बिदेसिनुभन्दा गाई पाल्नु जाति

cowकरिब ६ वर्षअघि यहाँका विज्ञान ढुंगानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल भएका ३२ वर्षीय उनलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जानुको विकल्प छैन ।’

कुखुरापालन, यातायात व्यवसायलगायत कार्यबाट आर्थिक घाटा बेहोरेका उनलाई कता–कता विदेश गएर पैसा कमाएर चाँडै उक्सिने चाह नपलाएको पनि होइन । उनले त्यसबारे धेरै सोचे र अन्ततः निष्कर्ष निकाले, ‘पराधीन भई जिउँदै नुनिला आँशुका ढिका ! जिउनुभन्दा निको हुन्छ तातो गाली कता–कता !’

यही सोचका साथ ढुंगानाले मोरङको उर्लाबारी नगरपालिका–५ भिँगाबारीस्थित आफ्नै घर आसपासको २ कठ्ठा जग्गामा गाईपालन व्यवसाय सुरु गरे । कृषि विकास बैंकबाट ५० लाख रुपैयाँ ऋण लिएर सुरु गरेको उनको व्यवसाय छैटौँ वर्षमा प्रवेश गरिसकेको छ ।

‘श्री माता पार्वतीदेवी एन्ड आविष्कार गोशाला क्याटल फार्मिङ रिसर्च सेन्टर’ नाम दिइएको गोठमा अहिले साना–ठूला गरी ३२ गाई छन् जसमध्ये १२ वटा दुहुना छन् । ती गाईले दैनिक १ सय २० लिटर दूध दिन्छन् । दूध प्रतिलिटर ४२ रुपैयाँका दरले बिक्री हुन्छ । त्यस्तै मासिक १० केजी घिउ बिक्री हुन्छ । प्रतिकेजी घिउको ६ सय रुपैयाँ पर्छ । त्यसैगरी, वाषर््िाक १ लाख रुपैयाँको मल बिक्री हुने गरेको ढुंगानाले बताए । उनी भन्छन्, ‘मल बिक्री गर्न बजारसम्म धाउनु पर्दैन, तरकारी खेती गर्नेले घरमै लिन आउँछन् ।’ साथै उनले गाई किनबेचबाट पनि नाफा आर्जन गर्ने गरेको बताए । ६० हजारदेखि १ लाख ५० हजारसम्ममा बेचविखन गरिन्छ ।

यससँगै बाच्छाबाच्छीको बिक्रीसमेत हुन्छ । गाईको नश्ल सुधारका लागि भनेर उन आफैँले ‘अमेरिकन होलेस्टियन फिजिसियन’ जातको गोरु पालेका छन् । त्यो गोरुबाट महिनामा गाउँघरका करिब २० गाई भर्ना हुन्छन् । एउटा गाई भर्ना भएवापत ७ सय आम्दानी हुन्छ । यी सबै जोड्दा मनग्य आम्दानी भएको जस्तो देखिए पनि आम्दानीमा करिब ६० प्रतिशत खर्च गोठ व्यवस्थापनमै लाग्ने गरेको ढुंगानाको भनाइ छ । कुल लागतमध्ये ३२ लाख रुपैयाँ खर्च दानापानीलगायत गोठ व्यवस्थापनमा लागेको छ भने वार्षिक ७० देखि ७२ हजार रुपैयाँसम्म औषधोपचारमा लाग्ने गरेको छ । २ जना कामदारलाई लाग्ने खर्च छुट्टै छ ।

यी सबै आम्दानी र खर्चको हिसाब गरेपछि ढुंगानाले भने, ‘घरकै भात खाएर महिनाको ५०÷६० हजार चोखो बच्दोेरहेछ ।’ त्यसो त कृषि विकास बैंकबाट लिएको ऋणमध्ये ३५ लाख चुक्ता भइसकेको छ भने अब तिर्न १५ लाख मात्र बाँकी छ । त्यो पनि चाँडै चुक्ता गर्ने लक्ष्य राखेको ढुंगानाले सुनाए । १ सय गाई पाल्ने दीर्घकालीन योजना बुनेका ढुंगानाले भने, ‘यसै ठाउँमा आधुनिक प्रविधि भित्र्याएर यसै पेसालाई परिमार्जन गर्दै अरूलाई पनि रोजगारी दिने मेरो योजना छ ।’ यसका लागि उनलाई राजधानी माइती भएर मोफसललाई कर्मथलो बनाएका श्रीमती भावनासहितका सबै परिवारका सदस्यले साथ दिइरहको उनले बताए ।

