यातायात व्यवस्थानमा चुकेको सहर

dharanपूर्वी नेपालमा नाम चलेको सहर हो, धरान । सुनसरी जिल्लाको पहाडी भागसँगको सम्पर्क बिन्दुको रूपमा रहेको धरान भौगोलिक र वातावरणीय हिसाबले पनि अत्यन्तै सुन्दर रहेको छ । तर, यातायत व्यवस्थापनका हिसाबले धरान अति नै अव्यवस्थित रहेको भन्दा फरक पर्दैन ।

सेवा प्रदायक भनिएको यातायात व्यवसायीले सर्वसाधारणसँग गर्ने व्यवहारमा परिवर्तन नगर्दा यहाँ बेथिति बढ्दै गएको छ । प्रशासनको बेवास्ता र यातायात व्यवसायीको मनपरितन्त्रको कारण यति सुन्दर सहर यात्रुका लागि नर्क जस्तै भएको हो । धरानको सवारीसाधन व्यवस्थापन यति फितलो छ कि यात्रुले दिउँसै लुटिनुपर्ने खालको छ । मनलाग्दी ढंगले बिसौनी तोकिएको छ ।

काठमाडौंबाट धरान आउने रात्रि बसलाई नयाँ बसपार्कमा बिसौनी तोकिएको रहेछ । धरान हुँदै पूर्वी पहाडका धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभालगायत जिल्लाबाट आउने गाडीको लागि बस स्टप भानु चोकमा तोकिएको छ । यसैका कारण यात्रुहरू मर्कामा परेका छन् । प्रशासन तथा यातायात व्यवसायीहरूको तर्फबाट जिम्मेवारी नलिएपछि कसले अह्राउने भन्ने समेत थाहा नपाई जो कोही व्यक्तिलाई जर्बजस्ती गाडीसम्म धकेल्ने तथा कतिपय अवस्थामा लुटपाटसम्म हुने गरेको पीडितहरूले बताएका छन् ।

गाडीहरूले यात्रुलाई बरगाछी चोकमा ल्याएर अलपत्र छाडिदिने गरेका छन् त्यो चोकबाट पहाडी जिल्लामा जाने गाडी चढ्न लगभग २ दशमलव ५० किलोमिटर हिँडेर भानुचोक जानुपर्ने बाध्यता रहेको छ सबै यात्रुले झोलामा समान बोकेको हुनाले हिँडेर जान गाह्रो पर्छ त्यसैले अटोले लिने चर्को भाडा तिरेर यात्रु भानुचोकको गाडी चढ्न जनाका लागि बाध्य छन् ।

अटोले यसै बेला यात्रुलाई लुटेर मौकाको फाइदा उठाउँछ बरगाछी चोकबाट भानुचोक जान यात्रुलाई अलपत्र पारेर अटोलाई मालामाल बनाउने षड्यन्त्र कतै प्रशासनले नै त गरेको होइन प्रश्न उठ्न स्वभाविक छ नत्र प्रशासन किन मुकदर्शक र मौन छ ? प्रशासनले नै यात्रुलाई लुट्न छुट दिएको हो ? प्रशासन नालायक हो भन्दा अतियुक्ति नहोला ।

अन्य गाडी नयाँ बसपार्क जाने व्यवस्था गर्ने प्रशासनले पहाडी जिल्लाबाट आउने गाडीलाई भानुचोकमा नै रोक्ने व्यवस्था किन ग¥यो ? पहाडी जिल्लाबाट आउने गाडीलाई पनि नयाँबसपार्क नै जाने व्यवस्था किन लागू गरेन ? यदि पहाडी जिल्लाबाट आउने गाडी पनि अन्य गाडीझैँ नयाँ बसपार्क जान पाउने हो भने यात्रु दिउँसै लुटिने थिएनन् ।

कि त यात्रुलाई बरगाछी चोकमा होइन भानुचोकमा उतारेर नयाँ बसपार्क जाने व्यवस्था गर्नुपथ्र्याे नालायक प्रशासनले तर प्रशासन र यातायात व्यवसायीको मनपरीतन्त्रले यात्रु ठगिने र लुटिने क्रम जारी छ । अटोको दसैँ भएको छ भने यात्रुलाई दशा लागेको छ । यस्तै ताल हो भने धरान आउने आन्तरिक पर्यटकले त्यहाँ लुटिन जाने भन्ने अवस्था नआउला भन्न सकिन्न ।

पूर्वी पहाडी जिल्ला भोजपुरको प्रवेशद्वार भनेको लेगुवा हो । लेगुवा बजारको धनकुटातिरको भाग (रामबजार) अलि ठूलो छ भने भोजपुरतिर सानो बजार छ । धरानबाट आउने गाडीले लेगुवामा लगेर यात्रुलाई ओराल्छ । त्यहाँबाट भोजपुर जाने रुटको गाडी अहिले पाइँदैन ।

बाटो बिग्रेको कारण देखाउँदै यातायात व्यवसायीले रुटको गाडी दसैँको अवसर पारेर बन्द गरेका छन् हुन् पनि लेगुवाबाट भोजपुर जाने सडक अत्यन्तै खराब हालतमा छ तर लेगुवाबाट भोजपुर जाने हो भने ३५ हजारमा बस रिजर्भ गरेपछि भने चढ्न पाइन्छ ।

लेगुवा भोजपुरको कानुनीरूपमा ५ सय रुपैयाँ भाडा हो तर रिजर्भ जाने हो भने ७ सयदेखि १२ सयसम्म यात्रुले तिर्नुपर्छ । लगुवाबाट भोजपुर जाँदा आधा दुरीमा रहेको प्याउली र त्यस आसपासका गाविसहरू चरम्बी, याङ्गपाङ (सिस्नेरी), चम्पे, हेलौछालगायतको ठाउँका बासिन्दाले पनि उत्तिकै भोजपुरकै रिजर्भको चर्को भाडा तिर्नुपर्छ । यातायात व्यवसायीको यो एक प्रकारको खुलेआम लुटाइ हो । भोजपुरका बासिन्दाहरू लेगुवा पुग्नु र बस चढ्ने बेलाको अवस्था र विदेशबाट दुःख पाएर घर फर्केका नेपालीले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लुटिनु र हैरानी पाउनुको पीडा उस्तै उस्तै छ ।

दसैँमा घर हिँडेका मान्छेहरू लेगुवा पुगेपछि ठगिनु पर्छ । आफ्नै गृह जिल्लामा लुटिएर आउनुपर्छ । इटहरीबाट गएका धराने गाडीले पनि यात्रुलाई बीचबाटोमा लगेर अलपत्र पारेर छाडिदिने गरेका छन् । धराने गाडीले भोजपुरको ओदानेसम्म मात्र यात्रु लिएर जान्छन् । यहाँ लगेर यात्रुलाई बेबारिसे अवस्थामा छाडी दिन्छन् । यति गर्दा पनि भोजपुरमा प्रशासन नै छैन जस्तो भान हुने गरेको उनको यात्रुहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया