टमाटरको जिल्ला बन्दै दाङ

लगातार बन्दको प्रभाव तरकारीमा देखिएको छ । सब्जी मन्डीमा टमाटरको खात लागेको छ । किसानका बारीमा कति थन्किएको छ भन्ने अनुमान गर्न नसकिएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुले जानकारी दिए । उनका अनुसार केही अन्याएको छ त केही गाडीमा लोड गरेको छ । कतिपयका बाटोमै अलपत्र छ । घाटाको हिसाब निकाली साध्यै छैन ।

साँझ अबेरसम्म गत्थामा टमाटर प्याक गरिरहेको दृश्य सब्जी मन्डी घोराहीमा दिनहुँजसो देखिन्छ । सधैँ अन्तबाट गाडीमा ल्याएको खन्याउँदा हेर्ने आँखाले पठाउन चाँचिरहेको देख्दा रोमाञ्चक महशुस गर्छन् । त्यसरी आएको खुसी बन्द घोषणाले पीडामा बदलिदिन्छ । मान्छेहरू भन्छन् गरीखान नदिने भए ।

यसरी गाडीका गाडी प्याक भएको टमाटर कहाँ जान्छ त ? कृषि उपज बजार सञ्चालक समितिका पूर्वअध्यक्ष विष्णु रिजालका अनुसार यतिबेला दाङको टमाटर पोखरा, धनगढी, नारायणघाट, बिराटनगर, सुर्खेत, हेटौँडा, महेन्द्रनगर, वुटवल काठमाडौंलगायत स्थानमा जाने गरेको छ । कहिल्यै जिल्ला बन्द त कहिल्यै प्रदेश बन्दले सधैँ अड्काउने गरेको छ । खानेपानीको प्रर्याप्त सुविधा नभएको घोराही ६ को हात्तीखर्कमा पनि टमाटरको व्यावसायिक खेती थालिएको छ । उनीहरूले गिठेपानी क्षेत्रमा २५ देखि ३० रुपैयाँ किलो टमाटर बेचिरहेका छन् । उता अखबरे, सुपैलालगायतका क्षेत्रमा गाग्रीमा पानी ओसारेर पनि टमाटर खेती गरेका छन् । रामपुर र मसिना भने यस क्षेत्रका प्रख्यात तरकारी खेती गरिने स्थानमा पर्दछन् ।

अघिल्लो वर्ष घोराही–६ स्मालिटोल मसिनाका ऋषिराम पौडेल गौरव फलाउने पहिलो किसान थिए । गौरव–५५५ जातको टमाटर दाङमा सफल भएपछि ग्राहकको रुचिको बन्यो । बारीभरीका टमाटर एकैपटक गलक्क पाक्ने र फत्रक्क गल्ने समस्याले चिन्तित किसान खुसी भए । पाकेको दश÷पन्ध्र दिनसम्म पनि भण्डार गर्न सकिने भयो । उता व्यापारी पनि खुसी भए बचेको बिक्री गर्न सकियो । आज नसकिए भोलि बुंगुरलाई दाना दिनुपर्छ भन्ने चिन्ता व्यापारीमा रहेन ।

ट्रायलको रूपमा गौरव–५५५ लगाउने मौका पौडेललाई सिद्धार्थ एग्री सेन्टर घोराहीले दिएको थियो । त्यसले ऋषिरामलाई मात्रै उँभो लाएन । सिंगो दाङको उत्पादनमा पूर्ण परिवर्तन ल्यायो । व्यापार व्यवसाय, जागिरतिर आँखा लाउने, जमिनजति खण्डीकरण गरेर घडेरीमा टुक्राउने क्रमसमेत रोक्यो । तरकारी खेती गर्नेहरू बढे । अहिले जिल्लामा खपत भएर बचेको थुप्रै टमाटर बाहिर जान थालेको छ ।

हुन त सिरिस, एस, हिमसेनालगायतका टमाटरका जात पनि किसानहरूद्वारा खोजी गरिन्छ सिद्धार्थका सञ्चालक एकनारायण पौडेलका अनुसार गौरव बराबर आउन कोहीले सकेका छैनन् । किसान, उपभोक्ता, व्यापारी तिनैथरी खुसी हुने टमाटरको जात गौरब बनेको छ । ‘एउटै बोटबाट दश÷बाह्र किलो फल्छ’ सिद्धार्थका सञ्चालक पौडेलले भने, ‘अरू जातकोभन्दा बढी मूल्य लगाउँदा पनि ग्राहक त्यही रोज्छ ।’ उहाँका अनुसार देखाइमा पनि आकर्षक छ । घरमा लगेको चाँडै कुहिँदैन । सानो परिवारले धेरै लगे पनि गल्ती गरेको महसुस हँुदैन ।

अहिलेको मौसमले पनि टमाटरलाई साथ दिएको छ । चिसो नबढेकाले पालामा प्रयोग हुने फंगीसाइड कम खपत भएको एग्रोभेट सञ्चालकले बताएका छन् । सञ्चालक पौडेलका अनुसार अघिल्ला वर्षहरू भन्दा पचास प्रतिशतले विषादी बिक्री घटेको छ । त्यसले पनि किसानलाई उत्साहित बनाएको छ । उत्पादन पनि दिने, बजारीकरण पनि सजिलो बनाउने भएकोले गौरव किसानको प्रिय छ । वर्षाको पानीले धेरै धान्ने यो सिजनको खेतीमा टमाटर उपयुक्त मानिएको छ । सबैतिर लगाएका छन् । सबैभन्दा धेरै पैठारी हुने तरकारी टमाटर भएको छ । ‘अघिल्लो वर्षभन्दा धेरै गुणा बढ्यो’ सञ्चालक पौडेलले भने, ‘रझेना काट्यो नै टमाटरै टमाटर छ । रामपुर बजारको आसपासका केही गाउँ पूरै टमाटर छ ।’ यसरी फलाएर पैठारीको मौका गौरव–५५५ ले दिएको हो । घरघरै लटरम्म झोत्तिएका टमाटर भेटाउन सकिन्छ ।

प्रतिक्रिया