सागमा ६० पदकको आशा

feature__1 (1) copy१२औँ सागको आधासमय सकिँदा नेपाल १ स्वर्ण पदकमा सीमित भएको छ । कुनै समय दक्षिण एसियाली पावरहाउस नेपालले उसुका सम्पूर्ण स्पर्धा सकिँदा १ मात्र स्वर्ण पदक जित्यो । यसै खेलमा १० रजत तथा एक कांस्य पदक नेपालको नाममा रह्यो । नेपाली खेलकुदको सबैभन्दा महत्वपूर्ण पाटो मार्सल आर्टको सवालमा उसुले धेरैलाई निराशा नै दिलायो । यसको आलोचना पनि धेरै भयो । काठमाडौंमा क्षतविक्षत नेपाली उसु प्रशिक्षकहरूले यत्रतत्र यसको आलोचना गरिसकेका छन् ।

उसुले स्वर्ण जित्न नसकेका कारण आलोचना भइरहेको समयमा पौडी पोखरीमा गौरिका सिंह छाएकी छिन् । उनले १ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर ब्याकस्ट्रोक, ४ सय मिटर फ्रिस्टाइलमा कांस्य जितेलगत्तै २ सय मिटर व्यक्तिगत मेड्लीमा रजत पदक जितिन् । लन्डनमा बसेर प्रशिक्षण गरिरहेकी गौरिकाको हकमा यो नै उनको अन्तिम लक्ष्य पक्कै होइन । १३ वर्षीया गौरिकाका अभिभावकले उनका लागि लामो योजनाको तय गरेका छन् ।

यस सागमा नेपालका लागि पहिलो पदक भारोत्तोलनले दिलायो । नेपालकी देवी चौधरीले सागको पहिलो पदक दिलाएकी हुन् । ढाकामा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुदमा पदकविहिन भएको भारोत्तोलन खेलमा नेपाल सुधारिएको देखियो । पाकिस्तान, भारत र श्रीलंकाका खेलाडी स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा विकासले रजत पदक जिते । स्न्याच सकिँदा विकास तेस्रो स्थानमा रहेका थिए । चौथो स्थानमा रहेका भारतीय खेलाडीसहित पाकिस्तानी र श्रीलंकाली खेलाडीले १ सय ४० किलो उठाउने प्रयास गर्दा त्यो प्रयासमा श्रीलंकाली खेलाडी मात्र सफल रहे । अन्य २ क्लिन एन्ड जर्कमा अयोग्य भएपछि विकासले रजत पदक जितेका हुन् ।

भारोत्तोलनका २ पदक तारादेवी पुन र जुनुमाया छन्त्यालले जिते । दुवैले तेस्रो हुने अर्का प्रतिद्वन्द्वी बराबरकै तौल उठाए पनि आफ्नो शरीरको वजन कम भएका कारण पदक जितेका हुन् । १४ वर्षअघि भारोत्तोलन खेल्न सुरु गरेकी ताराले सागमा यसअघि महिला स्पर्धा समावेश नगरिएका कारण पहिलोपटक पदक जितेकी हुन् ।

ब्याडमिन्टनकी नङ्शलदेवी तामाङ २ पदक जित्ने अर्की खेलाडी बनिन् । टिम इभेन्टमा कांस्य जितेकी उनी एकलमा पनि कांस्य जित्न सफल भइन् । सुमिना श्रेष्ठपछि सागको व्यक्तिगत स्पर्धामा कांस्य जित्ने उनी पहिलो नेपाली बनिन् । टेबल टेनिसमा नबिता श्रेष्ठ र एलिना महर्जनले कांस्य पदक जिते । भारतीय दबदबा रहेको आर्चरीमा प्रेमप्रसाद पुनले कांस्य पदक जिते ।

