सप्तरी, १५ असोज । सर्वसाधारण जनताको सुरक्षा गर्ने प्रहरीले नै अपहरण शैलीमा घरबाट लगेर एक महिलालाई बेपत्ता बनाएको भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर सूर्यनारायण यादवले प्रहरी आचरण र नीतिविपरीत यस्तो काम गरेको पत्ता लागेको छ । इन्स्पेक्टर यादव, डिएसपी जयप्रकाश साहसहितको टोलीले गरेको यो अनौठो कामविरुद्ध उजुरी परेपछि मात्रै यो घटना सार्वजनिक भएको हो ।
सप्तरीको इनरुवा फुलवडिया–९ का एर्शाद हुसेनसँग अन्तरजातीय विवाह र अदालतबाट नाताकायम गरी बसेकी सिमरन मण्डल खत्वेलाई गत ३१ भदौमा पुरुष प्रहरीहरूले २ तिर समाई मोटरसाइकलको बीचमा राखेर जबर्जस्ती लगेको उनका ससुरा जियाउल हकले बताए । प्रहरी कार्यालयमा उजुरीसहित धाउँदा पनि सिमरनबारे कुनै जानकारी नपाएपछि हकले जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालय तथा राष्ट्रिय मानवअधिकार आयोग, जनकपुरमा निवेदन दिएका छन् ।
उनले उच्च अदालतको राजविराज इजलासमा गत ७ असोजमा बन्दी प्रत्यक्षीकरणको रिट दिए पनि हालसम्म सिमरनलाई उपस्थित नगराइएको गुनासो गरे ।
लहानमा सँगै पढिरहेका एर्शाद र सिमरनकाबीच प्रेमसम्बन्ध भयो । प्रेमविवाह गरेका उनीहरूलाई पटकपटक छुट्याउने प्रयास भयो । कल्याणपुर प्रहरीले १ देखि ६ भदौसम्म दुबैलाई विनापुर्जी थुनामा राख्यो । एर्शादका अभिभावकलाई ‘अपहरण तथा बलात्कार मुद्दामा एर्शादलाई ११ वर्ष कैद हुने’ धम्की दिएपछि डराएर उनीहरूले प्रहरीको मागबमोजिम ६ भदौमा २ लाख ५ हजार दिएर एर्शादलाई छुटाएर घर लगेको एर्शादका हजुरबुवा मो. इमामुद्धिनले बताए । उता सिमरनलाई उनका काका शोभित मण्डलको जिम्मा लगाइयो ।
जतिपटक भागे पनि र मन्दिरमा विवाह गरे पनि सम्भव नभएपछि उनीहरूले सल्लाहबमोजिम सप्तरी जिल्ला अदालतबाट २७ भदौमा नाताकायम गराए । नाताकायम पछि उनीहरू ढुक्कले घरमा बस्न थालेका थिए ।
तर, ३१ भदौमा इन्स्पेक्टर यादवसहितको ४ जना पुरुष प्रहरीको टोलीले अदालतको नाताकायमलाई बेवास्ता गर्दै सिमरनलाई जबर्जस्ती उठाएर लगे । ‘हामी एक अर्कासँग प्रेम गर्छांै, एकअर्काविना बाँच्न सक्दैनाँै, अदालतबाट नाताकायम पनि गरेका छौँ’ भनेर दुवैले प्रहरीसमक्ष जिद्दी गरिरहे । तर, प्रहरीले सिमरनलाई कल्याणपुरको एक एम्बुलेन्समा राखेर माइत पु¥यायो । इन्स्पेक्टर यादवले भने इलाका प्रहरी कार्यालय लहानले घरबाट बेपत्ता सिमरनलाई जिम्मा लगाउन पठाएको र पत्रअनुसार जिम्मा लगाएको बताएका छन् ।
पूर्वमन्त्री राजलाल यादवको प्रतिबद्धतामा दुबै पक्ष बसेर सिमरन र एर्शादलाई सामुन्ने राखेर छलफल गराउने र सिमरन राजी भएमा २ लाख ५ हजारसहित सिमरनलाई एर्शादको जिम्मा लगाउने सहमति पनि भएको थियो । यसरी सहमति र अदालतको आदेशसमेत कार्यान्वयन नहुँदा एर्शाद परिवार निराश भएका छन् । एसपी भीमप्रसाद ढकालले इन्स्पेक्टर यादव र डिएसपी साहसँग स्पष्टीकरण सोध्नुका साथै छानबिन समिति नै गठन गरी कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।
प्रतिक्रिया