जहाँ फोटो देखाएर कम्प्युटर पढाइन्छ

computer_classविज्ञान र प्रविधिको विकासले विश्वले फड्को मारेको छ, नेपालमै पनि कम्प्युटरका माध्यमले पढ्ने र पढाउने प्रविधि चलनचल्तीमा आएको धेरै भयो । तर, हाम्रा ग्रामीण भेगका कतिपय विद्यालयमा अहिले पनि कम्प्युटर विषयको पढाइ कम्प्युटरको चित्र देखाएरै हुन्छ भन्दा अचम्म लाग्न सक्छ । यस्तै अवस्था आएको छ– काभ्रेका कतिपय विद्यालयमा ।

काभ्रेपलाञ्चोकको जनचेतना उच्च माध्यमिक विद्यालयले चित्र देखाएरै अध्यापन गर्ने गरेको छ । यो रहर होइन, त्यस विद्यालयको बाध्यता हो । विनाशकारी भूकम्प र त्यसपछि निरन्तर आएका पराकम्पनका कारण विद्यालयका कम्प्युटरहरु ध्वस्त हँुदा यो अवस्था आएको हो । ‘विद्यालयले उपलब्ध गराएका कम्प्युटरहरु भूकम्पमा परेपछि यतिबेला विद्यार्थीलाई कम्प्युटरको चित्र देखाएरै अध्यापन गराउने गरेका छौँ ।’ जनचेतना उमाविका प्रधानाध्यापक उमाकान्त त्रिपाठीले भने । उनले प्रयास नगरेका होइनन्, जिल्ला शिक्षा कार्यालयमा सम्पर्क राखे, विद्यालयको यथास्थिति जानकारी गराए तर त्यहाँबाट पहल हुने कुनै गुन्जायस देखेनन् । उनी भन्छन्, ‘जिल्ला शिक्षा कार्यलयमा पहल गर्दा पनि कम्प्युटर उपलब्ध गराउने वातावरण नै नभएको जवाफ आयो । त्यसपछि यस्ता विषयलाई चित्रका मध्यमबाट पढाउन थालेका हौँ ।’

उनले विद्यार्थीहरुलाई कम्प्युटरलगायत विज्ञान प्रविधिका समानहरु भूकम्पमा परेपछि बाध्य भएर चित्र देखाएरै भए पनि अध्यापन गराइरहेको जानकारी दिएका छन् । शैक्षिक सत्र सुरु हुनै लाग्दा आएको भूकम्पका कारण विद्यालयहरुमा विद्यार्थीको उपस्थिति संख्या पनि न्यून भएको छ । सरकारले दिएको निर्देशनअनुरूप नै विद्यालय सञ्चालन हुँदै आए पनि विद्यार्थीहरुलाई यो वर्ष पूरै पाठ्यक्रम पढाउन पनि हम्मेहम्मे पर्दै गएको उनको भनाइ छ । त्यसकारण विद्यालयमा अन्य अतिरिक्त त्रियाकलाप पनि गर्न नसकेको गुनासो उनको छ । विद्यालयमा सञ्चालन गर्नुपर्ने अतिरिक्त क्रियाकलाप पनि कम हुने गरेको त्यहाँ अध्यापनरत शिक्षकहरुले बताए ।

गाउँका विद्यार्थीहरु प्रायः सरकारी विद्यालयमा नै अध्ययन गर्छन् । ग्रामीण क्षेत्रमा माटो र ढुंगा प्रयोग गरी बनाइएका घरहरु भत्कँदा बासको समस्या परेको छ भने अर्कातिर खेतीपातीको समय भएकाले विद्यार्थीहरुको उपस्थितिमा समेत कठिनाइ छ । अब चाडबाड नजिकिँदै विद्यार्थी अनुपस्थित हुने समस्या झनै बढ्ने देखिन्छ । भूकम्पपछिका दैनिकी सामान्य बन्दै गइरहेको समयमा विद्यालय सञ्चालन गर्दा जनजीवनलाई सामान्यतिर उन्मुख गराउन मद्दत गर्दछ । यति हुँदाहुँदै पनि विद्यालयमा पढाउने सहज वातावरण नहुँदा समस्या बढेको उनीहरुले गुनासो गरे ।

जिल्ला शिक्षा कार्यलयका प्रमुख डा. दीपेन्द्र गुरुङले भने, ‘वैकल्पिक कक्षाकोठा व्यवस्थापन गर्न नसक्दा विद्यार्थीको उपस्थिति न्यून हुनु स्वाभाविकै हो ।’ जिल्लाको ग्रामीण इलाकाका करिब ७५ प्रतिशत विद्यालय भूकम्पले गर्दा पठनपाठन गर्न अयोग्य भएको कुरा विभागले खटाएको प्राविधिकको टोलीले सर्वेका क्रममा बताए पनि जिशिकाले केही गर्न नसकेको उनले गुनासो गरे ।

उनले थपे, ‘प्राइभेट र सरकारी विद्यालयको तुलना गर्दा जिल्लामा यतिबेला प्राइभेट विद्यालयमा केही हदसम्म विद्यार्थी उपस्थिति संख्या बढी छ । प्राइभेट विद्यालयहरुले तत्काल आवश्यक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्थापन गरेका छन् । त्यसैले यस्ता विद्यालयमा अध्ययन अध्यापनको वातावरण केही सहज भएको छ ।’ सरकारी विद्यालयले आवश्यक वातावरण र भौतिक संरचना तत्कालै व्यवस्थापन गर्न नसक्दा यस्तो असहज परिस्थिति देखिएको गुरुङ बताँउछन् । सरकारी विद्यालयको व्यवस्थापन सरकारी नीतिअनुसार नै हुने भएका कारण केही ढिलो भए पनि वैकल्पिक कक्षाकोठा बन्ने र त्यस्ता संरचना दीर्घकालीन समयसम्म रहने उनको दाबी छ । सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले भने पाठ्यक्रमअनुसारका सामग्रीहरुको उपलब्धताबिनै पनि पढाइ सञ्चालन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया