रिपोर्टरको डायरी : प्रहरी नै अराजक बनेपछि…

यो देशमा रक्षक नै भक्षक भएपछि यिनीहरूले दिने शान्ति सुरक्षा कस्तो होला ?
हामी जस्ता पेसाकर्मीको त यो हालत बनाउ“छन् भने सर्वसाधारण जनतालाई यिनीहरूले के गर्लान् ?

के कुनै निकायले मलाई न्याय देला ?

Bikram Rauniyar, Mahottariभदौ २१ गते सोमबार त्यस्तै साढे ४ बजेको समय हुँदो हो, जनकपुरको स्वर्गद्वारीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको थियो । त्यसअघि प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । प्रहरीले गोली, अश्रुग्याँस प्रहार गर्दै आन्दोलनकारीलाई तितरबितर पार्दै थियो । जनकपुरमा केही साथीसँग मेरो भेट भयो । त्यहाँको अवस्थाका कारण पत्रकारहरू असुरक्षित रहेको र बचेर काम गर्न उनीहरूले सुझाव दिए । यस्तो बेलामा प्रेस लेखेको ज्याकेट किन नलाएको भन्दै केही साथीलाई मलाई सोधे । उत्तर सहजै आयो ।

ज्याकेट लगाएको व्यक्ति प्रहरीको अग्रसूचीमा पर्छन् । केही दिनअघि पत्रकार र मानव अधिकारको टोलीलाई प्रहरीले घेरा हालेर कुटपिट र दुव्र्यवहार गरेका थिए । त्यसपछि सबै पत्रकारहरूले आफू अनुकूल सुरक्षित हुने उपाय अपनाउँदै सुरक्षित पत्रकारिता गर्दै थिए । पत्रकारको काम नै यही हो । अरू पेसामा जस्तो आफू सुरक्षित भएर यसमा पुग्दैन, फिल्डमा खटिनै पर्छ । पत्रकारिताको यही धर्म निर्वाह गर्न आफू सुरक्षित हुँदै केही तस्बिर खिच्न लागेँ । यही क्रममा प्रहरी र सशस्त्र प्रहरीको एक हुल जनकपुरको शिवचोकतिर बढ्दै थिए, जहाँ प्रदर्शनकारी थिए ।

म सुरक्षित हुन राजदेवी मन्दिरअगाडिको बाटो हुँदै, राममन्दिरको पछिल्लो गेट भएतिर सुरक्षित हुन लागेँ, त्यसबीचमा अन्य साथीहरू कता छुटे कता । लगत्तै प्रहरी र सशस्त्र प्रहरीको एक हुल त्यही गल्ली हुँदै अगाडि बढ्दै थिए । मैले आफू कार्यरत संस्थाले दिएको परिचय पत्र गलामा भिरेँ । प्रहरी र प्रदर्शनकारी भएतर्फ क्यामेरा पारेर सुरक्षित हुँदै केही तस्बिर खिच्न थालेँ । मेरै अगाडिबाट प्रहरी र सशस्त्र प्रहरी मार्चपास गर्दै प्रदर्शनकारीलाई तितरबितर बनाउँदै अगाडि बढ्दै थिए । मेरो नजिक आएपछि दुई प्रहरी जवानले आँखा तर्दै भने, ‘हाम्रो मात्र फोटो खिच्ने होइन है, प्रदर्शनकारीको समेत फोटो खिच ।’ म आफू सुरक्षित हुन एक औषधी पसलमा पुगेँ र त्यहीँ बसेँ । त्यसलगतै लगभग एक सय मिटर पर पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले औषधी पसलभित्रै पसेर प्रदर्शनकारी भन्दै कुटपिट गर्न थाले ।

लगत्तै म बाहिर निक्लेर फोटो मात्र के खिच्न लागेको थिएँ, एक हुल म भएतिर कुदेर आए । म सुरक्षित हुन पसलमा छिरेँ । एक जना प्रहरीले पछाडिबाट तानेर लौरोले हिर्कायो, हातले छेकेँ । फेरि अर्को प्रहरीले ‘तँ फोटो खिच्ने हैन’ भन्दै लौरो बजारे । म फेरि पसलभित्र छिर्न खोजेँ तर उनीहरूले पछाडिबाट क्यामेराको ब्याग ताने, एउटा प्रहरीले बन्दुकको कुन्दाले टाउकोमा प्रहार गरे । टाउको झनन भयो, म भुइँमा ढलेँ । त्यसबेला मैले प्रेस प्रेस भनेर चिच्याएँ । त्यो औषधी पसलको दाइ र अन्य छेउमा भएका केही पसलेहरूले समेत पत्रकारलाई कुट्यो भन्दै चिच्याए तर प्रहरीहरूले कुट्न छाडेनन्, भुइँमा लछारपछार पारे, जे पायो त्यसैले हिर्काए ।

म ढलेपछि क्यामेरा खोसे र भुईँमा पछारे । त्यसपछि क्यामेरालाई बन्दुकको कुन्दा र लौराले हानेर फुटाइदिए । पटक पटक पसलेहरूले प्रेसलाई कुट्यो–कुट्यो भन्दै हल्ला गर्न थालेपछि प्रहरी र सशस्त्र प्रहरीहरू छोडेर भागे । प्रहरीले ताकेर कुटे, त्यति दुःख लागेन । भुइँमा लछारपछार गरे, सहेँ तर क्यामेरा झिकेर भुइँमा बजार्दाचाहिँ मुटुको चाल नै बन्द भएजस्तै भयो । पछि गोजीबाट झरेको मोबाइलबाट साथीलाई फोन गर्न थालेँ । त्यही समयमा पसलका एक दाइ आएर उठाए । फुटेको क्यामेराको क्षतविक्षत भएका पार्टपुर्जा एक–एक गरी उठाउँदै, अँगालो हाल्दै घोप्टो परेर रुन थालेँ । ५ वर्ष पेट काटेर क्यामेरा किनेको थिएँ, त्यो पनि अब याद मात्रै बाँकी रह्यो । उठेर अलि पर आएँ । कुटपिटको पीडाले होला थचक्कै भुइँमा बसेँ । हिँड्न, चलमलाउन सकिनँ ।

त्यति बेलासम्म वरिपरि स्थानीयले घेरेर अवस्थाबारे सोध्दै थिए । पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, बिबिसीका पत्रकार बृजकुमार यादव दाइहरू आइपुग्नुभयो । आफू सुरक्षित महसुस गर्दै फुटेको क्यामेराका सामानहरू अँगालोमा कस्दै अस्पताल पुगेँ । अञ्चल अस्पतालमा सामान्य उपचार पछि करिब आठ बजे राती घर आइपुगियो घरमा सबैको रुवाबासी थियो, आमा एक कुनामा बसेर रुँदै हुनुहुन्थ्यो । दिदी पनी सुकसुक गर्दै पिठ्युँमा लागेको चोट हेर्न लाग्नुभयो । खाना खानेबेला टाउकोको चोटले गर्दा होला खाना चपाउन नै अप्ठ्यारो भयो । एक गाँस मुखमा हालेँ र नखाने भन्दै गाँस बिसाए, दुखाइ त अब सुरु भएछ । औषधी खाएँ तर टसमस केही भएन ।

सुत्ने प्रयास गरेँ निन्द्रा लागेन, क्यामेरा फुटाउँदाको दृश्य झलझली आँखामा घुमिरहेको थियो । मैले अन्तिम क्लिक ५ बजेर ६ मिनेटमा गरेको रैछु, साथीलाई पहिलो फोन गर्दा ५ बजेर १७ मिनेट गएको रहेछ, त्यसबिचमा प्रहरी र सशस्त्र प्रहरीले शरीरको कुनकुन भागमा हिर्काए, हिर्काए, अबेर रातीको दुखाइले मात्र थाहा भयो । निन्द्रामै अबेर राती सुतेकै ठाँउमा प्रेस प्रेस भन्दै चिच्याएछु, सायद त्यो घटनाले मेरो मनमुटुमा नराम्रोसँग बास गरेकाले होला, आधा रातमा उठेँ, आँसु झार्दै क्यामेराको झोला तानेँ, आफू सुत्ने सिरानी छेउमा राखेको थिएँ, फेरि क्यामेरा छामेँ, त्यसलाई मिलाउन जोड्न खोजेँ, अँह मिलेन, फेरि लामो स्वास तान्दै नीलडाम बसेको हत्केलाले आँसु पुछेँ र निदाउने प्रयास गरे ।

पिठ्युँमा बसेको कयौँ सुम्लाले निदाउन दिएन । शरीरभर नीलडाम र प्रहरीको बुटको छाप जस्ताको त्यस्तै थियो । टाउकोमा बन्दुकको कुन्दाले हानेको डाम अझै ताजै छ ।

प्रतिक्रिया