराउन लागिपर्नेछु । यस क्षेत्रका नागरिकले विकासको अनुभूति गर्न सक्ने गरी काम गरिनेछ । यस क्षेत्रमा कृषि, वन वातावरण, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गरी विकासनिर्माणका कामहरू समानुपातिक रूपमा गर्नेछु । दीर्घकालीन योजना बनाउनको लागि आमनागरिकको सुझाब लिएर सोही योजना अनुसार अगाडि बढ्नेछु । नागरिकको संमृद्धिको लागि सदैव लागिरहनेछु ।

यसअगाडिका प्रतिबद्धताहरू कति पूरा गर्नुभएको छ ?
मैले यसअगाडिको निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्ने क्रममा धेरै काम गरेको छु । वाम गठबन्धनको सरकार भएको समयमा समाजिक सुरक्षा भत्ता बढाएर दोब्बर बनाउने कार्य भएको छ । बौद्ध विश्वविद्यालयको काम अगाडि बढेको छ । यस क्षेत्रमा पुलको लागि धेरै योजना पार्न अर्थमन्त्री र राष्ट्रिय योजना आयोगमा पटक–पटक धाएको छु । दलित र पिछडा वर्गको सम्मानमा कार्यक्रम आएका छन् । कृषकहरूलाई व्यवसायिक बनाउन प्रधानमन्त्री कृषि परियोजना सुरु गर्न मेरो योगदान छ । लुम्बिनी सर्किटलाई ठूलो मात्रमा बजेट विनियोजन गर्न पहल गरेको छु ।

समानुपातिक र पारदर्शी विकास गर्न तपाईंं कसरी लाग्नुहुन्छ ?
मेरो उद्देश्य भनेकै समानुपातिक विकास हुनुपर्छ भन्ने हो । यस क्षेत्रमा रहेको दशगजाको सिमानादेखि उत्तरको दलदलेसम्म आवश्यकताका आधारमा विकासका कामहरू सञ्चालन गर्नेछु । सबै वडाको सबै टोलमा सम्भाव्यता अध्ययन गरी विकासनिर्माण र आयआर्जनका कार्यक्रमहरू सञ्चालन गरिनेछ । आयोजनामा परेका रकम र सांसद क्षेत्र विकास कोषलाई पारदर्शी हिसाबले आमनागरिकले जानकारी पाउने गरी सार्वजनिक गर्नेछु ।

‘सुरु भएका काम पूरा गर्न मेरो उम्मेदवारी‘

अब्दुल रज्जाक , लोकतान्त्रिक गठबन्धनका उम्मेदवार , क्षेत्र नं. १, रूपन्देही

यस क्षेत्रमा तपाईंंको उम्मेदवारी किन ?
रूपन्देहीको क्षेत्र नं. १ विकट क्षेत्र थियो । यसलाई देशकै नमुना क्षेत्रको रूपमा विकासका कामहरू भइरहेकोले विकासका काम पूरा गर्नका लागि मेरो उम्मेदवारी यस क्षेत्रबाट छ । विकासको अत्यन्त धेरै सम्भावना भएको धार्मिक, सांस्कृतिक र आध्यात्मिक क्षेत्र, भगवान् गौतम बुद्धको मावलीस्थल देवदहमा भएका पुरातात्विक स्थलहरूको उत्खनन गरी पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।

यस क्षेत्रका गाउँहरूमा होमस्टे सञ्चालन गरेर स्थानीय जनताको आम्दानी बढाउन सकिने प्रशस्त सम्भावनाहरू छन् ।  यस कामलाई साकार पार्नका लागि मेरो उम्मेदवारी यस क्षेत्रमा छ । यस क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउन औद्योगिक विकासका लागि करिडोर बनाउन देवदहलाई दुग्धउत्पादनको क्षेत्रमा प्रवद्र्धन गर्न मेरो उम्मेदवारी छ । यस क्षेत्रमा पर्ने रोहिणी नदी र कजरार नदीलाई व्यवस्थापन गरी पर्यटन प्रवद्र्धनका लागि डुंगा सञ्चालन गरिनेछ ।

नदीलाई व्यवस्थापन गर्दा जम्मा भएको पानीलाई लिफ्ट सिँचाइद्वारा सिँचाइसुविधा पु¥याउन सकिनेछ । अहिले बिदेसिएका हजारौँ युवालाई यस क्षेत्रमा नै रोजगारीको सिर्जना गरी बिदेसिनुपर्ने समस्याको अन्त्य गर्न मेरो उम्मेदवारी छ । समग्रमा यस क्षेत्रका आमजनतालाई समृद्ध बनाउने मेरो योजना छ । त्यसैकारण, रूपन्देहीको क्षेत्र नं. १ बाट मेरो उम्मेदवारी हो ।

 यस क्षेत्रमा तपाईंंका जितका आधारहरू के–के छन् ?
अघिल्लोपटक निर्वाचित भएपछि मैले जनताको घरदैलोमा पुगेर सुखदुःखमा साथ दिएको छु । संविधान बनाउनका लागि मेरो महत्वपूर्ण भूमिका थियो । रूपन्देहीको क्षेत्र नं. १ लाई विकास गर्नको लागि गुरुयोजना बनाएर विकासनिर्माणका कामहरू सञ्चालन गरिरहेको छु । यस क्षेत्रलाई देशकै नमुना बनाउन योजना बनाएर अगाडि बढेको कारण मेरो जित सुनिश्चित छ । मलाई यहाँका जनताले धेरै नजिकबाट नियाल्नुभएकोले मैले यहाँका जनताको साथ पाउनेमा ढुक्क छु ।

मैले थालनी गरेका धेरै योजनाहरू पूरा गर्नका लागि पनि मैले यो निर्वाचन जित्न जरुरी छ । हामीले बोलेर होइन काम गरेर देखाउने समय आएको छ । काम गर्नका लागि म सदैव तयार छु । काम गर्नैका लागि संविधान निर्माणदेखि अहिलेसम्म म क्षेत्र नं. १ लाई रोजिरहेको छु । यहाँको हरेक समस्यासँग परिचित भएकै कारण र जनताले मलाई मतदान गर्नुहुनेछ । योभन्दा ठूलो मेरो जितको आधार अरू के हुन सक्छ ?

तपाईंको जित भयो भने यस क्षेत्रमा के–के गर्नुहुन्छ ?
यस क्षेत्रमा रहेका युवाहरूलाई रोजगारीको सिर्जना गरिनेछ । यसबाट विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । यस क्षेत्रमा आवश्यक पर्ने विकासनिर्माणका कामहरू बाटो, पुल, खेलमैदान र अन्य पूर्वाधारहरूको काम पूरा गर्नेछु । रूपन्देहीको क्षेत्र नं. १ लाई पाँच वर्षमा कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । क्षेत्र नं. १ को सम्पूर्ण खेतीयोग्य जग्गामा सिँचाइसुविधा पु¥याई उत्पादनमा वृद्धि गरिनेछ ।

क्षेत्र नं. १ मा प्राविधिक शिक्षालयको स्थापना गरी सीपयुक्त दक्ष जनशक्तिको उत्पादन गरिनेछ । यस क्षेत्रमा सुविधासम्पन्न अस्पतालको स्थापना गरिनेछ । देवदह क्षेत्रमा रहेका पुरातात्विक स्थलहरूकोे उत्खनन गरी बुद्धको मावली प्रमाणित गरिनेछ । बोर्डरदेखि गोठादीमार्गको काम पूरा गरिनेछ । हालको बेलैया नाकादेखि कान्छीबजार हुँदै भलुही, चरंगे, मुढावास सडकको निर्माण गरी वैकल्पिक बाटोको रूपमा विकास गरिनेछ ।

पर्यटन विकासको लागि लुम्बिनीको गुरुयोजनामा देवदह, भवानीपुर, बैरीमाई, कन्यामाई, कुमारवर्ती, खयरडाँडालगायत स्थानलाई जोड्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।देवदहलाई आध्यात्मिक नगर बनाइनेछ । सहरी विकास मन्त्रालयबाट डिपिआर गराई गुरुयोजना बनाई यस क्षेत्रको विकास गरिनेछ । सुकुम्बासी समस्या समाधान गरिनेछ ।

प्राविधिक र वैज्ञानिक शिक्षा नीति लागू गरी बिदेसिने युवाहरूलाई स्वदशमै रोजगारीको अवस्था सिर्जना गरी युवालाई बिदेसिनबाट रोकिनेछ । यस क्षेत्रको सहरनबारी, चरंगे, केउली, मुढावास आदि स्थानहरूमा अग्र्यानिक तरकारीखेती उत्पादनका लागि विशेष योजना ल्याइनेछ । त्यस्ता ठाउँहरूमा कृषि पर्यटनको विकास गरिनेछ । हरेक क्षेत्रमा आत्मनिर्भर हुनसक्ने यस क्षेत्रका जनतालाई सोहीअनुसारका कार्यक्रमहरू ल्याइनेछ ।

 यसअघिका प्रतिबद्धताहरू कति पूरा गर्नुभएको छ ?
यसअगाडि मैले गरेका प्रतिबद्धताहरू ९० प्रतिशत पूरा गरेको छु । जनताको प्रतिनिधि भएर मैले आफूलाई कहिल्यै ठूलो सम्झेको छैन । जनताको प्रतिनिधि मात्र नभएर जनताको सेवक बनेर काम गरेको छु । लोकतन्त्रमा जनप्रतिनिधि चुन्ने नागरिकसँग मौलिक अधिकार हुन्छ ।

मैले गरेका कामको आधारमा मलाई मतदान गर्ने अधिकार नागरिक समाजसँग रहेको हुँदा विवेक प्रयोग गर्नको लागि आमजनतालाई अनुरोध गर्दछु । यदि मैले प्रतिबद्धता गरेका वाचाहरू पूरा नगरेको भए त मैले जनतासामु जाने आँट नै गर्ने थिइनँ नि । मैले जनताको हर सुख दुःखमा साथ दिएकोले नै फेरि जनतामाझ जाने आँट गरेको हुँ ।

समानुपातिक र पारदर्शी विकास गर्न तपाईंं कसरी लाग्नुहुन्छ ?
रूपन्देहीको क्षेत्र नं. १ दशगजादेखि पाल्पासम्म फैलिएको छ । यस क्षेत्रमा रहेका हरेक टोलहरूको समान विकास हुनुपर्छ भन्ने मेरो मान्यता छ । यस क्षेत्रमा रहेका हरेक टोलमा कृषि, स्वास्थ्य, शिक्षा, रोजगारीको अवसर तथा विकासनिर्माणका कामहरू समान रूपले गर्न प्रयत्नरत रहनेछु । मैले गर्ने सम्पूर्ण कामहरू पारदर्शी रूपमा गर्नेछु ।

 

प्रतिक्रिया