काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य, अदृश्य चालबाजीका कारण सामाजिक जीवन आकुलव्याकुल बन्न पुगेकाले देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिन थालेको बताएका छन् । नववर्ष ०७४ को उपलक्ष्यमा एक सन्देश दिँदै उनले भने, ‘०६३ सालमा जनचाहनालाई विचार गरी राजनीतिक दलका नेताहरूसँग बनेको सहमतिअनुसार संसद् पुनस्र्थापना गरिँदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौँ ।’
उनले सन्देशमा हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात् गरी तदनुरूप व्यवहार गर्न नसक्दा नेपाली–नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको उल्लेख गरेका छन् । सन्देशमा उनले भने, ‘संसद् पुनस्र्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र बिन्दुमा राखी मौनतापूर्वक साथ दिएका हौँ । यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्यमान्यता र मर्मप्रतिकूल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ ।’
पूर्वराजा शाहले विगत ११ वर्ष के कसरी बिते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदीबहिनी, दाजुभाइहरूको सामाजिक, आर्थिक तथा नागरिक हकहितमा के कति सुधार आयो ? भन्ने प्रश्न गर्दै उनले भने, ‘देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’
शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो । जनताको चाहनाबमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा पटकपटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको छ ।’
पूर्वराजाले राष्ट्र समृद्ध बनाउनमा मुख्य योगदान पु¥याउन सक्ने जनशक्तिको पलायन अत्यासलाग्दो किसिमबाट बढिरहेको सन्देशमा चर्चा गर्दै उनले भने, ‘महाभूकम्प र बाढीपहिरोका कारण घरबासविहीन हुन पुगेका जनतालाई अनूभुत हुने स्तरको सहारा दिने कार्य हुन नसकेको र राजनीतिक तहमा भएका अनगिन्ती संवाद र सहमति जनसमस्या समाधानमुखी नभएर राजनीति केन्द्रित हुन पुगेको देखिन्छ ।’
उनको सन्देशमा राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्ततः देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पु¥याउने त्रास थपेको उल्लेख छ ।
सन्देशमा उनले भने, ‘अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो । नववर्ष ०७४ मा हामी चाहन्छौँ, शान्त, समृद्ध, सुरक्षित, सवल एवं अखण्ड नेपाल । गरिबी एवं अभावमुक्त नेपाल । हरेक नेपालीले आपूmलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपाल ।’
सन्देशको अन्त्यमा उनले देशविदेशमा रहे बसेका समस्त नेपालीमा सुख, शान्ति तथा समुन्नतिका लागि शुभकामना दिएका छन् ।
प्रतिक्रिया