तत्काल सहमति जुटाउनुस्

काठमाडौं, २९ वैशाख । राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानका विवादित विषयमा तत्काल सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।

संविधानसभाको थप म्याद पनि सकिने समय छोटिँदै जाँदा राष्ट्रपति डा. यादवले बिहीबार बिहान एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा
(एमाले) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेताहरूलाई सहमति जुटाई बाँकी समयको सदुपयोग गर्न आग्रह गरेका हुन् । राष्ट्रपतिले संविधान जारी गर्ने मिति नजिकिएको समयलाई ध्यानमा राखेर गम्भीरतापूर्वक काम गर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए ।
संविधान लेखनमा भइरहेको प्रगति र विवाद समाधानका लागि भएको पहलबारे चासो व्यक्त गर्दै उनले विवादित विषयमा दलहरूबीच अझै सहमति हुन नसकेकामा असन्तुष्टि जनाए । उनले नेताहरूलाई जनता र देशप्रति जिम्मेवार बनेर तत्काल विवादित विषयमा सहमतिमा पुग्न आग्रह गरेको स्रोतले जनाएको छ ।
प्रमुख दलहरूबीचको मतभेदले संविधान निर्माण हुन्छ भन्नेमा जनतामा आशंका उब्जिएको उल्लेख गर्दै उनले १४ जेठमा जसरी भए पनि संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनले प्रमुख दलहरूबीचको सहमतिको कुनै विकल्प नभएको उल्लेख गर्दै १४ जेठमा संविधान निर्माण नभए मुलुक गम्भीर संकटमा फस्ने धारणा राखेका थिए । उनले संविधानका विवादित विषयमा संविधानसभामा हुने मतदान तथा थप समयभित्र संविधान जारी गर्दा आउने जटिलता र प्रक्रियाका विषयमा पनि नेताहरूसँग जिज्ञासा राखेका थिए ।
प्रत्युत्तरमा नेताहरूले विवादित विषयमा सहमतिको प्रयास जारी रहेको भन्दै छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिए । राष्ट्रपतिसँग भेटका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाबाट फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
भेटपछि एमाले अध्यक्ष खनालले राष्ट्रपतिले महत्त्वपूर्ण विषयमा सहमति जुटाएर अघि बढ्न आग्रह गरेको बताए । ‘राष्ट्रपतिले सहमतिका लागि अझै प्रयत्न गर्नुस् भनेर सुझाब दिनुभयो,’ अध्यक्ष खनालले भने ।

विवादित विषयको प्रश्नावली बनाउन कार्यदल

काठमाडौं : संवैधानिक समितिले नयाँ संविधानका विवादित विषयको प्रश्नावली तयार पार्न नसकेपछि बिहीबार बोलाइएको संविधानसभा बैठक स्थगन भएको छ । समितिको बिहीबार दिउँसो बसेको बैठकले प्रश्नावली तयार गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।
संविधानसभाको बिहीबार बस्ने भनिएको बैठकमा विवादित विषयलाई मतदान प्रक्रियामा लैजाने योजना थियो तर विवादित विषयको प्रश्नावली नै तयार हुन नसकेपछि बैठक सूचना टाँसेर स्थगन गरिएको हो । बिहीबार नै दोस्रोपटक बसेको संवैधानिक समितिको बैठकले प्रश्नावली तयार गर्न कार्यदल बनाउने निर्णय गर्‍यो ।
स्रोतका अनुसार कार्यदलले सचिवालयको सहयोगमा प्रश्नावली तयार गर्नेछ । बैठकले सभापति नीलाम्बर आचार्यलाई कार्यदलमा रहने सदस्यहरू तोक्ने अधिकार दिएको छ । शुक्रबार बस्ने समितिको बैठकमा कार्यदलले प्रश्नावली तयार गरी पेस गर्नेछ । त्यसलाई समितिले अनुमोदन गरेपछि शुक्रबार नै बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ ।
सभापति आचार्यले बिहीबार बसेको समितिको पहिलो बैठकमा लक्ष्मणलाल कर्ण, भीम रावल, रमेश लेखक, खिमलाल देवकोटा र कल्पना राणालाई कार्यदलमा राख्न प्रस्ताव गरेको स्रोतको भनाइ छ । तर, उनीहरूको नाममा बैठकमा विरोध भएपछि कार्यदलका सदस्यचयन स्थगन गरिएको थियो । दोस्रो बैठकले भने आवश्यकताअनुसार सभापतिले कार्यदलमा सदस्य तोक्न सक्ने निर्णय गरेको हो ।
‘कार्यदलले भोलि (शुक्रबार) बिहान बस्ने बैठकमा प्रश्नावली तयार गरेर पेस गर्छ,’ समिति सदस्य एकनाथ ढकालले भने । बैठकमा सरकारले ब्राह्मण–क्षेत्री, दलित दशनामी सन्न्यासीलाई अन्यमा राखेको विरोधमा पहिचानको माग गर्दै बिहीबार आह्वान गरिएको बन्दमा प्रहरी हस्तक्षेप भएको भन्दै ढकालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदा आदिवासी जनजाति सभासद्ले असन्तुष्टि जनाएका थिए । त्यसपछि उत्पन्न विवादका कारण केहीबेर बैठक अवरुद्ध भएको थियो ।
समितिमा राज्य पुन:संरचना, शासकीय स्वरूप, न्याय प्रणालीलगायत एक सय १७ वटा विवादित बँुदा छन् । संविधानसभामा पठाउनुअघि केही बुँदामा सहमति हुन सक्ने विश्वास समितिका सदस्यहरूले गरेका छन् ।
प्रमुख दलहरूले पटक–पटक म्याद थप गरे पनि सहमति जुटाउन नसकेपछि विवादित विषय संविधानसभामा मतदान गरेर टुंग्याइने भएको हो । (सौस)

प्रतिक्रिया