काठमाडौं, २५ चैत । जगदीश्वर थापाले लेखेका तीन फिल्ममा अभिनय गरेकी रेखा थापालाई फिल्म लेखक थापाले असल निर्माता भएको टिप्पणी गरेका छन् । थापाकै लेखन रहेको दुई फिल्ममा अभिनय गरेपछि प्रभावित रेखाले ‘रामप्यारी’ लेखनको जिम्मा उनैलाई दिएका थिए । कथा लेखनको पाटोमा अरुभन्दा फरक शैलीका लेखक जगदीश्वरले निर्देशकको कुरा सुन्ने र उनीहरूको आशयअनुसारको स्क्रिप्ट तयार गर्ने गरेकाले पनि उनको लेखनमा खास खोट नपाइएको फिल्मकर्मीहरुले बताउँछन् ।
निर्देशकलाई अनावश्यक हस्तक्षेप गर्न दिन्नन् । जगदीश्वरले भने, ‘पहिला उनीहरूको कुरा सुन्छु अनि लेख्छु तर, अनावश्यक हस्तक्षेप गर्न दिन्नँ, ।’ उनको यो शैली रेखालाई पनि मन परेको रहेछ । त्यसो त लेखकले समेत अन्य निर्माताको तुलनामा रेखालाई व्यावसायिक सोच भएकी नायिकाको रूपमा व्याख्या गर्छन् । उनले भने, ‘कुन दृश्यमा कस्तो अभिनय गर्नुपर्छ देखि नेपाली दर्शक के चाहन्छन् भन्नेमा समेत सचेत छिन् रेखा ।’ एक दशकदेखि स्क्रिप्ट लेखनमा सक्रिय थापा नेपाली फिल्म मौलिक हुनुपर्छ भन्ने मान्यता राख्छन् । यति हुँदाहुँदै पनि लेखक भनेको केवल एउटा टुल्स मात्रै हो । फिल्म कस्तो बनाउने अन्तिम निर्णय निर्देशककै हुन्छ । उनको अनुभवले भन्छ । पछिल्लो समय नेपाली लेखकलाई केही सजिलो भएको छ । उनलाई लाग्छ, अहिले नेपालमा तीन किसिमका फिल्म मन पराउने दर्शक छन् । दर्शकहरूको वर्ग विभाजन भएपछि लेखक र निर्देशकलाई धेरै सजिलो भएको उनको बुझाइ छ ।
‘अब पहिलाजस्तो कन्फ्युजन छैन । कुन वर्गका लागि सिनेमा बनाउने हो निर्देशकसमेत स्पष्ट भएर अघि बढ्न सक्छन,’ उनले भने । कुनै बेला यस्तो पनि थियो । कसका लागि फिल्म बनाउने निर्देशक अन्योलमा हुन्थ्यो, त्यही अन्योलता र अनुमानको भरमा लेखकले लेख्थ्यो भने कलाकारले पनि अन्योलतामै काम गर्थे । जगदीश्वर हाँस्दै भन्छन्, ‘अन्तिममा एउटा सिनेमा एउटा अन्योलको प्याकेज बन्थ्यो ।’ त्यस अर्थमा अहिले सजिलो छ । दर्शकहरू पनि तीन भागमा विभाजित छन् । कुन वर्गका दर्शकलाई हेराउने हो, तिनका चाहनालाई पूरा गर्ने योजना बनाए पुग्छ ।
प्रतिक्रिया