‘नेत्र भन्थे, म मरे पुनः बिहे गर्नू’

झापाको सुखानीमा ०२९ फागन २१ गते ५ जना क्रान्तिकारी योद्धालाई तत्कालीन पञ्चायती व्यवस्थाका मतियारहरूले जेल सार्ने बहानामा हत्या गरेका थिए । कठोर यातनापछि उनीहरूलाई व्यवस्थाविरुद्ध लागेको अभियोगमा हत्या गरियो । ती सहिदले देश र जनताका लागि गरेको मृत्युवरणले कतिको सफलता पाएको छ वा छैन भन्ने जनताले नै मूल्यांकन गर्लान् । तर, तिनै सहिद परिवारले भने आफ्ना परिवारका सहिदलाई आज पनि भुलेका छैनन् । पाँच सहिदमध्ये एक नेत्र घिमिरेकी पत्नी जीवन घिमिरे अहिले एमालेको राजनीतिमा छिन् । कलिलै उमेरमा पति नेत्रले व्यवस्था परिवर्तन गर्न गरेको त्याग र उनले श्रीमान्सँग बिताएको ३ वर्ष र नेत्रको व्यवहारबारे सौर्य दैनिकले गरेको संवाद :

ghimire_dampattiनेत्रसँग वैवाहिक सम्बन्धमा गाँसिनुपहिला उहाँका बारेमा केही थाहा थिएन । पारिवारिक रूपमा नेत्रकी दिदी मेरो ठूलोबुबाको छोरा दाजुले बिहे गरेका कारण उनी दाजुको साला पर्थे । सरकारी कर्मचारी र राम्रो परिवारको केटा भएकाले उनै दाजुमार्फत घरमा बिहेको कुरा आएको रहेछ । हामीबीच भेटघाट केही भएन । पहिलोपटक देख्दा लाग्यो, घिमिरे कालो भए पनि हिस्सी परेका राम्रो रहेछ भन्ने । कुरा चलेको एक वर्षपछि ०२६ साल फागुन १७ गते परम्परागत रूपमा पञ्चेबाजा बजाएर रातिको समयमा बिहे भयो । बिहेको केही दिनअगाडि नेत्रले मलाई र बुबालाई एक÷एकवटा पत्र पठाएका थिए । पत्रमा भनिएको थियो, ‘म सरकारी कर्मचारीमात्र होइन, सामन्त र जमिनदारको विरोधी पनि हुँ । त्यसैले मेरो बारेमा केही सोच्ने भए सोचेर खबर पाउँ ।’ मलाई उनको भनाइ के थाहा ? चिठी पढेर झनक्क रीस उठ्यो । कस्तो गुन्डा रहेछ बिहे गर्नुपहिला नै पत्र पठाउने, भन्ने लाग्यो । तर, जवाफ पठाइनँ । बुबा आफैँ किसान आन्दोलनमा लाग्नुभएकाले त्यसलाई सामान्य रूपमा लिनुभयो ।

उहाँ परिवारका पाँचभाइ छोरामा काहिँला हुनुहुन्थ्यो । बिहे गर्दा मालपोत कार्यालयमा खरदारको रूपमा कार्यरत । बिहे भएको केही समयमा जागिरबाट राजीनामा दिनुभो । ‘हामीकलाई भन्नुभएछ, ‘म यो व्यवस्थाको विरोधी हुँ, त्यसैले जागिर खान्नँ ।’ त्यसपछि केही समय शिक्षण पेसामा लाग्नुभयो । परिवारमा ३६ जना थिए । ठूलो परिवार भए पनि मलाई सबैले माया गर्थे । बिहेपछि नेत्र मेरो राजनीतिक गुरु हुनुभयो । उहाँ मरा लागि श्रीमान्, असल साथीको हसनसका साथै गुरु पनि हुनुहुन्छ । उहाँ आमासँग बेला–बेला भन्नुहुन्थ्यो, ‘आमा, मैले आफ्ना लागि होइन तपाइँका लागि यिनीसँग बिहे गरेको हुँ । म प्रतिक्रियावादीको विरोधी भएकाले सामन्त र जमिनदारहरूले दुस्मनको रूपमा हेर्छन्, कुनै पनि बेला मार्न सक्छन् । म मरेँ भने यिनलाई कहिल्यै पनि सेतो लुगा लगाउन नदिनु, सधैँ रातो टीका लगाउन दिनु ।’ म उहाँका कुरा धेरै बुझदैन थिएँ । त्यसैले मार्लान् भन्ने चिन्ता पनि लागेन । आमा ‘यस्तो नभन’ भनेर रिसाउनु हुन्थ्यो । उहाँ घर, ससुराली र समाज सबैको प्रिय हुुनुहुन्थ्यो । नेत्रका गुणमात्र थियो कसैलाई कहिल्यै बिझाउँदैन थिए । कहिले काहीँ घर आउँदा सबैको ख्याल गर्थे । सन्चो बिसन्चो समस्या के भनेर सबैलाई सोध्थें ।

नेत्रलाई मार्नु एक हप्ताअगाडि जेलमा भेट्न गएँ । त्यो नै उहाँसग मेरो अन्तिम भेट थियो । उहाँको अग्रहमा आकाशे रङको सर्ट लगिदिएको थिएँ । सधँै रेडिमेड सर्ट लगाउन मन पराउनुहुन्थ्यो । फर्कने बेला मलाई पैसा दिएर ‘गाडीमा जाउँ, अब चाहिँ मैले बोलाउँदामात्र भेट्न आउनु’ भन्नुभयो । त्यसपछि न उहाँले बोलाउन पाउनुभयो न मैले जान पाएँ । म फर्कें, उहाँ आँखाभरि आँसु बनाएर जेलभित्र जानुभएछ, पछि अरूले भने । ‘मेरो आमा र तिम्रो आमासँग भेट्न मन छ, ल्याइदेउ’ भन्नुभएको थियो । मैले उहाँको त्यो चाहना पूरा गर्न सकिनँ । एक हप्तापछि जेल सार्ने बहानामा उहाँसँगै रामनाथ दाहाल, विरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई सुखानीमा लगेर मारेछन् । नेत्र सपनालाई कहिल्यै विश्वास गर्नु हुँदैनथ्यो । तर, जेल सार्ने अघिल्लो दिन भने उहाँले साथीहरूलाई भन्नुभएछ, ‘अब हामीलाई मार्छन्, सपनामा हामीलाई जेल सार्ने भनेर हातमा छाप लगाएर लगेको देखेँ मैले ।’ उहाँले सपनामा जे देख्नुभयो त्यसैगरी लगेर मारेछन् । त्यो उहाँको सपनाप्रतिको अन्तिम विश्वास थियो ।

म सानी छोरी जन्मने प्रसव पीडामा थिएँ । अघिल्लो दिन उहाँको हत्या भएछ । भोलिपल्ट छोरी जन्मेको पन्ध्र मिनेटपछि थाहा पाएँ । एउटा पीडाले छटपटिएकी म अर्को पीडाले अर्ध चेत भएँ । बिउँझदा ससुराले हात समातेर बस्नुभएको रहेछ । त्यसपछि मैले उहाँका सपना पूरा गर्ने कसम खाएँ । नेत्रको चाहना थियो, म कहिल्यै विधवाको रूपमा नबसोस् भन्ने । उहाँलाई आफ्नो मृत्यु सधैँ वरपर भए जस्तै लाग्थ्यो । त्यसैले होला मलाई बेला–बेला भन्नुहुन्थ्यो, ‘म मरे भने तिमी अर्को बिहे गर्नु, कहिल्यै सेतो लुगा नलगाउनु, निधारमा सधैँ रातो टीका लगाउनु ।’ मलाई उहाँको पुनः बिहे गर्ने सल्लाह कहिल्यै पूरा गर्न मन लागेन । अन्य सुझाव भने पूरा गरेको छु । सासूसुराले पनि सधैँ रातो टीका लगाइदिनुभयो । मैले उहाँको नाममा सेतो वस्त्र लगाइनँ । उहाँको आत्मलाई शान्ति मिलोस् भनेर उहाँको चाहना र परिवारको सहयोगमा सधैँ रातो लगाएँ ।

उहाँको शव पार्टीका साथीले ल्याएछन् । हेर्न सक्ने अवस्थामा थिएन भन्थे । मैले उहाँको मृत शरीर हेर्न सकिनँ । एकातिर सुत्केरी अर्कोतर्फ उहाँको विछिप्त शारीर । कुनामा थिएँ, ससुराले सम्झाउनुभयो ‘हाम्रो नेत्रको मृत्यु महाभारतको अर्जुनको जस्तै हो, नरोउ । तिम्रो शरीरमा भएको कपडा उल्टो पारेर लगाउ ।’ कुनामा हुँदा शरीरको कपडा उल्टो पारेर लगाएँ । बाहिर निस्केपछि एक वर्ष नयाँ लुगा लगाइनँ । आफूसँग भएका पुराना लुगा सबै रङका लुगा लगाएँ । म नेत्रको नाममा विधवाको पहिरनमा कहिल्यै बसेको छैन । उहाँको आत्माले शान्ति पाओस् भनेर । उनैले देखेको सपना पूरा गर्ने पथमा लागेको छु । २६ वर्ष लाग्दै गर्दा उहाँले व्यवस्था परिवर्तन गर्ने अभियानमा ज्यान गुमाउनुभयो । साथीहरू भन्थे, ‘कमरेड नेत्रको शरीरभरि निलडाम थियो, सबै औँलामा पिनले घोचेर छिया–छिया भएको थियो । अत्यन्तै कष्टपूर्वक मारेका थिए नेत्रसहित अन्य योद्धालाई ।

