जन्मभूमिका लागि सात एम्बुलेन्स

ambulance10-copyबेलायत । नोभेम्बर २०१६ का दिन, बेलायतस्थित बेजिङस्टोकको वोकब्रिज वोयस्ट कम्युनिटी सेन्टर हलमा खोटाङ सेवा समाज युकेले नियमित बैठक तथा खोटाङ जिल्लाका लागि एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमसम्बन्धी जानकारीसभा गरेको छ । छलफल र औपचारिक कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको कार्यक्रममा संस्थाका महासचिव ईश्वर चाम्लिङ राईले मातृभूमि खोटाङका लागि एम्बुलेन्स खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । उनले कार्यक्रममा खोटाङ सेवा समाज युकेका उपाध्यक्ष भुपजित राईको संयोजकत्वमा आजीवन सदस्य स्व.प्रेमप्रकाश राईको सम्झनास्वरुप चौतारी निर्माणका लागि खोटङवासीहरुबाट जम्मा ३ हजार ६ सय २१.१२ पाउण्ड रकम हस्तान्तरण गरिएको थियो ।

संस्थाले प्रेम चौतारीको सन्दर्भ, एम्बुलेन्स प्रोजेक्ट, संस्थाको चौथो अधिवेशनको छलफल र नागरिक सम्मान तथा प्रतिभा पुरस्कारलगायत विविध विषयमाथि छलफल भएको छ ।

सम्झनास्वरुप निर्माण गर्न लागिएको प्रेम चौतारी निर्माणका लागि संकलन ३ हजार ६ सय २१.१२ पाउण्ड रकम मध्ये चौतारी बनाउने निर्णय गरी ५ सय ३४.९९ पाउण्ड रकम छुट्याइयो । संस्थाका अध्यक्ष अशोककुमार राईका हातबाट बाँकी रहेको रकम ३ हजार ८६.१३ पाउण्ड स्व.राईकी धर्मपत्नी चन्द्रकला राईको हातमा हस्तान्तरण गरिएको थियो । केही समयअघि आफ्नो श्रीमान गुमाएर भावविव्हल अवस्थामा रहेकी स्व.राईकी धर्मपत्नी चन्द्रकलाले आफ्नो स्व.श्रीमानको सम्झना गर्दै सहयोगस्वरुप संस्थाबाट प्राप्त उक्त सबै रकम खोटाङ जिल्लावासी सेवाका लागि, खोटाङ सेवा समाज युकेको एम्बुलेन्स अभियानलाई संस्थालाई नै हस्तान्तरण गरेकी छन् ।

सदियौँदेखि नेपालका दुर्गम भेगका बिमारी नागरिकहरुलाई समयमा नै उपचार गर्ने मौका नपाउँदा अकालमै कयौँ जीवनलीला समाप्त भैरहेको अवस्था सबैलाई सर्वविदितै भएको कुरो हो । देशभरि छरिएर रहेका सबै नेपाली नागरिकहरुका उपचारका लागि आजसम्म सरकारबाट खासै कुनै सुविधाको व्यवस्था हुन सकेको अवस्था छैन । यही समस्यालाई मध्यनजर गरी बेलायतवासी खोटाङ्गेहरु एक भएर आफ्नो जन्मथलो खोटाङ जिल्लाभरिका जनतालाई सहयोग पु¥याउने उद्देश्यले खोटङ सेवा समाज युकेद्वारा सन,२०१५ सालदेखि २०१७ साल भित्रमा ७ वटा एम्बुलेन्सहरु खोटाङ जिल्लालाई वितरण गर्न एम्बुलेन्स प्रोजेक्टको बृहत अभियान सञ्चालन गर्दै आर्थिक रकम संकलन गरिरहेका छन् ।

एम्बुलेन्स प्रोजेक्टका लागि संकलित रकमबाट संस्थाको योजना मुताविक केही समय अगाडि नै ३ वटा एम्बुलेन्सहरु काठमाडौं भित्राइसकेको छ । र बाँकी ४ वटा एम्बुलेन्सहरु पनि अबको केही महिनाभित्रमा नेपाल सरकारका सबै प्रावधानहरु पूरा गरी काठमाडौं भित्रिने कुरा संस्थाका अध्यक्ष अशोक राईले स्पष्ट पारेका थिए ।

