काठमाडौं, १० कात्तिक । बिहानैैदेखि बसमा यात्रा गर्न लागेका यात्रुहरूको ध्यान आकर्षित गर्न प्रयत्न गर्छिन् धनकुमारी तामाङ । उनले आफू होइन आफूले बेच्न राखेका फलफूलप्रति यात्रुका ध्यान आकर्षित गराउँछिन् । जाडो होस वा गर्मी, झरी होस् वा तुषारो फलफूल नबेची घरमा चुलो नबल्ने भएको यो उनको वाध्यता बनेको हो ।
नाङ्लो पसलले परिवार धानेको दुईदशक बितिसकेको बताउने धनकुमारी हनहनी ज्वरो आउँदा पनि पालो दिने कोही नभएको दुःखेसो पोख्छिन् । मौसम अनुसारका फलफूलसँगै नाङ्लोमा चाउचाउ, चुरोटलगायत सामानहरूको बिक्रीबाट नै उनले आफूसहित ९ जनाको परिवारको खर्च धान्नु परेको छ ।
१ जनाले चलाएको नाङ्ले पसलबाट मुखमा माड लगाउनेदेखि छोराछोरीको पढाईमा खर्च गर्न नपुग्ने भएकाले पढाइ छुटाएर अहिले काममा पठाउन थालेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘छोराछोरी पढाउन त मन थियो नि तर, के गर्नु खान दिनै नसक्ने भइयो ।’
सामान्य लेखपढ गरेका उनका छोराछोरी अहिले ज्याला मजदुरी गर्न थालेका छन् । ‘४÷५ कक्षा जसरी पढाएँ । आफू निरक्षर भए पनि पेट पालेकै छु । उनीहरू त अक्षर चिन्ने भएका छन्, गरी खान्छन्’ उनी भन्छिन् ।
बिहानदेखि साझँसम्म बसबस डुलेर घाँटी सुक्ने गरी चिच्याउँदै बिक्री गर्दा दिनमा ३ देखि ६ सयसम्मको व्यापार हुने गरेको उनले बताइन् । साँखु बसपार्कमा धनमाया जस्तै कान्छी परियार, सुन्तली तामाङ, माइली विश्वकर्मालगायत अन्य धेरैले यस्तै पेसाबाट आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन् ।
कान्छी परियार १५ वर्ष अगाडीसम्म होटलमा भाँडा माझ्थिन् । अर्काको काम गर्दा सधैँ गाली खानुपर्ने तथा एकैछिन् पनि ढिलो गएमा गाली खानुपर्नेलगायत कारणले सानै भए पनि आफ्नै काम गर्छु भनेर यस्तो पसल सुरु गरेको बताउँछिन् । दिनभरी खट्नु परे पनि आफ्नो कमाइबाट घर चलाउन पाएकोमा उनी खुसी छन् । ‘दुःख त सबै काममा हुन्छ । तर, दुःख गर्नु अनि अर्काको हेपाइ र गाली पनि कत्ति सहनु भनेर आफ्नै काम थालियो’ उनले भनिन् । सडक छेउ रहेको एउटा पाटी सडक विस्तारका क्रममा ट्राफिक प्रहरीले हटाएपछि भने उनीहरूले सास्ती खेप्नुपरेको छ । प्रहरीले ठेलागाडालाई प्रतिबन्ध लगाएको छ । नाङ्लोमा सामान बोकेर मात्र हिँड्न दिइन्छ । कतै सटर तथा सडकका पेटीमा बसेमा व्यापारी तथा प्रहरीले लखेट्ने उनीहरूको गुनासो छ ।
मासिकरूपमा केही शुल्क तिरेर भए पनि एउटा टहरो, उनीहरूको माग छ । नगरपालिकामा राखिएको माग पूरा नहुँदा हरेक दिन झरीमा रुझ्नु र घाममा डढ्नुपर्ने उनीहरूको बाध्यता छ ।
प्रतिक्रिया