पैसा खाने सडक !

ओखलढुँगा फेदिगुठ गाविसकी अन्दाजी ७५ वर्षीया वृद्धाले स्काभेटर चालकलाई सरापी रहेकी थिइन् । घरमाथि सडक खन्दा घुरेन पुरिएपछि उनले पुरानो उखान प्रयोग गरेर सरापेकी हुन् । ‘यिनीहरुलाई सरखार लागोस्’ उनले कराउँदै भनिन् ।

उनले एकपटक सडक खनेर आँगन पुरेका कारण सरापेको होइन, हरेक वर्ष खन्ने र आँगनमा माटो हालिदिने तर पूरा नहुने भएकाले सरापेकी रहिछन् । नाम सोधे पनि उनले झर्केर ‘मेरै बारी खनेर आँगन पुर्नेलाई किन चाहियो नामसाम’ भन्दै आक्र्रोश व्यक्त गरिन् । साँघुटार–ओखलढुंगा सडक विगत निकै लामो समयदेखि खन्ने तर कहिल्यै पूरा नहुने समस्याले उनी जस्ता हजारौँ स्थानीय बासिन्दा प्रताडित रहेका रहेछन् । ०६३ सालदेखि निर्माण थालिएको सडकमा अहिलेसम्म गाडी चल्न सकेको छैन । यो सडक पश्चिम क्षेत्रलाई सदरमुकाम ओखलढुंगा जोड्ने एकमात्र सडक हो ।

त्यस्तै अर्को रणनीतिक महत्वको सडक मोलुङ एकवार पनि हो । सांसद यज्ञराज सुनुवारको सिफारिसमा बजेट विनियोजन हुँदै आएको उक्त ‘मोलुङखोला करिडोर सडक’ निर्माण सुरु भएको ८ वर्षमा जम्मा ३ किलोमिटर मात्र ट्र्याक खोलिएको छ । यति काम सक्न २ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ०६४ सालमा जिल्ला विकास समितिको २० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत सडक निर्माण अघि बढाइएको थियो । त्यसपछि प्रत्येक आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले रातो किताबमै उल्लेख गरेर ३० लाखभन्दा बढी विनियोजन गर्दै आएको छ ।

यस्ता महत्वपूर्ण सडकमध्ये निर्माण थालेर दशकदेखि अलपत्र हुँदै आएका तर वित्तीय प्रगति भने देखिएर बजेट खर्च भएका साँघुटार–ओखलढुंगा–सिलौरीघाट सडक र मोलुङ एकवार सडक अन्तरजिल्ला र व्यापारिक केन्द्र जोड्ने सडक हुन् । यी सडकले उदयपुरको घुर्मीदेखि सोलुखुम्बु र रामेछापको मन्थलीदेखि सदरमुकाम ओखलढुंगा हुँदै खोटाङ र सोलुखुम्बु जोड्ने छन् । साँघुटार ओखलढुंगा सडकको ८० किलोमिटर खण्डमा जिल्ला विकास समिति, गाविस र राष्ट्रिय योजना आयोगको कति खर्च भयो सडक डिभिजन कार्यालयलाई नै बजेटबारे जानकरी छैन । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले विगतमा योजना डुब्लिकेशन भएको गुनासो आएकाले अब सचेत भएर काम गर्ने बताए । विभिन्न स्रोतको ५० करोड हाराहारीमा बजेट सकिएको अनुमान छ ।

गत आर्थिक वर्षमा मात्रै ६ किलोमिटर कटिङको कामका लागि दुई ओटा ठेक्का लागेका थिए । २ करोड ४७ लाख र ७० खर्च ४१ हजार खर्च भइसकेको छ । सडक डिभिजन कार्यालयले प्रगति देखाए पनि स्थानीय बासिन्दा भने कामै नभएको आरोप लगाउँछन् । अन्तरजिल्ला जोड्ने रणनीतिक महत्वको उक्त सडक आर्थिक वर्ष ०७२÷०७३ मै घोराखोरी–ओखलढुंगाको फेदिगुमा ४ किलोमिटर सडक खन्न वन समूहले रोकेपछि अलपत्र छ । समस्या समाधानका लागि कार्यालयले पहल नगरेपछि काम हुन नसकेको हो । ठेक्का लाग्ने, ठेकेदारले पेश्की लिने र वर्षौं काम नगर्ने भएकाले पर्यटकीय र आर्थिक केन्द्र जोड्ने महत्वूर्ण सडक निर्माणको कार्यले गति लिन सकेको छैन ।

मध्यपहाडी लोकर्मागसँग छोटो दुरीमा जोड्ने मोलुङ एकवार सडकका लागि आर्थिक वर्ष ०७१÷७२ मा ५ करोडको ठेक्का आह्वान गरिएको थियो । तीमध्ये २ करोड ८५ लाखको ठेक्का स्वीकृत भएकोमा १ करोड २० लाख बराबरको काम फरफारक भइसकेको छ । जिल्लाको सिस्नेरी–६ र टोक्सेल– १ स्थित सुनकोसी दोभानदेखि सुरु हुने मोलुङखोला करिडोर २५ किलोमिटर छ । ७ मिटर चौडाइ र १ मिटर ‘ड्रेन’ खन्नुपर्ने मापदण्ड भए पनि ठेकेदारले त्यसअनुसार काम गरेका छैनन् । हालसम्म बाटो निर्माण ढिलाइ हुनुको प्रमुख कारण ठेकेदार र सडक डिभिजन रहेको स्थानीयको आरोप छ । समस्या यी सडकमा मात्र सीमित छैन । लिखु एकवार, नबलपुर–पलापु–कोषहाट सडक, साघुँटारदेखि भुसिंगासम्म जोड्ने सडकमा वर्षेनी लाखौँ रकम विनियोजन हुने बजेट खर्च भए पनि सडकमा सवारी सञ्चालन हुनु त परको कुरा ट्र्याक खन्ने काम पनि पूरा भएका छैनन् ।

‘यी सडक त पैसा खाने सडक रहेछन्’ त्यहाँका स्थानीय पत्रकार कुम्भराज राईले भने– ‘तीन चार वर्षदेखिको काम केही देखिदैन, खर्च चाँही करोडमा भइरहेको छ ।’ १० वर्षदेखि निरन्तर निर्माण भइरहेको साँघुटार ओखलढुंगा सडकमा मोटरसाइकल हिँडाउन पनि मुस्किल पर्छ ।

जिल्लाको विकास र जिल्लावासीको भविष्यसँग जोडिएका रणनीतिक महत्वका सडक निर्माणमा ओखलढुंगा हर्कपुर सडक डिभिजन कार्यालयको लापरवाहीले समस्या आएको सरोकारवालाहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता निशान्त शर्माले सडक डिभिजनले निर्माण गरेका सडक हेरेर चित्त बुझाउने ठाउँ नभएको बताए । ‘ग्रेड नमिलेका, कतै हवाइमैदानजस्तो फराकिलो र कतै स्काभेटर छिराउन मुस्किल पर्ने गरि खनिएका छन् । सडकले विकास होइन विनाश मात्र निम्याएको छ’ उनले भने । मोलुङ एकवार र साँघुटार ओखलढुंगा सडक १० वर्षसम्म पूरा नहुनु सडक डिभिजन कार्यालयको लापरवाही भएको उनले बताए ।

सडक डिभिजन कार्यालयको कामप्रति चौतर्फी गुनासो आएपछि मंसिरको दोस्रो साता तत्कालीन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले डिभिजन प्रमुख ईश्वरबहादुर रिजाललाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर कामको प्रगति विवरण मागे । राजनीतिक दल र सञ्चारकर्मी माझ ११ पृष्ठ लामो प्रगति विवरण पेश गरेका रिजालको जवाफ सुनिनसक्दै माओवादी केन्द्रका नेता निशान्त शर्माले ‘डिइसाब, पहाड भत्काएर गाउँ जोखिम बनाउने भए यस्ता सडक नबनाउनुस्’ भन्दै प्रतिवाद गरे । सडक डिभिजनले निर्माण गरेका सडकमा सवारी सञ्चालन हुन सक्ने अवस्था नभए पछि दलका नेताहरुले पडाड भत्काउन मात्रै डोजर नचलाउन ध्यानाकर्षण गराए । एमालेका जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले दलका नेताहरुले ठेकेदारले समयमा काम नगरे पनि कारवाहीको सट्टा जोगाउन नहुने बताए । आफ्नो दलका ठेकेदार भए जोगाउने प्रबृत्तिले निर्माणका काम अलपत्र हुने गरेको भन्दै काम नगर्ने माथि कारवाही गर्ने हिम्मत गर्न डिभिजन प्रमुख रिजाललाई सुझाव दिएका थिए ।

क्रान्तिकारी माओवादीका जिल्ला सचिव रुद्र फँुयालले सडक डिभिजनको काम थाल्ने मिति हुने र सकिने मिति नहुने रहेछ भन्दै व्यंग्य गरे । कार्यालयले भने सडक विभागबाट दर्जनौ टुक्रे योजना आउने र मर्मतमा खर्च गर्न दवाव आउने भएकाले धेरै समय साना योजनामा समय खर्चिनु पर्ने भएकाले समस्या भएको बताउँदै आएको छ । ठूला र महत्वपूर्ण योजना सञ्चालन र अनुगमन गर्न सडकमा थुप्रै टुक्रे योजना भएकाले पनि समस्या देखिएको छ । ‘साना योजनामा दलका नेताहरुले दवाव दिन्छन्, ठूलामा ध्यान दिँदैनन्’ डिभिजन प्रमुख रिजालले गुनासो गरे । चालु आर्थिक वर्षमा मात्रै डिभिजन कार्यालयमा ४ देखि ८ लाखका ३४ ओटा टुक्रे योजनामा अख्तियारी आएको छ । यस्ता टुक्रे योजना सिमिति समयम हुने भएकाले मा प्राविधिक खटाउने र सम्पन्न गर्ने काममा कर्मचारी नहुँदा समयमा काम गर्न नसकिएको रिजाललले दावी गरे । ‘टुक्रे योजनाले हैरान बनायो’ उनले भने । सडक विभागको नीति नै ठीक नभएको उनको ठम्याइ छ । ठूला योजनामा ध्यान दिन दलको नेताहरुले सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।

