बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडकमा ट्राफिक चिह्न हराउँदै जाँदा चालकलाई समस्या हुने गरेको छ । अधिकांश ठाउँमा ट्राफिक चिह्न हराउँदै जाँदा सवारी चलाउँदा दुर्घटनाको सम्भावना बढी हुने गरेको चालकको भनाइ रहेको छ ।
बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलालीलगायतका जिल्लामा रहेका राजमार्गमा ट्राफिक चिह्न हराउँदै गएका र जीर्ण बनेका छन् । महाकाली राजमार्गसहित, दशरथचन्द राजमार्ग, भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग र जयपृथ्वी राजमार्गमा ट्राफिक चिह्न जीर्ण बन्दै गएकाले सवारीसाधन सञ्चालनमा कठिनाइका साथै दुर्घटना बढ्ने सम्भावनासमेत रहेको छ ।
स्थानीय रुटमा सवारी साधन चलाउनेलाई स्थानीय सडकका बारेमा थाहा हुने भएपनि लामो दूरीका गाडी चालकलाई भने निकै नै समस्या हुने गरेको ना ४ ख २००८ ट्रक चालक देवानन्द महराले बताए । ट्राफिक चिह्नले अगाडि आउने बाटोबारे अग्र जानकारी दिने भएका गाडी सञ्चालनमा सहजता हुने भएपनि ट्राफिक चिह्न नै नहुँदा समस्या हुने गरेको चालक महराकोे भनाइ रहेको छ ।
दाङबाट सिमेन्ट लिएर दार्चुला जाँदै गरेका चालक महराले भने, ‘मैले कैलालीको गोदावरीबाट बैतडी पुग्दासम्म राजमार्गमा कहीँ कहीँ मात्र ट्राफिक चिह्न देखेँ, सबै ठाउँमा छैन ।’ ट्राफिक चिह्न नहँुदा गाडी चलाउँदा समस्या हुने गरेको समेत उनले बताए ।
‘कैलालीको गोदावरीदेखि डडेल्धुरा (भीमदत्त राजमार्ग)मा केही सजिलो भए पनि बैतडी दार्चुलाको सडकमा एकदमै गाह्रो हुने गरेको छ,’ उनले थपे, ‘रातिको समयमा केही सजिलो भएपनि दिनमा आँखा तिखारी तिखारी हेर्नुपर्नेहुन्छ ।’ छोटो दुरीमा चालकलाई सडकबारे ज्ञान हुने भएपनि लामो दूरीमा त्यो सम्भव नहुँदा अधिकांश सवारी दुर्घटना हुने गरेका छन् । केही मात्रामा ट्राफिक चिह्न राजमार्गमा भएपनि तिनीहरू जीर्ण भइसकेको तथा टुटफुटको अवस्थामा रहेका छन् ।
यस्तै, सडक वरिपरिका झ्याङले समेत सवारी चलाउन गाह्रो भएको चालक महराले बताए । घुम्तीमा रहेका झ्याङ तथा वरपरबाट आएका रुखका हाँगाबिँगाले झनै समस्या हुने गरेको छ । दशवटा टायर भएको लामो ट्रक चलाइरहेका महराले भने, ‘१५ किमी हिँड्न डेढ घन्टा लाग्ने गरेको छ ।’
सुदूरपश्चिमका पहाडी सडकमा ज्यान जोखिममा राखेर सवारी साधन चलाउनुपरेको समेत उनले बताए । उनले भने, ‘उकालो भएको ठाउँमा एकदमै उकालो र ओरालो भएको ठाउँमा एकदमै ओरालो छ, सडक सर्वे गर्ने इन्जिनियरले समेत ध्यान नदिएको रहेछ ।’ साँघुरो सडक त्यसैमा पनि सडक वरिपरि झ्याङ् तथा सडकमा राखिएका ढुङ्गा गिट्टीलगायतका वस्तुले पनि सवारी चलाउन समस्या हुने गरेको छ । यस विषयमा सडक डिभिजन र ट्राफिक प्रहरीले विशेष ध्यान दिनुपर्ने गाडी चालकहरूको भनाइ छ ।
सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका इन्चार्ज तथा प्रहरी उपरीक्षक रमेश थापाले सुदूरपश्चिमका पहाडी सडकमा अधिकांश ठाउँमा ट्राफिक चिह्न नभएको र भएको ठाउँमा पनि जीर्ण अवस्थामा रहेको स्वीकारे । ‘सुदूरपश्चिमका अधिकांश ठाउँमा ट्राफिक चिह्नहरू छैनन् भएका ठाउँमा पनि जीर्ण अवस्थामा रहेका छन्,’ उनले भने, ‘ट्राफिक चिह्न जीर्ण तथा नभएको ठाउँमा ट्राफिक चिह्न राख्न सडक कार्यालयसँग अनुरोध गरिनेछ ।’
सुदूरपश्चिमका पहाडी जिल्लामा ट्राफिक चिह्न नहुँदा दुर्घटनासमेत हुनसक्ने भन्दै सडक कार्यालयसँग समन्वय गरी यो कार्य अघि बढाइने उनले बताए ।
सुदूरपश्चिमका विभिन्न स्थानमा आव ०७२÷७३ मा १ सय ५५ वटा सवारी दुर्घटनामा परी १ सय २१ जनाको मृत्यु भएको छ भने १ सय २७ जना गम्भीर घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया