काठमाडौं, २२ फागुन । बलिउडका स्टार कलाकारमा देखिने स्टारडम अहिले नेपाली चलचित्रका चकलेटी नायक अनमोल केसीमा पहिलोपटक देखिएको छ । शनिबार काठमाडांैको गोपिकृष्ण हलमा पुग्दा अनमोलको क्रेज कुनै हलिउड र बलिउड कलाकारभैmँ देखिएको थियो ।
अनमोल दर्शक हलमा प्रवेश गरिसकेपछि पुगेकाले पनि वास्तविक भीड उनले पनि देख्न भने पाएनन् । अनमोल जसरी हल पुगे, त्यो साच्चै त्यो कुनै स्टार कलाकारमा देखिने शैली जस्तो थियो । सुरुमा नायक भूवन केसी कारबाट ओर्लिएका थिए । यसपछि, कालो कारमा ४ बडीगार्डको सुरक्षा घेराबाट अनमोल बाहिर निस्कदा, युवायुवती खुसीले कराएका थिए ।
उनलाई देखेपछि युवतीहरू आई लभ यू अनमोल भन्दै चिच्चाएका थिए । कतिपयले अनमोलसँग सेल्फी खिच्न नपाएकोमा खिन्नता पोखे । केही युवती त चलचित्र ड्रिम्सको पोस्टरमा रहेका अनमोलसँग तस्बिर खिचाइरहेको पनि देखियो । चलचित्रको पर्दामा जब अनमोल केसी देखिन्थे, हलमा ठूलो स्वरमा दर्शक कराउँथे । अनमोलको इन्ट्रीमा गोपीकृष्ण हलमा जुन आवाज सुनियो, त्यस्तो आवाज बलिउडका खान कलाकारको इन्ट्रीमा सुनिन्छ ।
अनमोलले पनि सुरक्षा घेराकाबीच आफ्ना फ्यानलाई अभिवादन गरे र केहीसँग सेल्फी खिचाए । यसपछि, सुरक्षा घेराकाबीच गोपीकृष्ण हलको बार्दलीमा पुगेर हाल हल्लाए । अनमोलको तस्बिर खिच्न र उनलाई हेर्ने युवायुवतीको भिड खुबै थियो दृष्य निकै रोचक देखिएको थियो । अनमोलले आफूलाई माया गरेकोमा फ्यानलाई धन्यवाद दिँदै झुकेर नमस्कार गरे । यसपछि, अनमोलले फ्यानलाई समेटेर आफ्नै मोबाइलबाट सेल्फी खिचे । करिब १० मिनेट गोपीमा बसेर काठमाडौंको बालाजुस्थित अष्टनारायण हल पुगेका यी युवास्टार त्यहाँ पनि घेरिए । उनी पुगेपछि अष्टनारायण हलमा चलिरहेको सो रोकिएको थियो । चलचित्र हेरिरहेका दर्शकमाझ पुगेर अनमोलले अभिवादन गरे र माया दर्शाए ।
नेपालमा कुनै पनि कलाकारले यसरी बडीगार्ड लिएर हिँडेको देखिँदैन । तर, छोटो समयमा नै उदाएका यी युवास्टारलाई सुरक्षा दिन ४ बडीगार्ड र प्रहरी तैनाथ थिए । ४ बडीगार्डले चेन बनाएर उनलाई घेरेका थिए । अनमोल गोपीकृष्ण हल पुग्नुअगाडि नै उनलाई सुरक्षा दिनका लागि प्रहरीको भ्यान हल पुगिसकेको थियो । शनिबार मात्र गोपीकृष्णका ४ हल बिहानदेखि बेलुकासम्म हाउसफूल देखिएको थियो । देशभरकै हलमा यस्तो रेकर्ड देखिएको हल सञ्चालकहरू बताउँछन् ।
प्रतिक्रिया