३५ विद्यार्थी जसले १५ वर्षमा पाँच कक्षा पनि टेकेननन्

balbalika
चितवन । स्कुल छाडेका बालकालिकालाई फर्काउने अभियानअन्तर्गत खोजीका क्रममा जिल्ला शिक्षा कार्यालय चितवनले १५ वर्षपुग्दा पाँच कक्षा पनि नपढेका ३५ जना बालबालिका भेट्टाएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बीचैमा कक्षा छाड्ने बालबालिकाहरुलाई खोजेर स्कुलमा फर्काउने नयाँ अभियानअन्तर्गत सुरु गरेको कार्यक्रममा उनीहरु फेला परेको जानकारी दिए । कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत् यसरी स्कुल छाडेका विद्यार्थीहरुलाई खोजेर स्कुलमा ल्याउने कार्यक्रम सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिए । ‘१५ वर्ष पुग्दा पाँच कक्षा नपढेका ३५ बालबालिका पाइयो’, अर्यालले भने, ‘उनीहरु भर्ना नै नभएका हुन् या भर्ना भएर छाडेका हुन् भन्ने कुरा जानकारी दिन सिकाइ केन्द्रसँग जानकारी माग गरिएको छ ।’ उनले उनीहरुलाई स्कुल पठाउनसमेत भनिएको जानकारी दिएका छन् । सामान्यतः १५ वर्ष पुगेका बालबालिकाले एसइई (साविकको एसएलसी) परीक्षामा सहभागी हुन पाउँछ । जिल्लामा रहेका ३३ सामुदायिक सिकाइकेन्द्रमार्फत् उनीहरुलाई स्कुलमा ल्याइने छ । असारसम्मै यो कार्यक्रम चलाइने र अभिभावकलाई समेत राखेर चेतना दिन शिक्षा कार्यालय लागिपरेको छ । ती बालबालिकालाई स्कुलमा फर्काएबापत केन्द्रले ६ हजार रुपैयाँ पाउने छ । एउटा केन्द्रले यसरी २५ जनासम्म बालबालिकालाई फर्काउने प्रावधान रहेको कार्यालयले जनाएको छ । शिक्षा कार्यालयको तथ्यांकमा जिल्लामा भर्ना दर करिब–करिब शतप्रतिशत नै भए पनि बीचैमा स्कुल छाड्ने दर भने धेरै छ । स्थानीयहरु भर्ना नभएका बालबालिका रहेको दाबी गरे पनि शिक्षा कार्यालयले आफ्नो रेकर्डमा नभएको दाबी गर्दै आएको छ । अझै चितवनको पहाडी गाउँमा चेपाङ बालबालिकाहरु बीचैमा स्कुल छाड्ने क्रम रहेको स्थानीय दलबहादुर चेपाङ बताउँछन् । वैशाखमा सञ्चालन भएको भर्ना अभियानको प्रगतिबारे जानकारी दिनसमेत स्रोत केन्द्रलाई निर्देशन दिएकाले यो मसान्तसम्ममा सबै आइसक्ने जनाइएको छ। चितवनमा कुल १ सय ७६ निजी र ३ सय ७७ वटा सामुदायिक विद्यालयमा १ लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया