काठमाडौं, २२ चैत । लुम्बिनी सामुदायिक टेलिभिजनमा ‘माइला बासँग एकछिन’ नामक कार्यक्रम चलाउने विष्णु जी पाण्डे (माइला बा)लाई ठूलो पुत्र वियोग परेको छ । लगातार २ दिनको बीचमा आफ्ना काखको दुवै छोरा गुमाउन पुगेका उनी अहिले बुटवलमा रहेका छन् ।
शनिबार मात्र काठमाडौंमा आफ्नो ठूलो छोरालाई जलाएका उनले आइतबार सानो छोरालाई बुटवलको मगरघाटमा जलाउन बाध्य भएका छन् । उनी विक्षप्त छन् यतिबेला ‘सल्लाह गरेर एकैपटक गयौँ बाबु २ भाइसँगै बस्नु है,’ यस्तो आवाजमा पटकपटक बर्बराइरहेका छन् ।
सधैँभरि आफ्नो प्रस्तुतिबाट अरूलाई हँसाउने ‘माइला बा’का आँखामा आँशु थामिएका छैनन् । लामो समयदेखि ‘माइला बा’ नामले परिचित विष्णु जी पाण्डे र उनकी श्रीमती शोभा पछिल्लो ३ दिन २ छोराको वियोगमा विक्षिप्त छन् । काठमाडौंको पशुपति आर्यघाटमा जेठो छोरा स्वबिसनको अन्तिम संस्कार गरेका विष्णुले कान्छो छोरा किरणको आइतबार बुटवलमा अन्तिम संस्कार गरेका हुन् ।
यहि १६ चैतमा तातो दूधमा परेर गम्भीर घाइते भएका स्वबिसनको शनिबार बिहान साढे २ बजे उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । उनको शरीरको ४५ प्रतिशत भाग तातो दूधले पोलेको थियो । २ दिन यता ज्वरो र पखालाबाट बिरामी परेका किरणको पनि आइतबार दिउँसो बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको हो । स्वबिसन २ वर्ष ९ महिनाका थिए भने किरण भर्खर ७ महिना पुगेका थिए । रूपन्देहीको भलबारी निवासी पाण्डे परिवार एकदिनको फरकमा घटेका अकल्पनीय २ घटनाले शोकाकुल बनेको छ ।
दिनभरको जस्तोसुकै थकाई पनि साँझ २ छोराको आँखामा देखिने भोलिका सपनाले क्षणभरमै मेटिन्थ्यो । तर, २ दिनमै सबै सपना चकनाचुर भएका छन् । लुम्बिनी सामुदायिक टेलिभिजनमा ‘माइला बासँग एकछिन’ नामक कार्यक्रम चलाउने बिष्णुलाई यस क्षेत्रका मेला महोत्सवहरूमा पनि दर्शकहरूले उत्तिकै खोज्ने गर्छन् । केहि नेपाली चलचित्र र रक्तिम सांस्कृतिक अभियानका जनवादी गीतहरूमा अभिनय गरेका विष्णु पछिल्ला वर्षहरूमा भने टेलिभिजन र स्टेजमा धेरै देखिने गरेका छन् ।
प्रतिक्रिया