सचितको ‘माङखिम’ विमोचित

mangkhimकाठमाडौं, ६ चैत । लामो समयदेखि निरन्तर पत्रकारितमा कलम चलाइरहेका कवि तथा सञ्चारकर्मी सचित राईको ऐतिहासिक पुस्तक ‘माङखिम’को शनिबार विमोचन भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति बैरागी काइँलाले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बैरागी काइँलाले कृतिमाथि बोल्दै साहित्यलाई माध्यम बनाएर आफ्नो थातथलो बारेमा महिमागान गाउने खालको पुस्तक आएको बताएका छन् । उनले यो पुस्तकले पूर्वमा जन्मेका विशिष्ठ प्रतिभाहरुको बारेमा सबैलाई सार्वजनिक जानकारी दिलाउन सकेको भन्दै भविष्यमा मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सक्ने उपायसमेत यो पुस्तकले सुझाएको बताए । उनले भने, ‘यो कृति सचित राईले आँट गरे लेखेका छन् । यस्तो कृति तयार गर्न जोकोही लेखकले आँट गर्दैनन् न कि मैले पनि आँट गरिन ।’

यस्तै कार्यक्रमका अर्का वक्ता राष्ट्रगानका सर्जक कवि तथा लेखक व्याकुल माइलाले यो कृति कवि सचितको एक अध्याय रहेको बताएका छन् । उनले भने, ‘पुस्तकमा लेखकले आफ्नो अनुभव मात्र नभएर निकै मेहिनतका साथ अध्ययन तथा अन्वेषणसमेत गरेका छन् । त्यसैले यो कृति सरल, सहज र स्तरीय रहेको छ ।’ कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य श्रवण मुकारुङ, समालोचक तथा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वप्रमुख धरणीप्रसाद गौतम, सांसद एवं रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई, एकलाइने कविताका प्रवर्तक डम्बर पहाडीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली वाङमय प्रतिष्ठानले आयोजना गरेको थियो । पुस्तक प्रकाशन संयोजन इलाम समाज हङकङले गरेको थियो । सचितको यो पुस्तकमा १६ वटा निबन्धात्मक आलेख समेटिएको छ ।

प्रतिक्रिया