काठमाडौं, ६ असोज । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गिद्ध संरक्षणका लागि विभिन्न स्थानमा रेस्टुरेन्ट स्थापना गरेको छ । ०५८ सालतिर नेपालमा अधिकांश गिद्ध मर्न थालेपछि तिनको संरक्षणका लागि विभागले रेस्टुरेन्ट स्थापना गरेको हो । रेष्टुरेन्टमा मर्न लागेका गाईवस्तुलाई लगेर राखिदिने र मरेपछि गिद्धले खाने गर्दछ, त्यसैले यसलाई ‘गिद्ध रेस्टुरेन्ट’ (गिद्ध आहरा केन्द्र) भनिएको हो ।
यसलाई ‘जटायु रेष्टुरेन्ट’ पनि भन्ने गरिन्छ । अधिकांश मरेका वस्तुलाई आफ्नो मुख्य आहरा बनाउने गिद्धलाई संरक्षण तथा सम्बद्र्धनका लागि विभाग र स्थानीय बासिन्दाको पहलमा नेपालको विभिन्न सात स्थानमा रेस्टुरेन्ट स्थापना गरिएको विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले जानकारी दिए । पन्ध्र वर्ष अघि बिरामी भएका गाईवस्तुलाई उपचारका लागि ‘डाइक्लोफेन्याक’ नामक औषधि खुवाइने र तिनीहरू मरेपछि गिद्धले खाने गर्दा अधिकाशं गिद्ध मरेको पौडेलले बताए । उनले भने, ‘गिद्ध मरेपछि पर्यावरणमा ठूलो असर प¥यो यसको अध्ययन र अनुसन्धानपछि गाईवस्तुलाई खुवाउने उक्त औषधि नै बन्देज गरियो ।’
उनले २०५८ सालमा औषधि प्रयोग गरेका गाइवस्तु खाएर झण्डै ९० प्रतिशत गिद्ध मरेको दावी गरे । त्यसपछि विभागले अध्ययन र अनुसन्धानपछि पुनः २०६४ बाट गिद्ध संरक्षण गर्न थालेको हो । गिद्धको आहारका लागि विभागले नवलपरासीको पिठौँली, दाङको लालमटिया, घोराही, रूपन्देहीको गैँडाताल, कैलालीको कुटिया, सुनसरीको रामधुनी र कास्कीको घाचोकमा गिद्ध रेस्टुरेन्ट स्थापना गरेको छ । गिद्धलाई कुचीकार चराको रूपमा पनि हेर्ने गरिन्छ । मरेका वस्तुलाई तत्काल खाएर सफा गरिदिने भएकाले यसलाई कुचीकार चरा समेत भनिएको हो ।
विभागका प्रवक्ता किशोरकुमार मेहताले अहिले गिद्ध बस्ने अग्ला रुख काट्न थालेकाले तिनको संख्यामा कमी आएको बताए । उनले भने, ‘बासस्थानका लागि गिद्ध बस्ने ठूल्ठूला सिमलका रुख काटेर बेच्न थालेपछि गिद्ध बस्ने स्थानको अभाव भयो । त्यसैले गिद्धको संख्यामा कमी आएको हो ।’
नेपालमा हाल १२ देखि १५ हजारको हाराहारीमा गिद्ध पाइन्छन् । यसमध्ये सबैभन्दा धेरै १० हजारको हाराहारीमा हिमाली गिद्ध पाइन्छ, भने सबैभन्दा थोरै सानो खैरो गिद्ध पाइन्छ उक्त गिद्ध जम्मा ६० वटा रहेको छ ।
यसबाहेक पहाड र तराईमा पाइने डंगर गिद्ध १ हजारदेखि २ हजार, हिमाल र तराईमा पाइने राजगिद्ध ६० देखि १ सय, हिमालदेखि तराईमा पाइने सुनगिद्ध २ सयदेखि ४ सयसम्म, हिमालमा पाइने हाडफोर गिद्ध ४ सयदेखि ५ सयसम्म र तराईदेखि हिमालमा पाइने सेतो गिद्ध ३ सयदेखि १ हजारको संख्यामा रहेको विभागले जनाएको छ ।
यस्तै खैरो गिद्ध पनि केही समय अगाडिदेखि फेला परेको छ । कोसी क्षेत्रको आसपासमा फेला परेको उक्त गिद्धको अध्ययन अनुसन्धान गर्न बाँकी रहेको विभागले जनाएको छ । विश्वका विभिन्न देशमा अगस्टमा अन्तर्राष्ट्रिय गिद्ध संरक्षण जनचेतना दिवस मनाउने गरेपनि नेपालमा भने अहिलेसम्म उक्त दिवस मनाइएको छैन ।
यस्तै गिद्धको संख्या वृद्धि गर्नका लागि विभागले चितवनको मसरामा गिद्ध संरक्षण केन्द्र स्थापना गरेको छ । गिद्धका साना बच्चालाई पालिने र ठूलो भएपछि विभिन्न स्थानमा लगेर छोड्ने गरिएको छ । यसले गर्दा गिद्धको संख्या बढ्ने विश्वास विभागले लिएको छ ।
प्रतिक्रिया