नेपालमा सडक दुर्घटना र यात्रुहरूको मृत्यु सम्भवतः प्रत्येक दिन सुनिने र समाचार माध्यममा नियमितरूपमा चर्चा हुने घटना आइरहेका छन् । सडक दुर्घटनाको प्रमुख कारण यातायात क्षेत्रमा रहेको सिन्डिकेट प्रथालाई मानिएको छ । पहाडी बाटोहरूमा नियमितजस्तै भइरहने बस दुर्घटनाले समेत सरकारको ध्यान गएको देखिँदैन । किनभने विमान दुर्घटना हुनासाथ छानबिन आयोग बनाइन्छ । तर सडक दुर्घटना जति ठूलो भए पनि त्यसमा छानबिन गर्ने र आवश्यक कारबाही अघि बढेको गरेको पाइँदैन । वास्तवमा अहिले सडक दुर्घटना नै मृत्युको कारण बन्ने गरेको छ । यातायात सेवालाई प्रतिस्पर्धा नबनाई सिन्डिकेटबाट चल्न दिएका कारण सबै सर्वसाधारणले एउटै बसमा खचाखच कोच्चिएर यात्रा गर्नु परिरहेको छ । सवारीसाधनको अवस्था चालकको स्थिति र सुरक्षामा अन्य उपायमा ध्यान नदिँदा घटना दोहोरिरहने अवस्था सिर्जना भएको छ ।
सिन्डिकेट प्रथाले यात्रुलाई सुरक्षित र आफूलाई विश्वास लाग्ने यातायात तथा चालक रोज्ने अधिकारबाट वञ्चित गरेको छ । सिन्डिकेट प्रथाअन्तर्गत जतिसुकै पुराना थोत्रा गाडी र सिकारु उत्ताउलो चालक भए पनि उसैले चलाएको गाडीमा नचढेमा निर्धा्रित समय र गन्तव्यमा पुग्न नसकिने परिस्थिति सबैले भोगको कुरा हो । सर्वोच्च अदालतले समेत निर्णय गरेको छ सिन्डिकेट प्रथा खारेज गर्न तर त्यो प्रथाले निरन्तरता पाइरहेको छ । किन ? राजनीतिमा सिन्डिकेट दलीय भागबन्डा, प्रशासनमा सिन्डिकेट, व्यापारमा सिन्डिकेट तरकारी आयात गर्न पनि एउटा समूह सक्रिय छ । तरकारी गोलभेँडा ढुवानीमा पनि केही व्यवसायीको एकाधिकार छ । अरू प्रतिस्पर्धीलाई व्यवसायमा आउन नदिने सिन्डिकेट लाद्न व्यवसायीको चाहना छ । व्यावसायिक हकहितको जलप लगाएर सिन्डिकेट लगाउने गरिएको छ । बढी मूल्य असुल्न, चरम शोषण गर्न, बढी नाफा कमाउन व्यावसायिक संस्था सक्रिय छ । व्यावसायिक संस्था नियमनकारी निकाय बनेकोले सिन्डिकेट मौलाएको छ । प्रतिस्पर्धा खुलारूपमा हुनुपर्नेमा सीमित व्यक्ति र संस्था मोटाउने काममात्र भएको छ । जताततै सिन्डिकेट जारी रहँदा बस व्यवसायमा सिन्डिकेट प्रथा अन्त्य होला ? कि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र जिल्ला प्रशासन सिन्डिकेट प्रथा रोक्न या सर्वोच्चको आदेश कार्यान्वयन हुन किन सकेको छैन ? यसमा राजनीतिक दल, प्रशासन र यातायात व्यवसायीबीचको स्वार्थ र अन्य हितमा जेलिएको त छैन भन्ने आशंका उब्जिएको छ । तसर्थ राज्यले नीतिगत निर्धारण गर्ने हो भने सिन्डिकेट रहँदैन । राज्यले नीतिगत रूपमा सिन्डिकेट खारेज गर्ने र मुख्य राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका नेतृत्व वर्ग तथा नेताहरूले संरक्षण नगर्ने हो भने सिन्डिकेट सजिलै हट्नेछ ।
