दुई वर्षअघिसम्म वृद्धवृद्धा पाल्न धौधौ परेको देवघाटका वृद्धाश्रममा पछिल्लो समय सहयोग गर्ने दाताको संख्या बढेसँगै वृद्धाश्रम सञ्चालनमा सहज भएको छ ।
देवघाटमा सञ्चालनमा रहेका तीनवटा वृद्धाश्रममध्ये देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) र रोटरी क्लबले सञ्चालन गरेको थाहा सदावर्त रोटरी करुणालयमा दाताकै सहयोगमा भोजनका लागि आवश्यक खाद्यान्न पुग्ने गरेको छ । देवघाट क्षेत्र विकास समितिको वृद्धाश्रम निःशुल्क हो भने रोटरी करुणालयमा वर्षको ६ हजार रुपैयाँ लिने गरिन्छ ।
पछिल्लो समय खुलेको एनआरएन वृद्धाश्रमको सञ्चालन गलेश्वर आश्रमले गर्दै आएको छ । त्यहाँ बस्ने वृद्धवृद्धाबाट वार्षिक २१ हजारदेखि २५ हजार ५ सय रुपैयाँसम्म लिइँदै आएको छ ।
एनआरएन वृद्धाश्रममा भने दाताको खासै सहयोग नरहेको संयोजक यज्ञप्रसाद रेग्मीले बताए । विश्वशान्ति महायज्ञले उपलब्ध गराएको जग्गामा एनआरएनले भवन मात्रै बनाएको भए पनि दातालाई विदेशी सहयोग आउँछ भन्ने परेका कारण सहयोग नआएको उनले बताए ।
यद्यपि सबै अपुग खर्च आश्रमले व्यहोर्दै आएको भन्दै दातालाई सहयोगका लागि आग्रह पनि उनले गरे । देवघाट समाज कल्याण केन्द्रमा ३२ जना, रोटरी करुणालयमा ४२ जना र एनआरएन वृद्धाश्रममा ६६ जना वृद्धवृद्धा रहेका छन् ।
२ वर्षअघिसम्म खाना खुवाउन धौधौ पर्ने गरेको देवघाट समाज कल्याण केन्द्रमा अहिले खाना खुवाउने पालो पाउन मुस्किल पर्ने गरेको केन्द्र हेर्दै आएका संयोजक ढकराज कोइरालाले बताए ।
आमा खुवाउने औँसी, बुबाको मुख हेर्ने दिन, माघे संक्रान्ति, सोह्रश्राद्धलगायतका दिन पालो पाउन मुस्किल हुने गरेको उनले बताए । दाताले जन्मदिन, श्राद्धको तिथिका दिन, विवाह गरेको मिति, संस्था स्थापना दिनलगायतमा खाना खुवाउने चलन बढ्दो छ । सो केन्द्रमा एकदिन सादा खाना खुवाएको ५ हजार र पनिरसहितको खानालाई ६ हजार रुपैयाँ लिने गरिएको छ ।
रोटरी करुणालयले ६ हजार ५ सय रुपैयाँ एकछाकको लिने गरेको छ । त्यहाँ थाहा सदावर्तसमेत छ । जसमा जोसुकैलाई खानाका लागि खुल्ला गरिने संस्थाका अध्यक्ष उपेन्द्र रिजालले बताए ।
वृद्धाश्रमबाहेकका ७० देखि ८० जनाले दैनिक खाना खाने गरेको उनले बताए । करुणालयमा हरेक महिनामा एक छाक, वर्षमा ५÷६ छाक खाना खुवाउने अग्रिम बुकिङसमेत हुने गरेको उनले बताए ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले समितिले सञ्चालन गरेको केन्द्रमा १ सय १० जनाले वर्षको एकदिन खाना खुवाउनका लागि नाम लेखाइसकेको र अक्षयकोषमा ८ लाख रुपैयाँ पुगेको बताए । पछिल्लो समय सेवाको भावना बढ्दो भएका कारण वृद्धाश्रम सञ्चालन सहज बन्दै गएको उनले बताए ।
समितिको वार्षिक १० लाख रुपैयाँ हाराहारीको बजेट वृद्धाश्रम सञ्चालनमा आउने गरेकोमा त्यसले नपुग हुँदा समस्या हुँदै गएको थियो । खाद्यान्न किन्न नपरेपछि कर्मचारीलाई तलब मात्रै खुवाउन पर्दा वृद्धाश्रम सञ्चालन सहज बनेको उनले बताए ।
वृद्धाश्रममा विभिन्न कारणबाट वृद्धवृद्धा आउने गर्दछन् । घरपरिवारका सदस्य नभएर विचल्लीमा परेका केन्द्रमा आउने गरेका छन् । नजिकको नातेदार नभएको र सामान्य सम्पत्ति भएका एवम् वार्षिकरुपमा केही खर्च गर्न सक्ने रोटरी करुणालयमा आउने गरेका छन् ।
छोराछोरी बाहिर रहेका, हेरचाह नपुगेका, पुण्यभूमिमा बस्न चाहने एनआरएन वृद्धाश्रममा आउने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले बताए । पवित्र भूमि भएकाले जीवनको अन्तिम समय देवघाटमा बिताउन चाहने यहाँ आउने गरेको उनको भनाइ छ । वृद्धाश्रममा रहेका देशका विभिन्न क्षेत्रबाट आएका छन् ।
प्रतिक्रिया