फूलसँगै फूल्न चाहन्छन् रविन

feature__01 (2) copyताप्लेजुङ, ९ फागुन । फूल मन नपराउने मानिस संसारमा विरलै होलान् । सजावट, उपहार र धार्मिक दृष्टिकोणले समेत महत्व रहेको फूल घरको शोभा बढाउने र वातावरणलाई हराभरा पार्दै सुगन्धित बनाउने एउटै पवित्र वस्तु हो । प्रकृतिमा विभिन्न प्रजातिका फूलहरू छन्, तिनै फूललाई आफूसँगै फूलाउँदै गरेका रविन राई अहिले २१ वर्षका भए । १४÷१५ को उमेरदेखि नै फूलसँग सहकार्य गरेका रविनले आफ्नो जीवन पुष्प व्यवसायमा बिताउने लक्ष्य राखेका छन् । ताप्लेजुङको नाङ्खोल्याङ–८ निवासी राईले अहिले आप्mनो घरको बगैँचामा थुप्रै प्रजातिका फूलहरू सजाएका छन् । धरान, इलामलगायत ठाउँबाट महँगो मूल्यमा विरुवा किनेर उनले बगैँचामा सजाएका छन् । विशेष गरेर जेरेनिम, क्याक्टस, गोदावरी, लालुपाते, सिरेनिया, पेट्रोनिया, एन्जेनियालगायत फूलहरू उनको बगैँचामा पूmलिरहेका छन् ।

फूल सबैले मन पराउने भएकोले उनका घर र फूलबारी देखेर सबै मोहित हुन्छन् । मानिसलाई छिट्टै आकर्षण गर्ने तथा घरको सजावट राम्रो देखिने र घरायसी वातावरणसमेत हराभरा हुने हुनाले फूलबारी बनाउनुले निकै महत्व राखेको उनको अनुभव रहेको छ ।

फूल फूलाएर सबैलाई आकर्षित गर्ने काम सहज भने पक्कै नभएको राई बताउँछन् । फूलका विरुवा रोपेर मात्र फूल फक्राउन सकिँदैन । मलजल र उचित स्याहार नभएमा फूल फूलाउन नसकिने राईको भनाइ छ । उनी भन्छन्, ‘फूलका विरुवामा किरा लाग्ने र फेद कुहिएर झर्नेलगायत रोगहरू समेत लाग्ने गरेको छ ।’ नियमित गोडमेल तथा सिँचाइ पु¥याउन सके मात्र फूलहरू राम्रो फस्टाउने उनी बताउँछन् । ‘फूल उत्पादनको लागि सबैभन्दा राम्रो पातपतिंगर कुहाएर बनाएको कम्पोस्ट मल नै उपयुक्त हुन्छ’ राई भन्छन् ।

ताप्लेजुङमा व्यावसायिक फूलका किसान नभएकाले पुष्प व्यवसाय आयआर्जनको दृष्टिकोणले राम्रो रहेको छ । ‘यहाँ फूलको माग पर्याप्त रहेको छ तर उत्पादन गर्न सकिएको छैन्, विशेष गरेर देशी विदेशी पर्यटकहरूले कृतिमभन्दा प्राकृतिक फूलको बुकी मन पराउने गरेको पाएको छु । विभिन्न औपचारिक कार्यक्रममा बुकी बनाएर उपहार दिन प्राकृतिक फूल नै उपयुक्त हुन्छ’ राई बताउँछन् ।

feature__01 (3) copyकिशोरावस्थादेखि नै फूलसँग माया गाँस्दै आएका रविनले आफू अब पुष्प व्यवसायमा लाग्ने बताए । केही महिनाअघि घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले दिएको तालिमले पनि उनलाई यो व्यवसायमा लाग्न थप प्रेरण दिएको छ । जीवनमा पहिलोपटक लिएको फूलखेती तालिमबाट उनले मौसम अनुसारका फूल रोप्ने तथा विरुवा रोप्ने तौर तरिका सिकेका छन् । उक्त तालिम मात्र पर्याप्त नभएकोले उनले घरेलुसँग अझै लामो फिल्डबेसको तालिमको मागसमेत गरेका छन् । अहिले घरआँगन, गमला र बगैँचामा मात्र सीमित रहेको फूलखेतीलाई आगामी दिनमा फूलको नर्सरी स्थापना गरेर व्यावसायिक जीवनको सुरुआत गर्ने राईको भनाइ रहेको छ ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्वको पुष्प व्यवसायले मानिसको आम्दानीमा सुधार हुनुको साथै वातावरणीय सन्तुलनलाईसमेत फाइदा पुग्ने देखिन्छ ।

प्रतिक्रिया