आफूलाई आक्रमण गरेर जिन्दगीभर अपांग बनाउनेप्रति माया होइन घृणा हुनुपर्ने हो । चितवनको पश्चिम क्षेत्र पटिहानीका स्थानीयवासी भने ठीक त्यसविपरीत छन् । आफूलाई आक्रमण गर्र्ने वन्यजन्तुकै संरक्षणमा लागेर पीडितहरूले नमुनाको काम गर्दै आएका छन् ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको घट्गाईंकी ५५ वर्षीया मिठूमाया क्षत्रीलाई ०६५ साल २ फागुनमा भालुले चिथो¥यो । भालुको आक्रमणबाट उनी सख्त घाइते भइन् । साथीहरू परै भएकाले उनको चिच्याहट कसैले सुनेनन् । ठूलै संघर्ष गरेर उनी भालुबाट जोगिइन् । केही समयपछि मात्र साथीहरूले उनलाई अनुहार नचिनिने गरी विक्षिप्त अवस्थामा लडिरहेको फेला पारे ।
८ वर्षअघि त्यो कहालीलाग्दो दिन सम्झँदा मिठूमाया अहिले पनि भक्कानिन्छिन् । भालुको आक्रमणबाट पीडा भोग्नुपरे पनि त्यसैको संरक्षणमा अहिले उनी अहोरात्र खटिएकी छन् । वन्यजन्तु संरक्षणको महत्व राम्रोसँग बुझेकी मिठूमाया भन्छिन्, ‘ममा कुनै बदलाभाव छैन ।’
साथीहरूकै सहयोगमा भरतपुर अस्पतालमा ल्याएर उनको उपचार गरियो । १ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्दा पनि उपचार राम्रो नभएपछि सेनामा कार्यरत छोराको पहलमा काठमाडौँस्थित छाउनी अस्पतालमा उपचार हुनसक्यो । निको त भयो तर कहिल्यै नमेटिने दाग रह्यो ।
उनको पहिलाको रूप र शक्ति अब रहेन । माथिल्लो बंगारासहित कुनै पनि दाँत बाँकी छैनन् । अहिले उनी कृत्रिम दाँतको सहारामा अस्पष्ट बोल्छिन् । ‘हात भालुले टोकेर भाँचिदिएकाले राम्ररी काम गर्न सक्दिनँ’, मिठूमाया भन्छिन् । ‘भालुले मेरो ज्यानै लिन खोज्यो, भोलि गैँडाले पनि आक्रमण गर्ला तर जंगली जनावरप्रति कुनै बदला लिनु छैन,’ मिठूमायाले गर्वका साथ भनिन्, ‘जंगली जनावर हाम्रा सम्पत्ति हुन् । त्यसैले यिनको संरक्षणमा सकेको लाग्छु र अरूलाई पनि यसै गर्न भन्छु ।’
उनी जस्तै गैँडाको आक्रमणबाट घाइते भएका दुर्गा शर्मा पनि अहिले संरक्षणमा लागेकी छन् । ‘उनीहरूको क्षेत्रमा गए आक्रमण गर्ने हो,’ दुर्गाले भनिन्, ‘उसलाई चलाउनु भएन । बरु संरक्षण गरेर पर्यटक आकर्षित गराई गाउँमा विदेशी पैसा भित्र्याउन सबै एक हुनुपर्छ ।’
जनावरबाटै पीडित भएर पनि वन्यजन्तु संरक्षणमा लागेकी मिठूमाया र दुर्गा मात्रै होइन । उनीहरूजस्तै छिमेकी इन्द्रदेव तिवारी, सरस्वती तिवारी र बलभद्र पौडेल पनि गैँडा र भालुको आक्रमणबाट घाइते भएकाहरू हुन् ।
निकुञ्जमा खरखडाइ र घाँस काट्न जाँदा उनीहरू वन्यजन्तुको आक्रमणमा परेका थिए तर अहिले वन, वातावरण र वन्यजन्तु संरक्षणमा उनीहरूबाट अमूल्य योगदान हुँदै आएको छ । पटिहानीका नरबहादुर मगर र भांग्रे कामीले गैँडाको आक्रमणबाट ज्यानै गुमाए । पटकपटक उनीहरूका परिवार विचलित नभई वन्यजन्तु संरक्षणमा लागिरहेका छन् । पीडितहरूमा अहिले उदार भाव पैदा भएको छ । वन्यजन्तुलाई अमूल्य गहनाका रूपमा उनीहरू परिभाषित गर्छन् ।
जनावरको बुद्धि हुन्न, आक्रमण गर्छन्, हामी मानिसको बुद्धि हुन्छ । यिनको संरक्षण गर्न सकियो भने हामीलाई रोजगारी र आयआर्जनको अवसर मिल्छ र फाइदा हुन्छ । पीडितहरू यही भाव लिएर संरक्षणमा लागेका पटिहानीका एकजना संरक्षणकर्मी अपिल घिमिरे बताउँछन् ।
वन्यजन्तुको आक्रमणबाट मात्र चितवन निकुञ्ज वरपरका गाउँका कम्तीमा ४–५ जना र बढीमा १५ देखि २० जना बासिन्दाको बर्सेनि मृत्यु हुने गरेको छ । बर्सेनि २०–३० जनाभन्दा बढी घाइते हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा गएको वर्ष वन्यजन्तु आक्रमणमा परी ९ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।
त्यसको अघिल्लो वर्ष ०७१ सालमा १० जनाको मृत्यु र ६ जना घाइते भएको तथ्यांक छ । यहाँ वन्यजन्तुले बर्सेनि सयौँको घर गोठ र खेतीबाली नष्ट गर्दै आएको छ । तर, स्थानीयवासीमा प्रतिशोध भन्दा पनि संरक्षणको भाव बढ्दो रहेको चितवन निकुञ्जको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न नदिन विभिन्न प्रयास जारी रहेको बताउँछन् । मेस जाली, सौर्य तारबार, निकुञ्जभित्रै घाँसै मैदान तथा विभिन्न उपाय अपनाएर आक्रमणका घटना कम गर्ने र संरक्षण प्रभावकारी बनाउने काम भइरहेको कँडेलको भनाइ छ ।
स्थानीय जनताको प्रशंसा गर्दै निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन्, ‘वन्यजन्तु चोरी तस्करीका घटना विगत ७ सय ५० दिनदेखि शून्य हुनु पनि स्थानीय जनताको सक्रियताको परिणति भएको हो ।’
चितवन निकुञ्जको राप्ती नदी किनार क्षेत्र पटिहानी र जगतपुर क्षेत्र अहिले पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेका छन् । उनीहरूकै सहभागितामा राप्ती नदी किनार सरसफाइ, पर्यावरण संरक्षण, वन्यजन्तुका लागि पोखरी निर्माणलगायत काम पटिहानीमा भइरहेको छ । गाउँलेहरू राप्ती किनारमा फालिएका पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल, प्लास्टिकलगायत फोहर उठाउन जुट्न थालेका छन् ।
वातावरण संरक्षण नगरे वन्यजन्तुको संरक्षण हुँदैन, वन्यजन्तुको संरक्षण नभए पर्यटक आउँदैनन् । यही तथ्यलाई मनन गरेर संरक्षणमा सबै जुट्न थालेको स्थानीयवासी रामराज तिवारी बताउँछन् । २ छाक जोहो गर्न पनि धौधौ पर्ने विपन्न समदायका थारू, दराइँ, बोटे, माझी र वन्यजन्तु घाइतेलगायतको पहलमा आफ्नो गाउँमा वन्यजन्तुको संरक्षण र पर्यटन प्रवद्र्धन गर्न घट्गाईं चोकमा गैँडाको मूर्तिसमेत बनाइएको छ । मूर्ति स्थापनाले मानव जाति र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणको सकारात्मक सन्देश जाने स्थानीयवासी दिलराम बोटेको विश्वास छ ।
निकुञ्जभित्रका जलचर तथा जनावरको जलक्रीडाका लागि ताल निर्माण अभियानमा समेत गाउँले अहिले सक्रिय छन् । वन्यजन्तु चरनका लागि राप्ती नदी किनारमा घाँस र वृक्ष रोप्ने कामसमेत सुरु गरिएको वातावरण तथा पर्यटन विकास समिति पटिहानीका अध्यक्ष अपिल घिमिरे बताउँछन् ।
संरक्षणकर्मी तिवारी अभिमुखीकरण र चेतनास्तर बढ्दै गएकाले घाइतेहरू नै वन्यजन्तु संरक्षणमा लागेको बताउँछन् । मृतक परिवार र घाइतेलाई निकुञ्जले निश्चित क्षतिपूर्ति दिने गरेको भए पनि त्यो नगण्य हुँदासमेत पीडितहरूले कुनै पर्वाह नगरी यहाँ उदाहरणीय काम गर्दै आएका छन् ।
सुक्न थाल्यो ताल
चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालहरू सुक्न थालेका छन् । निकुञ्ज भित्रकै २ वटा ताल सुकेका र अन्य तालमा समेत पानीको सतह अत्यधिक मात्रामा घट्न थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
मुख्यतः खडेरीका कारण ताल सुक्न थालेको हो । निकुञ्ज बाहिरको पर्यटकीय महत्व बोकेको र गैँडाको विचरण हुने वरन्डाभारमा रहेको राइने तालसमेत सुकेको छ । ‘विभिन्न तालको अवस्था हे¥यौँ, निकुञ्जभित्र वन्यजन्तुको चहलपहल हुने लघुना ताल र थपलिया ताल सुकेको पाइयो,’ अर्यालले भने, ‘अन्य तालको सतह पनि नराम्ररी घटेको छ ।’
वन्यजन्तु प्रभावित नहोस् भनेर तालमा पानी ल्याउने प्रयास भएकोसमेत उनले बताए । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुका लागि अत्यावश्यक मानिने ताल पानीको अभावमा सुक्दै गएका छन् । भएका कतिपय ठूला ताल जलकुम्भी र करौँते झारले भरिएका छन् । अघिल्लो वर्ष नियमित रूपमा वर्षा हुँदा बाढीले ताल भरिएका थिए । तर यसपालि वर्षा नहुँदा ताल सुक्दै गएको निकुञ्जले जनाएको छ । जलवायु परिवर्तनको असरका कारण ताल विगतदेखि नै प्रभावित हुँदै आएको थियो । ताल प्राकृतिक रूपले नै खुम्ँिचदासमेत व्यवस्थापन गर्न सकिएको छैन ।
चितवन निकुञ्जको पानीको स्रोत चुरे क्षेत्र नै हो । चुरे क्षेत्रमा वन विनाश हुँदै जानु पनि ताल सुक्नाको अर्काे कारण भएको वातावरण विज्ञहरू बताउँछन् । वन र पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने निकुञ्जका प्रमुख रामचन्द्र कँडेल बताउँछन् ।
चितवन निकुञ्जमा मात्रै ५६ वटा महत्वपूर्ण तालहरू छन् । निकुञ्जमा अहिले तमोरताल, लामीताल, देवीताल, गरुड ताल, कमल ताललगायत महत्वपूर्ण ताल छन् । यी तालमा पनि माटोको सतह बढेर पुरिँदै जाने अवस्था रहेको निकुञ्जले जनाएको छ । यहाँका सामुदायिक वन क्षेत्रका तालसमेत सुक्दै गएपछि कृत्रिम ताल विगतका वर्षदेखि नै बनाइँदै आइएको थियो तर त्यो प्रभावकारी बन्न सकेको छैन । तालमा मुख्यगरी गैँडा रमाउँछ । अन्य जनावर पानी खान तालमा पुग्छन् । गोहीको मुख्य बासस्थान निकुञ्ज भित्रका ताल हुन् ।
प्रतिक्रिया