विस्फोटभन्दा अरू विकल्प खोज्न सुझाव

narayan ghat

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रूपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ । सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन् । आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन एसोसिएसन विथ एफबिसी नेपालले परामर्श दाताकोरूपमा सो सडक हेर्दै आएको छ । निर्माण कम्पनीले परामर्शदातामार्फत आयोजनामा प्रस्ताव राख्ने गर्दछन् ।
यो प्रस्तावलाई परामर्श दाता कम्पनीले थप समस्या हुनसक्ने भएकाले विस्फोटभन्दा अन्य विकल्प खोजी गर्न सुझाएको हो । पत्रमा विस्फोट गर्नै पर्ने थप कारण खुलाउन भनिए पनि आशय भने अन्य प्रविधिको प्रयोग गरेर काट्नुको विकल्प नरहेको जनाएको छ । परामर्श दाता कम्पनीका टिम लिडर बिएन सिंहले टेलिफोनमा भने ‘सवारीको चाप धेरै भएको ठाउँमा विस्फोट गर्नु उपयुक्त हँुदैन ।’

विस्फोट गर्दा सिंगो पहाड खसेर ठूलो समस्या हुनसक्ने भन्दै उनले दीर्घकालीन रूपमा पनि लामो समयसम्म पहिरो खसिरहन सक्ने बताए । भविष्यमा पनि दुःख पाउन सकिने हँुदा नयाँ प्रविधिको प्रयोग गरेर भए पनि भित्तो काट्नु नै उपयुक्त हुने उनको सुझाव छ ।
विस्फोट गर्दा पहाडको अन्य भाग पनि चर्किने र पछिसम्म पहिरो खसिरहने समस्या अन्य सडकमा पनि रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । सुरुको सम्झौतामा विस्फोटका कुरा उल्लेख नभएपछि निर्माण कम्पनीले परामर्श दाता कम्पनीसँग सो आग्रह गरेको उनले बताए । सो सडकखण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६ सय ३० किलोमिटरदेखि सय मिटर लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन भएको भन्दै विस्फोटका लागि अनुमति माग गरिएको थियो ।
सो क्षेत्रको निर्माण गर्दै आएको सुप्रिम रौताहा जेभिले आयोजनाको परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको थियो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएको क्षेत्रमा झन्डै ८० मिटर अग्लो पहाड रहेको छ । त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर रहेको छ । सो क्षेत्रमा सडक पाँच दशमलव ५० मिटर चौडा मात्रै रहेको छ । जहाँ नौ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ ।
राष्ट्रिय महत्व बोकेको सो सडकखण्ड विस्तारमा निर्माण कम्पनीले लक्ष्यअनुरूप काम गर्न नसक्दा तोकिएको समयमा काम नसकिने निश्चित भएको छ । सुरुको सम्झौताअनुसार यतिबेला काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै दुईपटक समय थप गरी आउँदो पुससम्ममा काम सम्पन्न गर्न समय दिइएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुंगासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन ।

दासढुंगादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किलोमिटरमा तीन सय मिटर र घुमाउनेमा दुई सय मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव पाँच मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर फराकिलो बनाउनुपर्ने हुन्छ । करिब ४४ मिटर अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशत मात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताए ।
त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलविरेमा दुइ सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँठाउँमा गरी पाँच सय मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । खनालका अनुसार जलविरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म १० प्रतिशत मात्र काम भएको छ । कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मिटर मात्र सडक फराकिलो छ । जसलाई नौ मिटर फराकिलो पु¥याउनु पर्नेछ । सो क्षेत्रमा ८० मिटर माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया