निर्वाचन आचारसंहिता उल्लंघन बढ्दो

election officeकाठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेका छन् ।निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबारसम्म निर्वाचन आचारसंहिता उल्लंघनका ७१ वटा घटना आयोगमा दर्ता भएको जानकारी दिए । निर्वाचन आचारसंहिताको मापदण्डविपरीत गतिविधि गर्नेविरुद्ध उजुरी प्राप्त भएको उनले बताए । आचारसंहिताविपरीत तडकभडक र फजुल खर्च गर्ने, छाडा प्रचारप्रसार गर्नेविरुद्व धेरै उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुकूल गतिविधि भए÷नभएको अनुगमनका लागि विभिन्न स्थानमा निर्वाचन अधिकृत खटाइएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोमबार मात्र माओवादी केन्द्रका सचेतक सीता नेपाली र धादिङको धाक्रे गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारलाई स्पष्टीकरण सोधेको थियो । आयोगले आचारसंहिताअनुसार चुनावमा खर्च गर्न आग्रह गरिएको बताउँदै तडकभडक गरिए उम्मेदवारी नै खारेज गर्न सकिनेसम्मको चेतावनी दिएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आचारसंहिता उल्लंघन गरिए १ लाख रुपैयाँ जरिवाना र उम्मेदवारी नै खारेज गर्न सकिनेसम्मको कानुनी व्यवस्था रहेको जानकारी दिए । ‘उम्मेदवारले आफ्नो खर्चको विवरण पेस गर्नुपर्छ’, प्रवक्ता शर्माले भने, ‘आचारसंहिताविपरीत क्रियाकलाप गरेको भेटिए निर्वाचित भइसकेपछि पनि कारवाही गर्न सकिने व्यवस्था छ ।’  शर्माले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेको ७१ वटा उजुरी आयोगमा परेको र त्यसको छानबिन भइरहेको छ ।’
आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरिरहेको आयोग बताउँछ । आचारसंहिता पालना भए नभएको अनुगमनका लागि निर्वाचन अधिकृत खटाइएको प्रवक्ता शर्माले बताए । यसैगरी मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक परिचालन गरिने भएको छ ।
सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता÷स्वयंसेवकलाई मंगलबार आदेश दिएको प्रवक्ता शर्माले जानकारी दिए । यस्तै आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन् ।

उपत्यकामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि काठमाडौं उपत्यकाभर ७ हजार प्रहरी परिचालन गरिएको छ । निर्वाचनको पहिलो घेराको सुरक्षा जिम्मा पाएको प्रहरीले चार हजार दुई सय ६८ जना म्यादी प्रहरीलाई आफ्नो मातहतमा परिचालन गरेको छ । ‘सबैको ध्यान काठमाडौंमा हुन्छ, अन्यत्रभन्दा जनसंख्या काठमाडौंमा धेरै भएका कारण काठमाडौंको सुरक्षामा चुनौती छ । हामीले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएका छौं’, महानगरीय प्रहरी निमित्त आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘स्थानीय तहको निर्वाचनमा कुनै पनि चलखेल नहोस् र सुरक्षाका कारण चुनावमा धाँधली नहोस् भन्नका लागि हामी सचेत छौं । सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ ।’ उनका अनुसार काठमाडौं उपत्यकाभर चुनावलाई लक्षित गरी ६ हजार नौ सय ८० प्रहरी परिचालन गरिएको छ ।

policeकाठमाडौंमा रहेका सिआरभी भ्यान, क्युआरटी मोटरसाइकल टोली, प्रहरी गस्ती, तथा नाकाहरूमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।  भण्डारी भन्छन्, ‘काठमाडौंको सुरक्षाव्यवस्था देशकै इज्जतसँग जोडिएको हुन्छ, अझ चुनावको बेला आएको छ । त्यसैले पनि काठमाडौंमा सुरक्षा परिचालन बढी गरिएको छ ।’ प्रहरीले काठमाडौं उपत्यकाभरका गेस्टहाउसमाथि पनि निगरानीमा राखेको छ । ‘काठमाडौं भित्रने नाकादेखि काठमाडौंभरका होटलमा हामीले निगरानी बढाएका छौं’, काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने, ‘सुरक्षाव्यवस्था चुस्त बनाएका छौं, ढुक्कले निर्वाचनमा भाग लिनुस् ।’
जोशीले भने, ‘चुनावमा ढुक्क हुनुहोस्, मतदाताको सुरक्षा हामीले गर्छौं । सुरक्षा व्यवस्था अत्यन्तै चुस्त बनाएका छौं, तर तपाईंहरूको साथ हामीलाई जरुरी छ ।’उनले भने, ‘सबैजना चुनावी माहौलमा लागेका बेला आपराधिक गतिविधि हुन सक्ने भन्दै हामीले त्यतातिर पनि ध्यान दिएका छौं ।उनले निर्वाचनमा कुनै पनि उच्छृंखल गतिविधि नहोस् भन्नका लागि निगरानी बढाएको पनि बताए । ‘हामीले गुन्डागर्दीमा संलग्न करिब ४० जनालाई पक्राउ गरेर कारवाही अघि बढाएका छौं’, उनले भने, ‘जेलबाट छुटेकाहरूको पनि निगरानी जारी राखेका छौं ।’

प्रतिक्रिया