अहिले समाजको हरेक क्षेत्र सिन्डिकेट दादागिरीमा चल्न बाध्य छ । अदृश्य सत्ताको एउटा हिस्सा यातायात सिन्डिकेट र दुर्घटनारूपी अपराध मात्र होइन, सिन्डिकेट संस्कृति निर्मित समानान्तर सत्ताजस्तै देखिएको छ । सिन्डिकेट अपराधको प्रत्यक्ष देखिने घटना यातायात भएता पनि यो शिक्षा, निर्माण क्षेत्र, मिडिया, उद्योग–व्यापार र वैदेशिक रोजगारजस्ता जुनुुसुकै क्षेत्र पनि आक्रान्त छ । मालिकहरू, माफियाहरू, पूँजीपतिहरू आफ््ना हित सामना गर्न र राज्यलाई चुनौती दिन सिन्डिकेट तयार गरेको छ र सेवासुविधाको प्रतिस्पर्धा भने कहिल्यै गर्दैनन् । सडक मर्मत कहिल्यै नगर्नु, गाडीको अवस्था विचारै नगरी चलाउनु, बोक्न सक्ने क्षमताभन्दा बढी भार बोक्नु, गाडीवालाको सिन्डिकेट र चालकलाई के गर्नुपर्छ भन्ने ज्ञान नहुनु आदि कारण यस्ता अस्वभाविक दुर्घटना हुन्छन् र भइरहेका छन् ।
नेपालमा प्रत्यक्ष र परोक्ष अनेकौँ सत्ता छन् । त्यसमा सबैभन्दा खतरा समानान्तर सत्ता भनेकै एनजिओ चालित समाज, सिन्डिकेट चालित व्यवस्था र अवस्थ प्रतिस्पर्धा नै हो । यी दुवै आफू अनुकुलको नीति निर्माण गरेर हितअनुसारको कानुन बनाउने त्यसलाई अनुकुलतामा लागू गराउन कार्यकारिणीलाई दबाब गर्न औकात राख्छन् । उनीहरूको सञ्जाल देशभित्र मात्र नभएर अनेकौँ आवरणमा बाहिरसमेत नेटवर्क छ । नेपालमा कुशासन छ । कुशासनको प्रमाण भनेकै विभिन्न पेसा र व्यवसायमा बढ्दै गएको सिन्डिकेट प्रथा हो । यो राजनीतिक संरक्षणको बलमा चलिरहेको छ । नेपालको राजनीति नै सिन्डिकेटबाट चलेको छ । राजनीतिले सही बाटो नसमातेसम्म सुशासन सम्भव छैन । सुशासन स्थापित हुन सके यस्ता सिन्डिकेटहरूलाई अन्त्य गर्न सकिन्छ । राजनीतिक अस्थिरताका कारण सिन्डिकेट मौलाउन थालेको हो । राजनीतिभित्रको सिन्डिकेट पहुँच भएका नेताका नजिक बन्नु र उसले भनेका ठीक बेठीक कुरा मान्न सक्ने वा नसक्ने कुरा राज्यशक्तिमा उसको पहुँचको पद्धति नराम्रो र घातक सिन्डिकेट प्रथा हो । जुन क्षेत्रमा सिन्डिकेट छ त्यो क्षेत्रमा उपभोक्ता मर्कामा परेका छन् । सवारी र यातायात क्षेत्र सबैभन्दा दुरावस्थामा पुगेको छ । सडकमा थोत्रा बसहरू कुँदिरहेका छन् । पुराना सार्वजनिक सवारीलाई हटाउने कुरा बेलाबेलामा उठ्ने गरे पनि त्यसको कार्यान्वयन भएको छैन । सवारीसाधनको इञ्जिनको सरसफाइमा सम्बन्धित व्यक्तिको ध्यान गएको देखिँदैन । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने र मोटरसाइकल चलाउँदा मोबाइलबाट कुरा गर्ने प्रवृत्तिमा रोक नै लगाएको छ । पछिल्लो समयमा सडक दुर्घटना भयावह रूपमा बढेको छ । दिनानुदिन सवारी दुर्घटना बढेकोले सवारी साधनमा चढ्दा सकुशल गन्तव्यमा पुगिन्छ कि पुगिँदैन भन्ने आशंका उब्जिन थालेको छ । मानिसमा सवारी दुर्घटना बढी हुनु सवारी चालकमात्र नभएर क्षमताभन्दा बढी यात्रु राख्नु, मदिरा पिएर केटीहरू चालकको नजिक राखेर सवारी चलाउनु, समयमा सवारी जाँच तथा मर्मत नगर्नु, अव्यवस्थित रूपमा सडकमा केटाकेटी, बच्चा छोड्नु र सिकारु व्यक्तिलाई बसको चालक बनाउनु, सडक अवस्थालाई ध्यान नदिई गाडी चलाउनु, सडक र गाडीको क्षमताभन्दा बढी यात्रु र समान बोक्नु, यात्रुहरू झुण्डिएर वा छतमा भरिभराउ यात्रु बसाल्नु र केटीहरूसँग गफ गरेर सवारी चालकको ध्यान केन्द्रित हुनु पनि सडक दुर्घटनाका कारण बनेका छन् ।
जुन बसहरूको दुर्घटना भइरहेको छ, त्यो वास्तवमा सिन्डिकेट अपराध हो । किनभने सिन्डिकेटमा रहेका बसहरू पुराना र थोत्रा छन् । उकालोमा नतान्ने र ओरालोमा नचल्ने थोत्रा बस सञ्चालन भइरहँदा बढी दुर्घटना भएको हो । सवारीसाधन उचित अवस्थामा राख्न ब्रेक गेयरको सामान्य अवस्थामा पनि जाँच नगरिँदा दुर्घटना हुन जान्छ । अर्को ग्रामीण क्षेत्रमा बनेका सडक बस चलाउन अयोग्य रहेको छ । अर्को मुख्य कुरा के हो भने गाडीवाला र चालकहरूको आआफ्ना संगठन छन् । जसले सडक दुर्घटनाको अपराध संरक्षण गरिरहेका छन् । एउटा चालकले सडक नियम उल्लघंन गर्दा उसलाई कारबाही हुँदैन । उसले संगठनको धाक देखाउँछ । सरकार कठोर हुन सकेन । कठोर हुन खोज्यो भने संगठनहरू विरोधमा उत्रिन्छन् भन्ने त्रसित मानसिकता छ । सडक साँघुरो अवस्था दुर्घटनाका कारणमात्र नभएर सडकमा संकेतहरू छैनन् । सबै चालक हरेक सडकको जानकार हुँदैन साइड दिन नजान्दा दुर्घटना भएका छन् । तीव्र गतिमा चलाउँदा र ओभरटेक गर्दा पनि दुर्घटना भएका छन् । सडकमा यातायात व्यवसायीको एकलौटी सिन्डिकेट भएको छ । तसर्थ तत्कालै प्रतिस्पर्धाका आधारमा सबैले सञ्चालन गर्न सक्न बनाउनुपर्छ । अहिले भइरहेको के हो भने अन्य प्रतिस्पर्धीलाई व्यावसायमा आउन नदिन सिन्डिकेट लाद्न व्यवसायीको चाहना छ । व्यावसायिक हकहितको जलप लगाएर सिन्डिकेट लगाउने गरिएको छ । सिन्डिकेट हटाउन सरकारले पहल गर्न जरुरी छ ।
प्रतिक्रिया