सौर्य समाचार
झापा । झापा शिवसताक्षी नगरपालिका १० माईधामका शेरबहादुर शेर्माको दिनचर्या साधारण मानिसको भन्दा अलि फरक छ । अरूको जति नै समय श्रम गर्छन्, अनि उति नै पैसा कमाउँछन् पनि । शेर्माले कनकाई नदीको पानीमा डुबेर नेपाली रुपैयाँका सिक्का संकलन गर्न थालेको ५ वर्ष भयो । उनी ठूलो चुम्बकको सहायताले पानीमुनिको बालुवामा झारिएका नेपाली सिक्का खोजिरहेका हुन्छन् । घुँडाघँुडा पानीमा अञ्जुलीभरि बालुवा निकालेर पैसा केलाउँछन् उनी भन्छन्, ‘सरदर १० अञ्जुली बालुवामा कमसेकम ३ देखि ५ रुपैयाँसम्म भेटिन्छ । कुनै कुनै बेला त एकै अञ्जुली बालुवामा १० देखि १५ रुपैयाँसम्म हात पर्छ ।’
शेर्मा दिनहुँ कनकाई नदीमा पानी बगेकै ठाउँमा भेटिन्छन् । उनी भन्छन् ‘बाढी नआएका बेला दिनहुँ आउँछु, बाढी आएका वेला पनि पैसा त टिप्छु तर, पानीको वहाब थोरै भएका ठाँउमा मात्र ।’ नदीको पानीभित्र खोजिएका पैसाले उनका ४ जनाको परिवारको गुजारा राम्रैसँग चलेको छ । उनी भन्छन्, ‘साताको शनिबार र मंगलबार मात्र अढाइ ३ सयसम्म हुन्छ । अरू बार २ सय जति भेला पार्छु ।’ उनले चुम्बककै सहायताले पैसा टिपेका हुन । उनी भन्छन्, ‘सिल्वर र गिल्टी बाहेकका सिक्का चुम्बकले तानेरै परिवारको गुजार मज्जाले चलाएको छु ।’
‘नाति, नातिनीले चुम्बकले पैसा तान्छभन्दा शुरुमा उनले पत्याएनन् । उनले भने, ‘केटा केटिले झुट बोले होला भन्ठान्थे तर, साच्चिकै चुम्वकले पैसा तान्दो रहेछ ।’ उनका अनुसार चुम्बकिय शक्तिले उनको आम्दानी बढाएको छ ।
बिहान चिया पिएर नदी भित्रका पैसा भेला गर्न जाने शेर्मा, बिहानको खाना पछि पनि उस्तै गरि नदीमा पस्छन् । नदीमा फेला पारेका सिक्कालाई उनले मुखमा च्याप्ने गरेका छन् । उनि भन्छन, ‘भेटिए पिच्छे बाहिर निस्कने कुरा भएन मुखमा चेप्यो अलि धेरै भएपछि बाहिर निस्केर झोलामा राख्ने गरेको छु ।’ साँझ घर फर्कीदा उनका साथमा सिक्कै सिक्का हुन्छन् । कहिलेकाहीँ त सुन चाँदीका गर गहना पनि भेटिन्छ । ‘पोहोर त मैले सुनको आँैठी पनि फेला पारेको थिए’, उनले भने ।’ नदीमा बालुवा चालेर फेला पारेका पैसाले शेर्माले घरको चुल्होको खर्चमात्र धानेका छैनन् नाति, नातिनीलाई खाता, पेन्सील पनि किनीदिने गरेका छन् । उनका अनुसार परिवारको गुजारा चलाउन यो काम एकदमै सजिलो भएको छ ।
यसका अलवा नदीमा बाढी उर्लेका बेला शेर्मा दाउरा संकलन गर्छन । उनले संकलन गरेका दाउराले शव जलाउने गरिएको छ । उनी भन्छन ‘सव जलाउने दाउरा बेच्दै पनि ४५ सय माथि कमाई हुन्छ ।’ यत्रो खोलामा कसरी पस्नु हुन्छ ? भन्ने प्रश्नमा उनी प्रतिप्रश्न गर्दे भन्छन, ‘जोखिम के मा छैन र ?, मेरो मात्र हैन सवै श्रमीक जोखिममै छन् । मलाई पानीले बगाउला भन्ने डर छ, बिजुलीमा काम गर्ने श्रमीक लाई पनि त करेन्ट लाग्ला भन्ने चिन्ता त छ भने निर्माण मजदुर पनि लडिन्छकि भन्ने त्रास मै हुन्छ ।’
पूर्वपश्चिम राजमार्गको कन्काई पुलमाथिबाट बिभिन्न आस्था र मनोकाँक्षा पुरा हुने विस्वासले कन्काई नदीमा पैसा चढाउने चलन छ । धार्मिक आस्था बोकेका सर्वसाधरणले नदीमा फालेका पैसा नै शेर्माको आम्दानीको मुख्य श्रोत बनेको हो । उनि भन्छन, ‘कुनै कुनै बेला त टाउकैमा लाग्ने गरी पैसा माथिबाट बर्सीन्छ ।’ यातायातका साधनमा यात्रा गर्ने र पैदल यात्रा गर्ने सर्वसाधारणले विभिन्न आस्थाले कनकाईमाईमा पैसा फाल्ने गरेका छन् ।
प्रतिक्रिया