ट्रम्पको भाग्योदय, मोदीको “भारू” नाच र रोगी सुजाता

हप्तादिनअघि ‘अमेरिका भोट गन्दै, भारत नोट गन्दै र नेपाल छिमेकीले पु¥याएको चोट गन्दै’ भन्ने रिदम मिलेको स्टाटस् साथीले लेख्दा छक्क  परियो ! गतहप्ता देशी–विदेशी घटनाले नेपालीका ध्यान एकाएक तान्यो । अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनमा ख्यातिप्राप्त मिडिया, चुनावी एक्जिटपोल र घघडान् राजनीतिक विश्लेषकसमेतलाई माथ खुवाउँदै डेमोत्र्mयाटिक पार्टीकी हिलारी क्लिन्टनलाई रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित्दा हार हिलारीको नभएर मिडियाको भएजस्तै भयो । हिलारी जित्नेमा संसारै ढुक्क थियो तर परिणाम उल्टो आयो । आउँदो जनवरीमा ट्रम्पले संसारकै महाशक्ति राष्ट्रको राष्ट्रपतीय पदको ‘न्वागी’ खानेछन् ।

छिमेकका मोदीले अर्थतन्त्र सुधारको ‘गायत्री’ जप्दै भ्रष्टाचार र कालोधनविरूद्धमा चल्तीका पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाए । दुवै घटनाले नेपाल प्रभावित नरहीरहन सकेन । यता देशमा भूपूप्रम गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालालाई बे्रस्ट क्यान्सर भएछ । उनले पार्टीमार्फत सरकारसँग १ करोड उपचार खर्च माग गरिन् ।

‘दादे’ सरकारले नियुक्त गरेका विद्युत् हाकिम कुलमान घिसिङले राजधानीलाई लोडसेडिङमुक्त बनाउने योजनामुताविक काम गरेकाले कांग्रेस र एमाले समर्थित युनियनका ‘इरिटेड’ कर्मचारीले उनलाई कार्यालय पस्न दिएनन् । उनैलाई विगत सुशील कोइराला मन्त्रिपरिषद्की ऊर्जामन्त्री राधा ज्ञवालीले अयोग्य भन्दै कार्यकारी हुनबाटै रोकेकी थिइन् । यतिखेर ‘अंगीकृत नागरिकतावालाहरू समेत देशको प्रमुख कार्यकारी पदहरूमा निर्वाचित भई पुग्न पाउनुपर्छ । समग्र मधेस ः एक प्रदेश र हिन्दीलाई कामकाजको भाषिक मान्यता दिइनुपर्छ’ भन्नेजस्ता तुरूपहरू संविधान संशोधनका ‘फन्डा’ भई देशैभरिको हिउँदे मौसमलाई तताउने ‘इन्भर्टर’ जो बनेका छन् ।

यस्तै विषयहरू यतिखेर ‘हटकेक’ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार भई सञ्चारमा छाएका छन् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ उखान अहिले सार्थक लाग्दैछ । संविधान कार्यान्वयन, स्थानीय तह, प्रदेशसभा र केन्द्रीय निर्वाचन आगामी ०७४ माघ ७ भित्र गर्न नसकिए संविधान कार्यान्वयनको मूलकडी धरापमा परी सम्पूर्ण राजनीतिक कोर्स नै कोल्याप्स हुने अवस्थासमेत सुरसाको मुख बनी देशतिरै द्रुतत्तर गतिमा आउँदै छ, जसको कसैले वास्ता गरेका छैनन् ।

नयाँ नेपालको राजनीति सत्ताकेन्द्रित भई दाइँ घुमिरहेको छ । वर्षवर्षमा समीकरण बदलिदिने र झिनामसिना मुद्दा रक्तवीज शैलीमा जन्माइदिने दृश्य÷अदृश्य शक्तिकेन्द्रका रूपमा भारत गजधम्म आसनारुढ हुनुले नेपालका प्रमुख पार्टीका नेताहरू ‘दिल्ली दिल्लगी’मा परेड खेल्दैछन् । जनता यी कार्यको सुक्ष्म रूपले आँकलन गरिरहेछन् । जनशक्ति अजेय हुन्छ भन्ने चुनावमा र विद्रोह कालमा भेउपत्तो मिलेकै हो ।

एकथरी भन्छन्, ‘यो इतिहासमै क्रान्तिकारी सरकार हो, जहाँ पुरानो क्रान्तिकारी शक्ति कांग्रेस र नयाँ क्रान्तिकारी शक्ति माओवादी सामेल छन् ।’ क्रान्ति र क्रान्तिकारिताको परिभाषा समयान्तरमा परिवर्तन भइरहँदो रहेछ कि क्या हो ? संसद्मा तेस्रो मत पाएको माओवादी केन्द्रलाई धेरै मत पाएको कांग्रेसले समर्थन गरेर दक्षिणी वायुका प्रभावमा बनेको लम्पसारवादी रवैयाको सरकारलाई मनोगत तथ्य र बेतर्कका बलमा क्रान्तिकारी सरकार भनिएको हो, जसका अन्तर्यका गुत्थीहरू समयक्रममा आप से आप पटाक्षेप हुँदै जालान् ।

सत्ता राजनीतिमा दक्षिणी वायु झोक्कामा नहल्लने नेपाली कुनै त्यस्ता पातहरू छैनन्, जो ‘अपानवायु’ छाड्न पनि दिल्लीसँग साउती नगर्ने हुन् । कानुनविद् तथा विश्लेषक डा.भीमार्जुन आचार्यका शब्दमा ‘बाइस–पच्चीस अर्ब रूपैयाँ खर्च गरेर ल्याएको नेपालको संविधानले कार्यान्वयनका नाममा सबै जनताको मन जित्न सकेन । भारत यो वा त्यो बहानामा यहाँ संविधानसभाका आवरणमा राजनीतिक ‘हौवा’ पिटाएर आफ्नो स्वार्थसिद्ध साथै नेपाललाई ‘फिजी’ बनाउने रणनीति गरिरहेछ ।’ परिस्थितिलाई सूक्ष्म विश्लेषण गरेका खण्डमा भनिएका कुराहरू शनैःशनैः पुग्लान्जस्ता पो देखिन्छन् ।

‘नेताले झुक्याउँदा हामीले झुक्किनु पर्ने, फकाउँदा फकिनु पर्ने र नूतन शैलीले करिया बनाउँदा बन्नुपर्ने नियतिबाट नेपालीले कहिले मुक्ति पाउने ? संसार भौतिक सुविधाको चुचुरामा पुगिसक्यो । अन्तरिक्षका सुक्ष्म अनुसन्धानमा समेत लागेको छ । हामी भने कुवाका भ्यागुतै भयौँ’, त्रिविमा प्राध्यापन गर्ने एक प्राध्यापक निराशा व्यक्त गर्छन् ।

कांग्रेसले ‘लोकमान प्रकरण’मा अझै संस्थागत निर्णय गर्न नसकी अनिर्णयको बन्दी बनेको छ । जनता लोकमानलाई महालोकमान बनाउने तत्तत् सबैलाई कारबाही गर्नुपर्छ भन्दैछन् । मूल पार्टीका नेताहरूको मौनता र पटकपटकको भारत गमनले भारतीय गुह्य राजनीतिक अभीष्टता पूरा हुने संकेत देखिसकिएको छ । गोवामा सम्पन्न ‘इन्डिया फाउन्डेसन’को कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको गहिरो सहभागिता र दलाई लामा प्रतिनिधिका बीच भएको भनिएको रहस्यमय भेटले नेपाली राजनीतिमा निकट भविष्यमै साना–ठूला सुनामीहरू चल्ने आँकलन गरिँदै छ । भलै, देउवाले गौचरमा उत्रनासाथ पत्रकारलाई ‘झाँको’ झार्दै ‘छोरी कुटेर बुहारी तर्साउने’ पुरातन उखान जो सम्झाए ।

अमेरिकी निर्वाचनमा अनुदारवादी र श्वेतनश्लीय चेतका ट्रम्पको जित भयो । चुनावमा २ लाख बढी मत पाए पनि हिलारी हारिन् । ट्रम्पले चुनावअघि गरेका विवादास्पद भाषण र निर्वाचन माहोललाई आफ्नो हात पार्न गरेका हौवामध्ये मेक्सिको र क्यानडा सिमानामा पर्खाल लगाउने, अमेरिका प्रवेशमा मुस्लिमलाई रोक लगाउने, आप्रवासी कानुनमा कडाइ गर्ने र डिभी प्रक्रियालाई खारेज गर्नेजस्ता कुराहरूले अहिले नेपाललगायत संसारकै ध्यान खिचे । अमेरिकी जनताहरू निरन्तर परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तन यसपटक अनुदारवादी ट्रम्पलाई रोजेर गरे । हिलारीलाई ओबामाको घनीभूत समर्थन थियो । उनी विगतमा ओबामाले गरेका कामहरूलाई आफ्नो कार्यकालमा अघि बढाउने सन्देशसाथ डटेकी थिइन् । चुनावका बेला भाइरल भएको इमेल प्रकरणमा एफबीआईले दुई हप्ता ढिलो गरी सफाइ दिएकै कारण हिलारीका लागि नतिजा प्रत्युत्पादक भयो । जतिबेला एफबीआईले क्लिन चिट दियो, त्यतिबेला ३ करोड बढी अमेरिकी मतदाताहरूले मत हालिसकेका थिए ।

सन् १८४५ देखि प्रत्येक चार वर्षको नोभेम्बरको पहिलो मंगलबार सम्पन्न हुँदै आएको राष्ट्रपति चुनावले संसारलाई के पनि सन्देश दिएको छ भने ‘आवधिक चुनावले नै लोकतन्त्रलाई सुदृढ गर्छ ।’ नेपालमा सबैखाले चुनाव भनेपछि भाग्ने र आफ्नो अनुकूल सरकारमा बसी चुनाव गराउन खाई पल्केका नेताहरूले यो विश्व घटनाबाट शिक्षा लेलान् त ?

ट्रम्प अर्बपति व्यापारी हुन् । उनको व्यक्तिगत, व्यापारिक र पारिवारिक गतिविधि विश्वले धेरैअघि चाल पाइसकेको हो, यद्यपि उनी सन् २०१५ मा मात्रै राजनीतिमा प्रवेश गरे । अब पदमा रहँदा अलोकप्रिय र विवादास्पद निर्णय गरे भने उनी आफ्नो देशभित्र मात्र होइन, समग्र विश्वबाटै आलोचित बन्न सक्छन् । संसार लगभग तेस्रो विश्वयुद्धको मुखैनेर पुगेको छ । दक्षिण एसियामा शक्तिराष्ट्र बनी उदाएका चीन र भारतको तरक्कीसँग हातेमालो गर्दै, मुस्लिम राष्ट्रहरूसँगको शक्ति–सन्तुलनलाई कायम राख्दै, मध्यपूर्व र मुस्लिम देशमा शान्ति स्थापना गराउने साथै गरिब र विकासोन्मुख देशमा दिइँदै आइएको विकासे सहयोग र अनुदानलाई कायमै राख्दै पदभारले थिचिएर सुदृढ अमेरिकाका लागि सफल भए भने त्यसबाट विश्वका अन्य शक्तिराष्ट्रले टाउको दुखाउनुको कुनै कारण छैन । हैन, अनुदारवादी चस्माले हेर्दै विश्वमै दादागिरी देखाउन थाले भने उनको पनि अन्त्य ढिलो–चाँडो नहोला भन्न सकिन्न । इराक युद्धमा गरेको मानवताविरोधी व्यवहारले बुस युरोपीय देश भ्रमणका लागि योग्य छैनन् भन्ने कुराको हेक्का ट्रम्पलाई भलीभाँति हुनुपर्छ ।

भारतका प्रम मोदीले गोप्य रूपले नौ महिनाको तयारीपछि पाँच सय र एक हजारका नोटको कारोबारमा गरेको प्रतिबन्धले भारतलगायत वरिपरिका छिमेकी देशहरूमा सुनामीमय तरंग ल्यायो । अर्थ व्यवस्थालाई सुदृढ बनाउन कुनै पनि देश शासनमा स्वतन्त्र निर्णय लिन सक्छन् । भारतले यस्तो निर्णय पहिले सन् १९७७ मा प्रम मोरारजी देसाईका पालामा लिएकै हो । नेपालमा भएका भारू नोटको सटही व्यवस्थापन गर्ने जिम्मा नेपाल सरकारको हो । खुला सिमाना भएकाले बोर्डरका धेरै नेपालीहरूसँग भारू होला, जुन स्वाभाविक हो । भारतमा काम गरेर नेपालमा पैसा पठाउने सुदूर र मध्यपश्चिमी पहाडका नेपालीहरूलाई यसले लामो समय गाह्रो–साँघुरो बनाउला । त्यो पनि समयक्रममा व्यवस्थापन हुँदै जान्छ, तर नेपालमा बेलाबेलामा नेपाली नक्कली नोट निस्कने गरेका घटनाले नेपालले पनि देशभित्र रहेको कालो धनलाई चेप्न यस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ, जो गरेको छैन । हाम्रा नेता ‘सत्ताको सातु’ बाँड्नै व्यस्त छन् । तिनका घैँटामा घाम लाग्ने कहिले हो ?

कांग्रेस नेतृ सुजाता कोइरालाले आफूलाई लागेको क्यान्सरको उपचारका लागि पार्टीलाई सरकारसँग १ करोड रूपैयाँ उपचारखर्च सहयोग दिलाइदिन आग्रह गरिन् । डा.भगवान् कोइराला भन्छन्, ‘जबसम्म नेताहरूको उपचार स्वदेशमै गर्ने नियम बनाइँदैन, तबसम्म नेपालमा अन्तर्राष्ट्रियस्तरका उपचार केन्द्रहरूको स्थापना सम्भव छैन ।’ नेताहरू उपचारका लागि विदेश कुद्ने अनि जनताहरूचाहिँ उपचार नपाएरै मर्ने स्थिति नरोकिएसम्म नेपालको स्वास्थ्य अवस्था सप्रँदैन ।

सय दिनअघि स्वास्थ्यमन्त्री बनेका कांग्रेस युवानेता गगन थापाले सुजाता प्रकरणमा कस्तो रवैया अपनाउँछन्, त्यसले ठूलो महत्व राख्छ ।  बहुदल आउनुभन्दा अघिसम्म विदेशी नागरिकसँग बिहे गरेर जर्मन बसेकी सुजाता पिता गिरिजाको अभ्युदयसँगै नेपाली राजनीतिमा  जबर्जस्त उदाएकी र शक्तिको सेरगुल खिलाउने ‘मायावी’पात्र हुन् । उनले छोटो समयमै विनायोगदान सरकारका विभिन्न ‘मुख्य पोस्ट’ र

पार्टीमा महत्वपूर्ण पदहरू हत्याइन् । बेलाबेलाका उनका विवादास्पद बोलीहरू र व्यवहारकै कारण उनी नेपाली राजनीतिमा विवादमा तानिइरहिन् । सासूकै शक्तिको रापतापमा उनका ज्वाइँ रूबेल चौधरीले नेपालमा ठुल्ठूला कल बाइपासका हर्कतहरू गरे, जसमा कुनै कारबाही भएनन्, त्यो जगजाहेर छ ।

स्तन क्यान्सरलाई जितेकी एक नर्स भन्छिन्, ‘सुजाता कोइरालाले मागेको रकमले २० जना क्यान्सर रोगीको उपचार हुन्छ ।’ चुरो कुरो यहीँ छ । हुँदाहुँदा प्रम, राष्ट्रपति, उपराष्ट्रपति, ६ सय १ सांसद्, करिब १ सय ८० पार्टीका केन्द्रीय सदस्यहरू, मन्त्रीहरू, संवैधानिक प्रमुखहरू र ठूला घाँटी भएका टाउके कर्मचारीसमेतले सरकारी ढुकुटीबाट उपचार खर्च माग्दै लैजाँदै गर्ने हो भने नेपालको ढुकुटी दुई–चार वर्षमा टाट हुन्छ । त्यसै त, ‘दादे’ सरकारले भूपू राष्ट्रपतिलाई दिएको कुल मिलाएर १ करोड उपचारखर्च विवादमा आयो । नेपाली ध्वजावाहक विमान एनएसीलाई अधोगतिमा पु¥याउन विगतको धमिजा काण्डको डिलिङ सन्दर्भले सुजातालाई राम्रो छवि भएकी नेतामा उभ्याएको थिएन । खुन–पसिना एकठ्ठा गरी जनताले तिरेको करबाट भएजति सबै रोगी नेताहरूलाई उपचार गर्दिने संस्कार बसालियो भने ‘लोकतन्त्र भनेको नेताको लुटतन्त्र हो’ भन्ने नकारात्मक सन्देश जान्छ । उनी आफ्नो उपचार आफैँ गर्न काबिल छिन् । आफ्नो सम्पत्तिबाटै उनको उपचार भएर स्वस्थ भएको हेर्ने रहर आमनेपालीले राखेका छन् । ओली, पुन र सुजाताजस्तै अन्य रोगी नेताहरू देशमै उपचार गरी तंग्रिऊन् शुभकामना, तर तन्नम देशको रित्तो ढुकुटी अझै नचिथोरुन् । यहाँ जनताले खबरदारी गर्ने बेला ढिलो भइसक्यो ।

प्रतिक्रिया