हलियाकै कारण पुनस्र्थापनामा समस्या

डडेल्धुरा २८ वैशाख । विगत लामो समयदेखि हलिया पुनस्र्थापना कार्यक्रम लागू गरिएको भए पनि कार्यक्रम हलियाकै कारण प्रभावकारी हुन नसकेको हलिया मुक्ति समाज महासंघका अध्यक्ष राजुराम भुलले बताएका छन् । जिल्लास्थित हलियाको क्षेत्रमा काम गर्ने संस्था र पत्रकारको संयुक्त अनुगमनले हलियाले रकम दुरूपयोग गरेको तथ्यांक सार्वजनिक गरेको मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ ।  जिल्लाका विभिन्न ठाउँमा गरेको अनुगमनले हलियाले नै सो रकम दुरूपयोग गरेको भेटिएको हो । जिल्लाको अजयमेरु गाउँपालिका–४ को चिपुर, अमरगढी नगरपालिका बुडाली, बगरकोटलगायत ठाउँका हलियाले सो रकम दुरूपयोग गरेको राजाराम भुलको भनाइ छ । कतिपयले आफ्नो राम्रै घर व्यवस्था गरेर बसेका भए पनि केही हलियाले भने रकमको दुरूपयोग गरेको अध्यक्षले जनाएका छन् ।
मालपोत कार्यालय, डडेल्धुराले मुक्त हलिया पुनस्र्थापनाका लागि विभिन्न शीर्षकमा रकम उपलब्ध गराए पनि मुक्त हलियाले जग्गा खरिद, घर मर्मत र घर निर्माण नगरेको पाइएको मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले बताए । पुनस्र्थापनाका लागि प्राप्त रकम करिब १२ जना मुक्त हलियाले छोरा–छोरीको बिहे, बिरामी खर्च, रोजगारीका लागि भारतलगायत अन्य तेस्रो मुलुक जाँदा भाडामा खर्च गरेको पाइएको अध्यक्ष सार्कीको भनाइ छ । चिपुर, बगरकोट र बुडालीका करिब १२ जना हलियाले सो रकम दुरूपयोग गरेका खुल्न आएको हो । डडेल्धुरामा एक सय ६३ जनालाई यो आर्थिक वर्षभित्रै पुनस्र्थापना गरिने मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ । मुक्त हलियाको आफ्नै घर र जग्गा होस् भन्ने हामी चाहन्छाँै तर उनीहरूले भने पाएको रकम पनि सदुपयोग नगरी अन्य काममा खर्च गरेर महासंघलाई अप्ठ्यारोमा पारिरहेको महासंघका अध्यक्ष राजुरामको गुनासो छ ।
यो आवमा एक सय पाँच जना मुक्त हलिया पुनस्र्थापना गर्ने लक्ष्य रहेको छ । यसवर्ष मुक्त हलिया पुनस्र्थापनाका लागि भन्दै २३ को घर निर्माण, ७२ लाई घर मर्मत र ६८ जनालाई जग्गा खरिदका लागि सम्झौता गरिएको छ । भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोत कार्यालयले मुक्त हलियाको नाममा बैंकमार्फत दिने रकममध्ये घर निर्माणका लागि तीन लाख २५ हजार, घर मर्मतका लागि एक लाख २५ हजार र जग्गा खरिदका लागि दुई लाख रकम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया