चलचित्र कथाजस्तो जीवनकुमारीको जीवन

‘मलाई पन्छाएको पो रै’छ,’ जीवनकुमारी भन्छिन्, ‘दुबईमै अर्की भोजपुरतिरको केटी बिहे गरेछन् ।’ पहिले नै शंका लागे पनि बिहे नै गर्छन् भन्ने जीवनकुमारीलाई लागेको थिएन । दुबई गएर फर्कने गाउँका देवरहरूबाट त्यसको सुईंको पाएको उनी बताउँछिन् । भन्छिन्, ‘मलाई त अलिअलि सम्बन्ध मात्र भन्ने लागेको थियो । पछि पो थाहा भयो । आखिर बिहे गरेरै छाडेछ ।’

Exif_JPEG_420

जीन्दगीमा यस्तो पनि मोड आउँछ भन्ने कल्पनै थिएन जीवनकुमारीलाई । खोटाङको उत्तरी भेगलाई जिल्लामा ‘उभोखोला’ भनिन्छ । उभोखोलाकै फेदीको बनपाखा, उकाली–ओरालीमा घाँसदाउरा, गोठाला–खेताला, अर्मपर्ममै बाल्यकाल बिताइन् जीवनकुमारी राईले । फेदी–३ की उनले गाउँमै सञ्चालित स्कुलमा ५ कक्षासम्मको पढाइ पूरा गरिन् । घरकी ठुली छोरी जीवनले ५ कक्षाबाट नै पढाइलाई थन्काइन् । उमेर छिमल्दै गरेकी जीवनकी फेदी–४ का दामल मिल्ने बिन्दुजीत तामाङसँग पिरती बस्यो । उनीहरूले पिरतीलाई विवाहमा परिणत गरे ।

कृतिम हाँसो हाँस्ने चेस्टा गर्दै जीवनकुमारीले विगतका मीठा पलहरू खोलिन्– ‘रमाइलो नै थियो ती दिनहरू, खुसी थियौँ, १ वर्षमा छोरी जन्मिइन्,’ जीवनकुमारी ‘फ्ल्यासब्याक’मा थिइन्, ‘सुख–दुःख चल्दै नै थियो तै पनि ऊ विदेश जाने भयो, एक वर्षसँगै बसेपछि ऊ दुबई गयो ।’ दिक्तेल भवनगैरास्थित सुरक्षित आप्रवासन परियोजना(सामी) र जनसेवा समाज नेपाल जालपाको साझेदारीमा सञ्चालन भएको वैदेशिक रोजगारसम्बन्धी सूचना केन्द्रमा भेटिएकी उनी विगतमा थिइन्, ‘उसले दुबई गएपछि पैसा पनि ठीकै कमाउन र पठाउन थाल्यो, उसले पठाएको पैसाले संखुवासभाको तुम्लिङटारमा जग्गा पनि किन्यौँ ।’ विवाह दर्ता गराएको र नागरिकता पनि पतिकै नामबाट निकालेकी छन् जीवनकुमारीले । तर, जग्गा ससुुराको नाममा पास गराएको उनले खुलाइन् ।

बिन्दुजीत विदेशबाट आए अनि फेरि गए । उनीहरूको छोरो पनि जन्मियो । यतिबेलासम्म सुखी र शान्त पारिवारिक वातावरणले उल्टो गति लिन थालिसकेको थियो । जीवनकुमारीलाई आफ्ना पति बिस्तारै परिवर्तन हुँदै गएको महसुस हुन थालेको थियो । पतिले छोराछोरी तथा घरपरिवारबारे बेवास्ता गर्न थाले । थोरै–थोरै गर्दै खर्च पठाउन त बन्द गरे, फोनमा कुरा गर्दासमेत च्याँठिन थाले । जीवनकुमारी भन्छिन्, ‘पहिले त राम्रै कुराकानी हुन्थ्यो, राम्रै सल्लाह हुन्थ्यो । पछि खै के भयो । यस्तै हुन लेखेको रै’छ ।’ उनी थप्छिन्, ‘एक्कासी विदेश जा ! पो भन्न थाले ।’

पति पनि विदेशमै रहेको र आफू पनि विदेश जाँदा बालबच्चाको बिचल्ली हुने भएकाले जीवनकुमारीले विदेश जान अस्वीकार गरिन् । ‘मान्छे चार महिनाको नानी छोडेर त पैसा कमाउन विदेश आएका छन् । तँ चाहिँ मैले कमाएको खाँदै बस्छेस् ?,’ पतिले गाली गर्दै भन्थे, ‘अबदेखि तँ तेरो लागि आफैँ कमा, म मेरो लागि ।’

जति सम्झाए पनि केही सीप नलागेपछि जीवनकुमारी आफैँ पैसाको जोहो गरेर लागिन् मलेसिया । उनले आफ्ना अबोध नानीहरू आफन्तको हातमा छाडिन् । मलिन स्वरमा जीवनकुमारी भन्छिन्, ‘नानीहरू अरूको हातमा सुम्पिएर नचिनेको अन्जान देशमा लाग्दा मेरो मन कति रोयो, मुटु कस्तो भयो, जत्तिकै होला मनमा छ ।’

पत्नीलाई विदेश पठाउनुको मुख्य ध्याउन्न पैसा कमाओस् अनि आफ्नो परिवारको भविष्य बनोस् भन्ने थिएन, बिन्दुजीतको । उनी त पत्नीलाई आफूबाट पन्छाएर अर्की बिहे गर्ने सुरमा रहेछन् । ‘मलाई पन्छाएको पो रै’छ,’ जीवनकुमारी भन्छिन्, ‘दुबईमै अर्की भोजपुरतिरको केटी बिहे गरेछन् ।’ पहिले नै शंका लागे पनि बिहे नै गर्छन् भन्ने जीवनकुमारीलाई लागेको थिएन । दुबई गएर फर्कने गाउँका देवरहरूबाट त्यसको सुइँको पाएको उनी बताउँछिन् । भन्छिन्, ‘मलाई त अलिअलि सम्बन्ध मात्र भन्ने लागेको थियो । पछि पो थाहा भयो । आखिर बिहे गरेरै छाडेछ ।’

बिन्दुजितले फोन गरेर जीवनकुमारीलाई तुरुन्त घर छाडेर आफ्नो बाटो लाग्न धम्की दिइरहन्छन् । उनी सुनाउँछिन्, ‘कहिल्यै फर्कंदैनस् भनेर विदेश पठाएको कसरी फर्किस् ? अब तुरुन्त घर छाडिदे पो भन्छ ।’ मलेसियामा दुःख र समस्याको जन्जिरमा नराम्ररी जेलिएर फर्किएको जीवनकुमारी सुनाउँछिन् । भन्छिन्, ‘मेरोजस्तो कहानी त कसैको नहोला । कसरी सुनाइसक्नु त्यति लामो कहानी ?’

‘बारम्बार डिभोर्स दिएर जा !’ भन्ने जीवनकुमारीका पति आफैँ भने नेपाल आएका छैनन् । ‘डिभोर्स दे अनि थपक्क घर छाडेर तेरो बाटो लाग् ! कानुनले भ्याए जति सम्पत्ति दिन्छु’, पतिले फोनमा भन्ने गरेको शब्द सुनाउँछिन् जीवनकुमारी ।

जीवनले पनि डिभोर्सको प्रक्रिया बुझिन् । तर, दुवै जना नभई अदालतले डिभोर्स नगरिदिने भएकाले झन्झट भइरहेको उनको अनुभव छ । ‘अब त यो सम्बन्ध कसरी सुध्रन्छ र ? आफैँ दुःख–सुख बाँच्छु,’ उनी भन्छिन्, ‘१० वर्ष भइसक्यो सम्बन्ध बिग्रेको, उसले बेवास्ता गरेको, १० वर्ष भनेको त एक जुग हो नि !’

अब जीवनकुमारीले मलेसियाको कथा सुनाउन थालिन्, ‘काबु भएँ म, जुन देश गए पनि तालिम नलिई र भाषा नसिकी त जाँदै जान्नँ, दुःख पाइयो, लास्टै धोका पाइयो ।’ काठमाडौं नै एकैपटक मात्र गएकी जीवनकुमारीलाई मलेसिया पुग्दा अर्कै लोक पुगेजस्तो लागेको थियो । म्यानपावरले भनेजस्तो सेवा सुविधा पनि पाइनन् जीवनकुमारीले । ‘मैनाको ९ सय भनेर पठायो तर ५ सय मात्र दिने रहेछ, मलाई त झुक्याएको पत्तै भएन’, जीवनकुमारीले भनिन् ।

उनीलाई तालिम नलिई र भाषा नसिकी गएकोमा ठूलो पश्चात्ताप छ । ‘तँलाई मार्छु भन्दै छ कि, तँ राम्रो इमानदार छेस् भन्दै छ कि के हो, के हो ? भाषा नजानेपछि के लाग्दोर’छ र ! जे काम लायो अनुसारको भरमा गरिन्थ्यो ।’ जीवनकुमारीलाई विदेश जानुअघि अनिवार्य रूपमा अभिमुखीकरण कक्षा लिनुपर्छ भन्ने पनि थाहा थिएन । न त उनलाई म्यानपावरले नै जानकारी दियो । ‘मलाई त के थाहा र कस्तो मेनपावर, कस्तो काम, कस्तो देश ? झुटो पेपरहरू पनि दिएको रै’छ त्यो पनि लगियो,’ जीवनकुमारी थप्छिन्, ‘आफू त लाटी आजकाल जतिको पनि थिइनँ ।’

उनी फेरि एकपटक वैदेशिक रोजगारीमा जाने तयारीमा छिन् । पतिसँग त्यस्तो भइसकेपछि छोराछोरीको भविष्यको लागि भए पनि एकपटक विदेश जाने सोचले एमआरपी बनाउन आएकी जीवनकुमारी दुबई जाने सोचमा छिन् । ‘पहिले अन्जानमा केही नबुझी गए पनि अबचाहिँ भाषा सिकेर, तालिम लिएर केही बुझेर मात्रै जान्छु’, जीवनकुमारीले भनिन् ।

जीवनकुमारीका छोरा १ कक्षामा र छोरी ७ कक्षामा पढ्दै छन् । १३ वर्षीया छोरी मामाघर (जीवनकुमारीको माइती)मा बस्छिन् । र छोरा चाहिँ सानीआमा (जीवनकी बहिनी) कहाँ बसेर पढ्दै छ । जीवनकुमारी विदेश हुँदा उतैबाट खर्च पठाइदिने गर्थिन् । ‘नानीहरूले त ममी जहाँ जाने म पनि त्यहीँ जान्छु भन्छन्’ जीवनकुमारी भन्छिन्, ‘पहिले नै काबु भएछन्, सानैमा नै छोडेर हिँडियो अहिले त झुक्याएर हिँडेको ।’

प्रतिक्रिया