वनै खायो डढेलोले

fireforecasts1सिन्धुपाल्चोकको करिब ४० प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको छ । लामो खडेरी र त्यससँगै जनतामा चेतनाको कमी र बुझेर पनि क्षति पु¥याउने हेपाहा प्रवृत्तिले गर्दा जिल्लाका अधिकांश वन जंगलमा दिनहुँ डढेलोको दृश्य देखिन थालेको छ । यसै क्रममा जिल्लामा पहिलो पटक डढेलो लगाउने २ जना पक्राउ परेका छन् । स्याउले गाविस–२ का उद्धव कार्की र ८ का मेखबहादुर कुँवरलाई विशेष सुराकीको आधारमा नियन्त्रणमा लिइएको जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले बताए । उनीहरूमाथि वनसम्बन्धी ऐनमा कसुरअनुसार सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयले दण्ड जरिवाना गर्नेछ । बिगो १० हजार रूपैयाँभन्दा माथिको कसुर ठहरिएमा अदालतले मुद्दाको किनारा लगाउने वन अधिकृत सापकोटाको भनाइ छ ।

वन कार्यालयका अनुसार गतवर्ष २५ प्रतिशत वन क्षेत्र डढेलोले सखाप पारेको थियो । जिल्लामा कुल २८ हजार हेक्टर सामुदायिक वन रहेको छ । यसवर्ष गत फागुनदेखि वैशाखको दोस्रो सातासम्म ४० प्रतिशत अर्थात ११ हजार २ सय हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परिसकेको छ । यो तथ्यांकले गतवर्षको अनुपातमा १५ प्रतिशत वृद्धि भएको देखाउँछ । जिल्लामा २ नगरपालिका र ६८ गाविस रहेको छ । पश्चिम क्षेत्रका हैबुङलगायत केही गाविस शिवपुरी जलाधार क्षेत्रभित्र पर्दछ । त्यस्तै पश्चिम तथा उत्तरका १ दर्जन गाविस लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने उत्तरपूर्वका लिस्ती तातोपानी र फुल्पिङकट्टी–३ गौरी शंकर संरक्षण क्षेत्रभित्र पर्दछ ।

झन्डै १ दर्जन गाविसका बुट्यान मात्र भएका वनलाई वन कार्यालयले डेढदशक अघिदेखि कबुलियत वनका रूपमा स्थानीयलाई सुम्पिसकेको छ । ४० वर्षका लागि स्थानीयलाई हस्तान्तरण गरिएका त्यस्ता वनलाई जोगाउने र वृक्षरोपण गर्दै लगिने र त्यहाँभित्रका जमिनमा आय आर्जन हुने खालका खेती गरिँदै आइएको छ ।

जिल्लाका वन नांगो डाँडामा परिणत भएपछि ४ दशक अघिबाट अस्ट्रेलियन सरकारको आर्थिक र प्राविधिक सहयोगमा अस्ट्रेलियन वन परियोजनामार्पmत वृक्षरोपण गरिएको थियो । त्यसरी गरिएको वृक्षरोपणबाट स्थानीय जातका साल, चिलाउनेभन्दा सल्ला जातको रुख बढी भएकाले डढेलोले चाँडो धेरै क्षेत्रमा फैलिएको विज्ञहरू बताउँछन् ।

हरेकवर्ष डढेलो लाग्दा हिमाली क्षेत्रमा पाइने चिराइतो, लौठ सल्ला, पाँचऔले, पाखनवेद, जटामसीलगायत जडिबुटीसमेत लोप हुँदै गएको भन्दै हिमाली भेगका बासिन्दाले गुनासो गरेका छन् । डढेलोबाट सदरमुकाम चौतारा आसपासका कुनै पनि वन बाँकी रहेका छैनन् । तल्लो भेगबाट लागेको डढेलो क्रमिक रूपमा बढ्दै गएपछि कार्यालय र वस्तीलाई समेत असर पुग्ने देखेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी रातको समयमा पनि आगो निभाउने प्रयासमा जुट्दै आएका छन् । ‘डढेलोले गर्दा वन क्षेत्र नजिकैका स्थानीयवासीलाई आतंकित तुल्याइरहेको छ’, प्रहरी नायबउपरीक्षक विश्व अधिकारीले भने ।

जिल्लामा हाल ५ सय १२ सामुदायिक वन उपभोक्ता समिति गठन भएको सामुदायिक वन उपभोक्ता महासंघ शाखाका अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । वन डढेलोले ठूला रुखलाई खासै असर नपारे पनि साना बोट विरुवा र जनावरलाई असर पुग्ने जिल्ला वन अधिकृत सापकोटा बताउँछन् ।

प्रतिक्रिया