यसबाहेक ढुंगानाले केही समययता करिब ३ लाख रुपैयाँको लगानीमा पंक्षी व्यवसाय सुरु गरेका छन् । जहाँ बट्टाई २ सय, चिनी हाँस १ सय ५०, हिले हाँस ६०, टर्की २४, चिनी हाँस १५ र राजहंश १४ वटा छन् । तर यिनीहरूले अहिलेसम्म बजार पाएका छैनन् । ‘बिक्री हुँदैन, त्यसैले घरमै काटेर खाने गरेका छौँ’, उनले भने, । साथै, उनले विभिन्न बोटविरुवा, बिऊबिजन लगाउनाका साथै अन्य किसानका लागि कृषिसम्बन्धी परामर्शसमेत सित्तैमा दिने गरेका छन् । उनले भने, ‘१ हजार ५ सय बिरुवा लगाइसकेँ । मेरो जीवनकालमा यो ३ बिघा जग्गा सबैमा ४ हजार बिरुवा लगाउने लक्ष्य छ ।’

व्यवसाय सञ्चालन गरेवापत राज्यलाई वार्षिक २५ हजार रुपैयाँ राजस्व तिर्ने गरेका छन् । उनले सरकारी तबरबाट कुनै सुविधा नपाएको गुनासो व्यक्त गरे । सरकारले आफूजस्ता किसानलाई अनुदान सहयोग गरेसस्तो रोजगारीका लागि विदेश जाने क्रम रोकिने उनको तर्क छ । उनले भने, ‘स्वावलम्बी किसानलाई सरकारले गाई निःशुल्क देओस् । त्यसवापत केही लेओस् ।’ ठाउँ हेरेर दूधको दाम फरकफरक हुनाले पनि किसान मारमा परिरहेको उनको गुनासो छ । उनले भने, ‘विराटनगरमा सस्तोमा दाना पाइन्छ तर दूध महँगोमा बिक्छ, तर यहाँ दाना महँगो लगाएर किन्नुपर्छ । त्यसको तुलनामा दूध सस्तोमा बेच्नुपर्छ ।’ बारम्बार हुने गरेको ‘मिल्क होली डे’ का कारण पनि किसानहरू मारमा परेको उनको गुनासो छ ।

मदन राई, उपेन्द्रकान्त झाजस्ता कृषि विज्ञले राजधानीका मिडिया हाउसमा बसेर कृषि क्रान्तिका गफ गरेको सनेका ढुंगानालाई उनीहरूसँग प्रत्यक्ष भेटेर परामर्श लिने रहर भए पनि त्यो पूरा हुन सकेको छैन । उनले भने, ‘सरकारी तहका ठूला मान्छे वास्तविक किसानसम्म नपुगेसम्म कृषि क्रान्ति हुन्न ।’

दीर्घकालीन लक्ष्यका साथ कृषि पेसामा होमिएका ढुंगानालाई धेरैले आफ्नो पदचिन्ह पछ्याएकामा गर्व छ । उनका अनुसार बिदेसिने सोचाइ बुनेकासहित १० भन्दा बढी व्यक्तिले उनको पदचिह्न पछ्याएर कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका छन् । घरमै उत्पादन भएको दूध खाएमा स्वस्थ र तन्दुरुस्त हुने तर्क राख्ने उनले भने, ‘जागिर खाँदा तलब लिन महिना दिन कुर्नुपर्छ तर, गाई पालेर दूध बेचेमा दिनदिनै आम्दानी हुन्छ ।’

प्रतिक्रिया