खोटाङ सेवा समाज युकेले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सेवा पु¥याउँदै आएका खोटाङवासी एकजनालाई नागरिक सम्मान र एकजनालाई प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । सोहीअनुरुप यो साल पनि जीवनभर आफ्नो जन्मथलो खोटाङ जिल्लालाई सेवा पु¥याउँदै आएकी स्वास्थ्यकर्मी ध्रुवलक्ष्मी राईलाई नागरिक सम्मान र खोटाङका विभिन्न क्षेत्रमा सेवा पु¥याउँदै आएका रुपाकोट सामुदायिक रेडियोकर्मी टंक थापालाई यो सालको प्रतिभा पुरस्कारले सम्मान गर्ने उक्त सभाले निर्णय गरेको छ ।

पहिलो चरणको छलफल कार्यक्रम सकेर उपस्थित सबै सदस्यहरुले सोही संस्थाले व्यवस्था गरेको खानपिन लिएपछि दोस्रो चरणको कार्यक्रमको आरम्भ गरेका थिए । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोककुमार राई, उपाध्यक्षहरु भुपजित राई, दिलकुमार राई, रत्न राई, सल्लाहकारहरु हर्कराम राई, टीकाराम राई, शिवधन राई, रत्न राई, रावासावा सेरोफेरोका उपाध्यक्ष भीम राई, डा.प्रमोद कोयुउ राई, राष्ट्र राईलगायत संस्थाका अन्य धेरै सदस्यहरुको बाक्लो उपस्थिति भएको थियो ।

खोटाङ जिल्लाका जनताका लागि सेवा पु¥याउन खोटाङ सेवा समाज युकेले भारतको टाटा कम्पनीको सुमो एम्बुलेन्सहरु पहिलो लटको ३ वटा चाहीँ नेपाल भित्राइसके तापनि दोस्रो लटमा आउने अरु ४ वटा एम्बुलेन्सहरु पनि झिकाएपछि सबै ७ वटै एम्बुलेन्सहरु एकै साथ जम्मा पारी बेलायतबाट संस्थाका केही सदस्यहरु नेपाल गएर बृहत रुपमा सार्वजनिक कार्यक्रम गरी खोटाङ जिल्लाका एम्बुलेन्स उपभोक्ता समिति र सञ्चालक समितिलाई जिम्मा लगाउने तयारी गरेको छ । तर, केही कारणवश बाँकी रहेको एम्बुलेन्सहरु आउन ढिला भएको खण्डमा नेपाल भित्रिसकेका ३ वटा एम्बुलेन्सहरु ओख्रे, बाक्सिला र चीसापानी गाविसहरुमा जसरी भए पनि यो वर्षभित्रै बुझाइसक्ने र बाँकी ४ वटा चाहीँ सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि एम्बुलेन्स खरिद गरी चाँडै बुझाउने कुरा निर्णय भइसकेको कुरा संस्थाका अध्यक्ष अशोककुमार राईले अवगत गराएका थिए ।

खोटाङ सेवा समाज युकेले आरम्भ गरेको एम्बुलेन्स प्रोजेक्टलाई पूरा गर्न अब अन्तिम चरणतिर आइपुगेको र बेलायतवासी खोटाङ्गेहरुबाट करिब ९१ (एकानब्बे) लाखभन्दा बढी रकम संकलन हुन लागेको कुरा जानकारी दिइएको छ । उक्त प्रोजेक्टका लागि बोलकबोल गरेको रकम थोरै सदस्यहरुले मात्र दिन बाँकी रहेको र अब ३१ डिसेम्बर, २०१६ भित्रमा बाँकी रहेका सबैले बोलेको रकम दिइसक्नुपर्ने भनी खोटाङवासी सबै सदस्यहरुलाई अध्यक्ष राईले अनुरोध गरेका थिए । यदि सबै रकम समयभित्रमा पूरा हुन नसके पनि अब भने एम्बुलेन्सको लागि चाहिने खर्च तयार भइसकेको हुनाले जतिसक्दो चाँडोभन्दा चाँडो एम्बुलेन्सको प्रोजेक्ट पूरा गर्नतिर लाग्ने अध्यक्ष राईले प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया