बाजुरा । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको उन्नत जातको बीउका कारण यस वर्ष २० प्रतिशतले गहुँ उत्पादन बढेको छ । गहुँखेतीका लागि अनुकूल मौसम, उन्नत जातको बीउ प्रयोग र खडेरीको प्रभाव कम परेका कारण उत्पादन बढेको कार्यालयका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताए । तथ्यांकअनुसार आव २०७१÷७२ मा नौ हजार १ सय २० हेक्टर जमिनमा १४ हजार ५ सय ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर खडेरीका कारण गत वर्ष ६ सय ६० मेट्रिक टन कम गहुँ उत्पादन भएको थियो । आव २०७२÷७३ मा १२ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आव २०७३÷७४ मा १४ हजार ७ सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयले जनाएको छ ।
आव २०७१÷७२ मा प्रतिहेक्टर १ दशमलव ६ प्रतिशत, आव २०७२÷७३ मा १ दशमलव ३ प्रतिशत तथा आव २०७३÷७४ मा १ दशमलव ८ प्रतिशतका दरले उत्पादन बढेको जैसीले बताए । पछिल्लो समयमा उन्नत जातको बीउका कारण उत्पादन बढेपछि कृषक खुसी भएका छन् । कृषकलाई डब्लु के १२०४ जातको गहुँको बीउ वितरण गरिएको छ । बाजुरा खाद्य असुरक्षाका कारण उच्च जोखिममा छ । जिल्लालाई खाद्य पोषण सुरक्षा बढाउने गरी उत्पादन कार्यक्रम अघि बढाइएको कृषि प्राविधिक ललिता चौधरी बताउँछन् । जिल्लामा नौ हजार १२० हेक्टरमा गहुँ खेती गर्न सकिन्छ । करिब दुई हजार ७ सय ३५ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा रहेको छ । सिञ्चित जमिनमा प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले गहुँ उत्पादन भएको छ ।
‘सिँचाइ सुविधा पु¥याउन सकिए खाद्य असुरक्षा घट्नुका साथै गहुँ उत्पादनमा वृद्धि हुन्छ’, उनले भने । यस वर्ष कार्यालयले २४ हेक्टर जमिनमा गहुँको बीउ उत्पादन गरिएको छ । यस वर्ष उत्पादनका लागि थप सात प्रकारका बीउ परीक्षण गर्ने तयारीमा कार्यालय रहेको छ । जिल्लाका लागि बर्सेनि २८ हजार १ सय ५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । करिब १५ हजार मेट्रिक टन जिल्लामा उत्पादन हुन्छ भने १३ हजार मेट्रिक टन जिल्ला बाहिरबाट खरिद गर्नुपर्छ । कार्यालयले पछिल्लो समयमा स्थानीयस्तरमा रहेको रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्दै आएको छ । कार्यालयले नेपाल खाद्य संस्थान बाजुरासँग ६० क्विन्टल फापर खरिदका लागि सम्झौता गरेको छ ।
बाह्र सिँचाइ योजना सञ्चालनमा
झापा । झापामा जिल्लामा सिँचाइका लागि करिब ५५ करोड लागतका १२ योजना सञ्चालनमा रहेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको हो ।
जिल्लामा १२ योजनाबाट करिब चार हजार ३ सय ७६ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए । गौरादहको किस्ने खोलामा ११ करोड २३ लाख लागतमा निर्माण सुरु भएको सिँचाइ योजना सम्पन्न हुने अवस्थामा छ । यसबाट ६ सय ३० हेक्टरमा सिँचाइ सुविधा पुग्ने तिवारीले बताए ।
यस्तै गोलधापको भुतेनी खोलामा सात करोड ६९ लाखको लागतमा निर्माण सुरु भएको योजना अन्तिम अवस्थामा पुगेको छ । सो योजनाबाट ६ सय ३० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । दुवागढीस्थित हडिया खोलामा पाँच करोड २२ लाख लागतमा निर्माण हुने योजनाबाट ५ सय बिगाहा खेतमा सिँचाइ सुविधा पुग्नेछ ।
यसैगरी हडियामा दामा र त्रिवेणी सिँचाइ योजनाको निर्माण कार्य सुरु गरिएको छ । यी दुबै योजनाबाट चार सय ३० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने कार्यालयले जनाएको छ । राजगढको फौजदार घाटमा छ सय ३० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले १० करोड ६९ लाख लागतमा निर्माण सुरु भएको योजना आउँदो आवमा सम्पन्न हुने छ ।
यस्तै साँघुटारमा सञ्चालित साधुटार, नेते र सिस्ने (सानेसी) सिँचाइ योजनाले त्यस क्षेत्रमा तीन सय ५५ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ । सो योजना एक करोड ३९ लाख लागतमा निर्माण भइरहेको छ ।
पचपन्न हजार बाख्रालाई खोप
बैतडी । जिल्ला पशुसेवा कार्यालय पाटनले ५५ हजार बाख्रामा पिपिआरविरुद्वको खोप लगाएको छ । गत ११ वैशाखदेखि १० वटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थानमा बाख्रालाई खोप लगाएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले जानकारी दिए ।
व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका किसानलाई लक्षित गरेर पिपिआरविरुद्वको खोप अभियान सञ्चालन गरिएको हो । पिपिआर भाइरसको संक्रमणबाट बाख्रामा लाग्ने एक प्रकारको संक्रामक रोग भएको र यसको रोकथामका लागि पिपिआरविरुद्धको खोप एक मात्र उपाय भएको घिमिरेले बताए । भारतसँग सीमा जोडिएका क्षेत्र, सडक करिडोर क्षेत्रमा खोप अभियानलाई प्राथमिकता दिइएको थियो ।
प्रतिक्रिया