सडक निर्माणमा सागै प्राविधिक हुनुपर्ने भए पनि सर्भे सकिएपछि विल बनाउन मात्रै प्राविधिकको काम आउँछ । सडक निर्माणका क्रममा अनुगमन नहुँदा स्काभेटर चालक नै प्राविधिक बनेर सडक निर्माण गर्ने गरेका छन् । स्थानीयको स्वार्थ र ठेकेदारको बिल पु¥याउने रणनीतिले मोड र ग्रेड मिलाउनेभन्दा परिमाण पु¥याउने गरी कि खन्ने प्रचलन छ । ‘बिल बनाउन मात्र प्राविधिक आएको देखिन्छ, ठेकेदार भेटेपछि मिलिहाल्छ, अनि कसरी मापदण्ड अनुसारको सडक बन्छ ?’ एमाले नेता अर्जुन धमलाले प्रश्न गरे । चौतर्फी आलोचना र गुनासो आएपछि ओखलढुंगा हर्कपुर सडक डिभिजन कर्यालयले विगतका आधारमा समिक्षा नगर्न आग्रह गरेको छ । विगतका आधारमा होइन काम गर्न समयम दिन र आपूmले गरेका कामको जिम्मेवारी लिन आपूm तयार रहेको डिभिजन प्रमुख रिजालले आग्रह गरे । आगामी दिनमा रणनीतिक महत्वका सडकलाई प्रथामिकतामा राखेर काम गर्ने उनले बताए ।

ओखलढुंगाको विकासमा मेरुदण्ड मानिएका २ सडक मोलुङ एकवार र साँघुुटार–ओखलढुंगा–सिलौरीघाट सडक करिडोर ०७२ वैशाखको भूकम्बाट पनि अति प्रभावित क्षेत्र हुन् । ती क्षेत्रमा निर्माणाधीन सडक त अलपत्र छन् नै भूकम्पपछि पुनः निर्माणको काम समेत अपलत्र अवस्थामा छ । मोलुङ एकवार सडक खण्डमा समेत अनुान वितरण भए पनि पुनः निर्माणको काम सुस्त छ । कतिले घर बनाउन सडकले भत्काउला कि भनेर सडक पर्खेर बसेका बताएका छन् । यसको उदाहरण हुन् मूलखर्क गाविस–८ का रामप्रसाद गौतम । उनले घर पूर्ण क्षति भएर अनुदान लिए पनि सडक सर्भे हुने सुनेपछि आफ्नो घर सडकमा पर्छ कि भन्ने आशंकाले घरको जग हालेका छैनन् । ‘अनुदान लिए पनि कारण यही मोलुङ करिडोर सडकमा सर्भे गर्दा भत्काउनुपर्ने क्षेत्रमा प¥यो भने के गर्ने भनेर निर्माण नथालेको सुनाए । घर बनाउन तयारी गरेका भूकम्प पीडित मोलुङ करिडोर क्षेत्रमा करिब ५ सय प्रभावित घरधुरी छन् ।

यसरी जिल्लाका रणनीतिक महत्व बोकेका सडकहरु निर्माणको काम अलपत्र पर्दा भूकम्प पछिको पुनः निर्माणको काम समेत प्रभावित भएको छ । जिल्लाको विकासमा मेरुदण्ड सावित सडकहरु नै अलपत्र अवस्थामा रहेकाले पूर्वाधार निर्माणका काममा जिल्ला पिछाडि परेको हो । ओखलढुंगाका रणनीतिक, आर्थिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका मोलुङ एकवार र साँघुुटार–ओखलढुंगा–सिलौरीघाट सडक निर्माण पुरा भए ओखलढुंगा खोटाङ र सोलुखुम्बुको व्यापारिक केन्द्र बन्नेसक्ने भएकाले सबैले यी सडक निर्माणमा योगदान गर्नु पर्नेमा सरोकारवाहरुले जोड दिदै आएका छन् । आफैले सिफारिस गरेको सडकको कामको गति देखेर सांसद यज्ञराज सुनुवार दिक्क छन् । ‘ठेकेदार र आयोजना प्रमुखलाई धेरै भनियो काम अझै उस्तै छ’ सांसद सुनुवारले भने, ‘अब त सडक विभागमै धर्ना बस्नु पर्ने भयो ।’

प्रतिक्रिया