नेत्रलाई मारेपछि हाम्रो घरमा प्रहरीको निगरानी बढ्यो । पार्टीका कयौँ सेल्टर ध्वस्त भएँ । म पहिल्यैदेखि पार्टी सम्पर्कमा थिएँ । उहाँको हत्यापछि खुला बसेर भूमिगत काम गर्न थालेँ । राति घरका सबै सुतेपछि पार्टीको काम र सम्पर्कमा जान्थेँ । बाहिर सेल्टरमा असुरक्षा भएकाले पार्टीका साथीहरूलाई घरमा ल्याएर राख्थेँ, बिहान अरू नउठ्दै उहाँहरू जानुहुन्थ्यो । हाम्रो घरमा एकजना काम सघाउने भाइ थिए । उनले जमिनदारकोमा गएर भनेछ, ‘त्यो काहिँले बुहारी ठीक छैन, सबै सुतेपछि राति–राति घरबाहिर गएर चार÷पाँचजना केटा मान्छे ल्याउँछे, बिहानै अरू नउठ्दै पठाउँछे ।’ त्यसपछि घरमा प्रहरीको निगरानी झन् बढ्यो । मैले उसलाई सबै सम्झाएँ, ‘नेत्रलाई कसरी र किन मारे’ भनेर । त्यसपछि ऊ पछूतो मानेर रोयो । नेत्रलाई मारेपछि म पनि सामन्तको आँखाको तारो भएँ । दुःख दिन थाले । होनहार पाँचजनाको कार्यकर्ताको हत्यापछि उचाइमा पुगेको झापा आन्दोनल तहस नहस भयो ।

घरको आर्थिक अवस्था बिग्रियो । ससुराबुबा र मेरो बुबा अति मिल्ने साथी थिए । त्यसैले मलाई घरबाट माइत गएर बस्न आग्रह भयो । काखमा साना दुईवटी छोरी थिए । यही घरले जन्माएको छोराले आज देशका लागि बलिदानी दियो । म कसरी माइतमा सुखले बस्न सक्थेँ ? केही दिन गए पनि फर्किहाल्थेँ । माइतमा मीठोमसीनो खाँदा घरका परिवारको याद आउँथ्यो । विस्तारै घर धानेँ, देवरजेठाजु साथी जस्तै थिए । हरेक कुरामा साथ र सहयोग गर्ने । चौध वर्ष पारिवार धानेर बसेँ । छोरीहरू हुर्कंदै थिए । मलाई चिन्ता बढ्यो, अब कसरी यिनीहरूको लालनपालन गर्ने भनेर । उनीहरूलाई उच्चशिक्षा दिनु मरा लागि चुनौती थियो । जसरी पनि उनीहरूलाई राम्रो शिक्षा दिनु मेरो जिम्मेवारी थियो । बुबा र आमा बनेर उनीहरूलाई हर्काउने दायित्व मेरो काँधमा थियो ।

छोरीहरूका लागि घर छोडेँ । घर धान्न देवरहरू ठूला भइसकेका थिए । उनीहरूको घरजम पनि भएको थियो । म दुई छोरीको भविष्य र पार्टीको काम गर्ने उद्देश्यले घरबाट निस्केँ । कता जाने र के गर्ने भन्ने अन्यौल थियो । घरबाट निस्किएपछि केही समय झापामै चियानास्ताको पसल गरँे । त्यहाँ पनि प्रहरीले छोडेन । रातदिन वरपर प्रहरी घेरा हुन्थ्यो । मेरो अवस्था देखेर ठूलो बुबाको छोरा तुलसी दाजुले ‘यहाँ नबस मसँग हिँड’ भनेर आफ्नो घरमा लानुभयो । उहाँकै घरमा पनि पसल गरँे । पार्टी सम्पर्क र प्रहरीको निगरानीमा ०४६ सालसम्म त्यहीँ बसेँ । अनेक संघर्ष गरेँ । अहिले पनि उनै नेत्रको सपना पूरा गर्न लागेको छु । राजनीतिमा आफूले चाहेर सक्रिय हुन नपाइने रहेछ । ०५४ सालमा पार्टी फुटेपछि मात्र जिम्मेवारी पाएँ । त्यसभन्दा अगाडि संगठित सदस्य मात्र भएर काम गरेँ । अहिले पार्टीले जिम्मेवारी दिएको छ । अझै भोलिका दिनमा अरू काम गर्ने अवसर देला भन्ने लागेको । कम्युनिस्ट पार्टीहरू हिजोको जस्तो छैन । राम्रा मान्छेसँगै लोभिपापी र अनुशासन नभएकाहरू पार्टीमा भित्रिएका छन् । त्याग र लामो समय काम गरेका पार्टी बाहिर छन् । सबैलाई पार्टीले समेट्नुपर्छ । प्रतिस्पर्धाको नामा भित्रिएका विकृतिको अन्त्य गर्नुपर्छ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया