गएको पाँच वर्षदेखि हिंसाको चपेटमा परेको सिरिया र लगभग यस्तै हालत भोग्न बाध्य यमनमा शान्ति वार्ता थाल्न नै गाह्रो भएको छ । यी दुवै देशमा युद्धविरामको करिब दुई महिना नाघिसकेको छ । तर विद्रोहीसँगको शान्तिवार्ता झनभन्दा झन् कठिन बन्दै गएको छ ।
सिरियामा गएको फेब्रुअरी २७ बाट युद्धविराम भएको हो । उक्त दिनको मध्यरातिबाट सुरु भएको युद्धविरामले आजका मितिसम्म आइपुग्दा दुई महिना नाघिसकेको छ । तर वार्ताको सार्थक थालनी नै हुन सकिरहेको छैन ।
उता यमनको हालत पनि त्यस्तै छ । यमनमा सरकार र विद्रोही शान्तिवार्ताका लागि तयार भए र गएको अप्रिल महिनाको १० तारिखदेखि त्यहाँका विद्रोही युद्धविराम गर्न तयार भएका थिए । आजका मितिसम्म पनि यमनमा युद्धविराम भङ्गको कतैबाट कसैले प्रयास औपचारिक घोषणा गरेको छैन । अर्कातर्फ वार्ताको प्रयासले मुर्त रूप लिन पनि सकिरहेको छैन ।
सिरियामा गृहयुद्ध सुरु भएको पनि चार वर्ष पूरा भएको छ । सन् २०११ को मार्च महिनाबाट सिरियामा विपक्षीहरूको आन्दोलन सुरु भएको थियो । राष्ट्रपति बसर अल असदको राजिनामाको माग गरी सुरु भएको सो आन्दोलनको अनुसरण त्यस समय अरू मध्यपूर्वी राष्ट्रहरूले पनि गरे । कतिपय देशमा प्रजातन्त्र आयो र दिगो बनेको छ भने कतिपयमा भने एकाध वर्षको यो राजनीतिक प्रणालीपछि पुनः अर्काे नयाँ नामको निरङ्कुशताको चरणमा प्रवेश गरेको छ । तर, शान्ति र प्रजातन्त्र कतै छैन । आएको पनि दिगो भएन । अरब वसन्त नाम दिइएको सो आन्दोलनपछि यमनमा त प्रजातन्त्र आयो । नागरिकले आन्दोलनको सार्थकता पनि एकाध वर्षका लागि महसुश त गरे । तर यसले झनठूलो हिंसाको जन्म लियो ।
अहिले यमनका नागरिक हिंसाको शिकार बनेका छन् । इरान सहयोगको हुथी विद्रोही समूहका कारण पछिल्लो समयमा यमनमा कैयौँ नागरिकको ज्यान लिएको छ । सिरियामा लामो युद्धपछि दुई लाख भन्दा बढीको ज्यान गएको छ । यसका हितैषि राष्ट्रहरूको सूची त बनेको छ तर पनि ती राष्ट्रको पहलबाट शान्ति स्थापना हुने देखिएको छैन । लामो सयमसम्म हिंसाको चपेटामा परेपछि सिरियाका विषयमा संयुक्त राज्य अमेरिका र रसियाको चासो बढ्यो । उनीहरूकै प्रयासमा यतिखेर सिरियामा युद्धविराम भएको छ ।
यी दुई देशको अगुवाईमा सिरियामा युद्धविराम त भयो तर पनि दुवै पक्षलाई वार्ताको टेबलसम्म ल्याउन भने अझै सम्भव भएको छैन । जेनेभामा यसको सुरुवातका लागि यी दुवै देशमा प्रयत्न गरेका छन् । गत हप्ता फेरि अर्काेपटक जेनेभामा वार्ताको प्रयासस्वरूप विपक्षी र सरकारी प्रतिनिधि पुगेका थिए । तर विपक्षीहरूले वार्ताका लागि सिरियाली राष्ट्रपति बसर अल असद सत्ताबाट हट्नुपर्ने माग अघि सारेका छन् । तर, असद अहिले नै हट्न चाहन्नन् । जसले गर्दा वार्ता नै सुरु हुन सकेको छैन ।
गत बुधबार मात्र अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न चेतावानी दिनुभयो । उहाँ शान्ति वार्ताको वातावरण निर्माणका लागि भन्दै बर्लिन पुग्नुभएको छ । बर्लिनमा नै उहाँले भन्नुभयो– वार्ताका लागि परिस्थिति बनेको छ, पछिल्लो समयमा विकसित युद्धविरामको अवस्थामा नै वार्ताका लागि पहल भएन भने यसको परिणाम पनि नराम्रो हुनसक्छ ।
स्पष्ट भाषामा भन्न नसकेपनि उहाँको आसय थियो यस पटक पनि सिरियाका बारेमा सहमति बनेन र सार्थक वार्ता सुरु हुन सकेन भने यसको परिणाम अत्यन्तै गम्भीर हुने छ । उहाँका अनुसार अब फेरि अर्काेपटक वार्ताको लागि यतिसम्मको परिस्थिति मिलाउन नै निकै कठिन सिद्ध हुनेछ । उता विपक्षी र सरकारी पक्षको विवादका कारण सिरियामा वार्ता सुुरु हुन नै समय लागिरहेका बेला यता अलेपो सहरमा हिंसा भड्किन थालिसकेको छ ।
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन् । गत अप्रिल २२ देखि सिरियाली अलेपो सहरमा सुरु भएको सो हिंसामा परी करिब ३०० जनाको ज्यान गएको छ । सिरियाका अरू भागमा भने युद्धविरामको अवस्थामा त्यति हिंसा भएको समाचार आएको छैन ।
अमेरिकी विदेशमन्त्री केरीले बर्लिनमा गत बिहीबारमात्र सिरियाली विदेशमन्त्री, सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि र सिरियाली विपक्षीहरूका नेतालाई भेटेर शान्ति वार्ताको थालनी गर्न आग्रह गरेका छन् । उनले अलेपोमा थप हिंंसा भड्काउने काममा सरकारी सुरक्षाफौज नै सक्रिय रहेको पाइएको भन्दै यसका कारण परिस्थिति थप जटिल बन्न पनि सक्ने खतरा रहेकोमा सबैको ध्यानाकर्षण पनि गराएका छन् ।
सिरियमा हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवं सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५ सय बालबालिका र करिब ९ हजार महिला रहेका छन् ।
सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् । युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएकोले सिरियामा वार्ताको विकल्पमा पनि अभिव्यक्तिहरू आउन थालेका छन् । विश्व समुदायले सिरियमा पुनः हिंसा भड्किई युद्धविराम उल्लंघनको अवस्था आउने हो कि भन्ने विषयमा चिन्ता व्यक्त गरिरहेका बताइएको छ । उता यमनको हालत पनि यस्तै छ । यमनी वार्ताका लागि भन्दै कुवेतमा सबै पक्ष भेला भएका बेला यमनी उत्तरी नगरमा भड्किएको हिंसा हुथी विद्रोहीका कारण भएकोले वार्ताको कुनै अर्थ नरहेको भन्दै सरकारी पक्षले यसै हप्ता एकलौटी रूपमा वार्ता भंगको घोषणा गरेको थियो । तर, संयुक्त राष्ट्रसंघीय प्रतिनिधि र साउदी अरेबियाका विशेष दूतको विशेष पहलमा सरकारी पक्ष वार्तामा बस्न भने तयार भएका छन् । तर शनिबारसम्ममा वार्ताको भरपर्दाे वातावरण बन्न सकेको अवस्था भने देखिँदैन । यस देशको वार्ताको पहल साउदी अरेबियाले गरेको हो ।
हिंसाको निरन्तर चेपुवामा परेको सिरिया र बिचका एकाध वर्ष प्रजातान्त्रिक प्रणालीमा प्रवेश गरेर पनि सशस्त्र विद्रोहीको चपेटामा परेको यमनमा संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूका पहलहरू जारी नै छन् । तर शान्ति वार्ताका प्रयासले सफलता प्राप्त गर्न सकिरहेका छैनन् । यतिखेर विश्वका नागरिकले भने यी दुई देशमा शान्तिको स्थापना भई नागरिक मारिने क्रम रोकियोस भनी कामना गरिरहेका छन् ।
प्रतिक्रिया