भट्टराईमाथि खनिए दाहाल

RAJESH DHUNGANA

काठमाडौं, १० फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणमा जुटिरहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि राष्ट्रद्रोहीको आरोप लगाएका छन् ।

एमाओवादी अध्यक्ष दाहालले सोमबार पार्टीका करिब २ हजार कार्यकर्ताका सामुन्ने करिब ४ दशकसँगै काम गरेका डा. भट्टराईमाथि राष्ट्रद्रोहीको आरोप लगाएका हुन् । एमाओवादीको काठमाडौं जिल्ला समितिले सोमबार प्रज्ञा भवनमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहालले डा. भट्टराई पार्टी परित्याग गरेर नयाँ शक्तिमा लाग्नु बुढेसकालमा सम्बन्ध विच्छेद गरेर नयाँ श्रीमती भित्र्याएजस्तै भएको बताए ।

डा. भट्टराईले संविधान जारी भएको एक सातापछि ९ असोजमा एमाओवादी पार्टी परित्याग गरेका थिए । एमाओवादी अध्यक्ष दाहालले पार्टी परित्याग गरेर डा. भट्टराईले वैचारिक र सैद्धान्तिक अपराध गरेको आरोप लगाए । उनले भट्टराई पिएचडी गरेका आधारमा नभई पार्टीमा गरेको योगदानका आधारमा प्रधानमन्त्री भएको भन्दै भट्टराईलाई बुद्धि नै नभएको नेताको संज्ञा दिए । उनले अहिले गरेको गल्तीको प्रायश्चित गरी भट्टराई भविष्यमा पुनः एमाओवादीमा फर्किने दाबी गर्दै एमाओवादीमा फर्किनुको साटो भट्टराईको स्थिति बलियो भए मुलुक नै सकिने बताए ।

डेढ घन्टा लामो मन्तव्यका क्रममा एमाओवादी अध्यक्ष दाहालले कार्यक्रममा उपस्थित कार्यकर्तालाई हँसाउने कामसमेत गरे । उनले अभिनेत्री करिष्मा मानन्धरको नाम आपूmसँग जोडिएको विषयदेखि संविधानसभाको पहिलो निर्वाचनका बेला एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालसँग तालमेलका लागि भएका छलफल र चुनावमा प्राप्त परिणामपछि आफू हौसिएको प्रसंग निकालेर कार्यकर्तालाई हँसाएका थिए । उनले पहिलो संविधानसभामा २ सय ४० सीट जित्दा ५ सय सीट जितेजस्तो अनुभव भएको र त्यो घमण्डले सबै पद गुमाउनुपरेको बताए । उनले अहिले सबैभन्दा ठूलो दल कांग्रेसको हालत पनि एमाओवादीको जस्तै भएको बताए ।

एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले २० प्रतिशतभन्दा बढी सीटमा तालमेल गर्न नमानेका कारण एक्लै निर्वाचनमा होमिएको एमाओवादी अध्यक्ष दाहालले बताए । उनले अघिल्लो संविधानसभामा नसोचिएको नतिजा आएकोले कार्यकर्तालाई बिर्सेर धर्ती नै छोडेका कारण पार्टी दोस्रो संविधानसभानिर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको बताए । 

उनले तेस्रो स्थानमा खुम्चिए पनि मुलुकको साँचो एमाओवादीको हातमा रहेको बताए । उनले मुलुकको साँचो एमाओवादीको हातमा भएकैले संविधान जारी गर्न कांग्रेसलाई सहमत गराउन तथा एमालेलाई प्रधानमन्त्री पद दिलाउन सकेको बताए । अध्यक्ष दाहालले २ वर्षभित्र पार्टीलाई फेरि एक नम्बरको बनाउने लक्ष्यका साथ सुदृढीकरण र पुनर्निर्माणको अभियान थालिसकेको भन्दै अहिलेकै अवस्थामा पार्टीले गाउँपालिकादेखि संघसम्म सबै तहका निर्वाचनमा उम्मेदवार उठाउन पनि नसक्ने बताए ।

दाहालले पार्टीलाई सबैभन्दा ठूलो दलका रूपमा उभ्याउनका लागि गणतन्त्र, संघीयता, समानुपातिक÷समावेशी, धर्मनिरपेक्षताजस्ता उपलब्धीबारे जनतालाई जानकारी गराउनुपर्ने बताए । उनले एमाओवादीका कारण नै उल्लिखित उपलब्धि सम्भव भएको भन्दै यस बारेमा जनतालाई राम्ररी बुझाउनसके कांग्रेस र एमाले जनताबाट पत्तासाफ हुने दाबी गरे ।

प्रतिक्रिया