हालसम्म सकिएका खेलमा कुस्तीमा नेपालले २ कांस्य पदक जित्यो भने टेनिस र साइक्लिङमा कुनै पदक जितेन । खोखोमा महिला र पुरुष दुवै स्पर्धामा नेपालले कांस्य पदक जित्यो । भलिबल पुरुषमा पदकविहीन भयो भने महिलामा कांस्य पदक जित्यो । महिलामा कांस्य पदक जित्ने टोलीका ३ खेलाडी विनिता बुढाथोकी, मञ्जु गुरुङ र कोपिला उप्रेती १०औँ सागमा कांस्य पदक जित्दा पनि टोलीमा रहेका थिए ।
यसपटकको कांस्य पदकमा सबैभन्दा महत्वपूर्ण पदक हरि रिमाललको रह्यो । सबैभन्दा प्रतिस्पर्धात्मक र नेपालका लागि कठिन मानिएको एथलेटिक्समा उनले पदक जितेका हुन् । उनले ५ हजार मिटर दौडमा सफलता पाए । उनीबाहेक एथलेटिक्सका दोस्रो दिनको स्पर्धा सकिँदा अन्य कुनै नेपालीलले पदक जित्न सकेका छैनन्
नजितिकनै कांस्य

२ खेलमा भने नेपाललाई पदकको चिठ्ठा प¥यो । स्क्वासको महिला स्पर्धामा नेपालले कुनै खेल जितेन । तथापि सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने दुवै टोलीलाई पदक दिइने प्रचलनअनुसार नेपालले कांस्य पदक जितेको हो । नेपालले त्योभन्दा आश्चर्यजनक पदक भने हक्कीमा प्राप्त गरेको छ । महिला हक्कीमा नेपालले भारतसँग २४ गोल तथा श्रीलंकासँग १५ गोल खाएको थियो । तर, तीन टोली मात्र सहभागी भएका कारण नेपालले कांस्य पदक जित्यो ।

अबको सम्भावना

बाँकी रहेका खेलमध्ये फुटबलको महिला स्पर्धामा नेपाल र भारत स्वर्ण पदकका बराबर दाबेदार रहेका छन् । नेपाली टोलीका प्रशिक्षक ध्रुव केसीले भारत राम्रो टोली भएको स्वीकार गरे पनि आफ्नो टोली पनि सन्तुलित भएको बताएका छन् । पुरुष टोली पनि यस पटक बलियो प्रदर्शन गरिरहेको छ । नेपाल पुरुषमा पनि स्वर्ण पदकको दाबेदारको रूपमा प्रस्तुत भइसकेको छ ।

नेपाली जुडोले आधा दर्जज पदक ल्याउने निश्चत मानिन्छ । यसमा स्वर्ण पदकको संख्या कति रहने भन्ने अनिश्चित नै रहेको छ । तथापि टोलीका फुपू ल्हामु प्रमुख खेलाडी हुन् । उनका साथै लीला अधिकारी र रमेस मगर आशलाग्दा खेलाडी हुन् ।

तेक्वान्दोले आधा दर्जनभन्दा बढी पदक जित्ने निश्चित छ । तर, पहिलो स्थान कतिले पाउने अनिश्चित नै छ । तथापि ज्ञानी चुनारा मोहम्मद ओएस, निमा गुरुङ, रामबहादुर महत र सक्षम कार्कीलाई प्रमुख खेलाडीको रूपमा हेरिएको छ ।

बक्सिङमा पनि नेपालले आधा दर्जन पदकको हाराहारीमा पदक जित्ने सम्भावना प्रबल रहेको छ । यसमा स्वर्ण सम्भावना कमै रहेको बताइन्छ । तथापि दिनेस श्रेष्ठ, सरस्वती रानामगर र दीपक श्रेष्ठ फाइनलअघि भारतीय प्रतिद्वन्द्वी भेटिएनन् भने रजतका लागि लायक मानिन्छन् ।

एथलेटिक्स अनिश्चित रहेको छ भने ह्यान्डबल पदक जित्ने खेलको रूपमा रहेको छ । महिलामा पदक निश्चित छ । तर, रजत पदकसम्मको सम्भावना धेरैले आँकलन गरेका छन् ।
(तस्बिर ः सौजन्य पिजे क्लब)

प्रतिक्रिया