सडकमा लगानी, बालुवामा पानी

kavre_roadसरकारले बजेट पनि विनियोजन गर्छ, सडक कार्यालय र कर्मचारीहरू पनि छन् तर धुलिखेल नगरपालिका, नाला, बनेपा, पनौती र हेलाम्बु सडक खण्ड खाल्डाखुल्डीको संग्रहालय नै बनेको छ । त्यसैले त घरबाट चिटिक्क परेर निस्किए पनि गन्तव्यमा पुग्दा साथीहरूले नै छिःछिः र दुरदुर गर्ने अवस्था हुन्छ काभ्रेवासीको । घाम लाग्दा धूलोको हैरानी खेप्न बाध्य सडक प्रयोगकर्ता वर्षाको समयमा हिलाम्मे बन्दै गन्तव्य तय गर्दै छन् । खाल्डाखुल्डी भएका कतिपय ठाउँमा त सानातिना सवारीसाधन चुर्लुम्म डुब्ने अवस्था छ । त्यहाँका प्रमुख सडकमै भंैँसी आहल खेल्न मिल्ने गरी खाल्डो परे पनि सडक डिभिजन कार्यालयले राम्ररी पुर्ने काम पनि गरेको छैन ।

सामान्य पुरेर आँखामा छारो हाल्ने काम भएको स्थानीयको भनाइ छ । स्थासनीय रमेश विष्ट भन्छन्, ‘केही ट्रिप ग्राबेल हाले पनि अझै खाल्डा पुरिएका छैनन् । दिनमा र रातभर टिपरको लोडले थिचिएको रोडको पिच घाम लागेपछि उप्कन थाल्छ अनि घुलो र हिलोको स्थितिमा बाँच्न विवश छौँ ।’ सडकको दूरवस्थाले यस क्षेत्रमा सवारी आवागमन निकै कठिन छ । यस सडक खण्डमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् । बीचसडकमा खाल्डा पर्दा सडक छाडेर छेउबाट सवारीसाधन गुड्ने गरेका छन् । ‘सडक कार्यालयको लापरबाहीले गर्दा ठूलो दुर्घटना नहोला भन्न सकिन्न,’ गैरी बिसौना देउपुरका कविराज ढकालले भने ।

बनेपा नगरदेखि पनौती नगरपालिका र हेलम्बु राजमार्गअन्तर्गत पर्ने महादेवस्थान, कुन्ताबेँसीलगायत ठाउँहरूमा ठूला खाल्डा छन् । खाल्डामा दुई÷तीन ट्रिप ग्राबेल हालिएको छ । त्यही बाटो हुँदै सभासद् विदुर सापकोटा र नगरपालिका क्षेत्रमा पर्ने पनौतीका सभासद् रामहरि सुवेदी घर जान्छन् । तिनै खाल्डामा दुर्घटना हुन्छ कि भनेर चालकहरू पनि डराइडराई सवारी चलाउन बाध्य छन् । तर सडकको अवस्था र स्थानीयको सास्ती कसैले बुझेको देखिँदैन ।

सडक डिभिजन कार्यालयले मर्मत गर्ने भनिरहँदा पनि पनौती नगरपालिकाको मुहारसमेत कुरूप बन्दै गएको छ । यहाँका स्थानीयहरू सरोकारवाला सडक कार्यालयप्रति असन्तुष्ट छन् । हल्का टालटुल पारिएको सडकको बीचमा अहिले पोखरी नै पोखरी बनेको देख्न पाइन्छ । सडक पहिलेको भन्दा अझै नाजुक अवस्थामा पुगेको छ । सडक विभागअन्तर्गत पर्ने पनौती–बनेपा सडकखण्डलाई न त जिविसले मतलब गर्छ न त पनौती र बनेपा नगरपालिकाले नै चासो दिन्छन्,’ स्थानीय जीवन नकर्मीले भने ।

‘सडक विभागले मापदण्डअनुसार सडक नबनाउँदा यस्तो अवस्था आएको हो,’ पनौती नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारी भने, ‘आठ सय त पनौतीबाट जाँदा मात्रै हो, तिनै सवारी फेरि फर्किंदा दैनिक १६ सयवटा सवारी गुड्ने सडक यस्तो टालटुल गरेर कहिल्यै राम्रो हुँदैन ।’ पनौती–बनेपा सडक सबै उप्काएर पुनर्निर्माण गर्नुपर्ने देखिएको अधिकारीले बताए । उनका अनुसार सयौँ हेबी गाडीहरू दैनिक रूपमा चल्ने सडकलाई उच्चस्तरीय पिच र सडकको दायाँबायाँ १५÷१५ फिट छोडेर फराकिलो सडक बनाउनु पर्ने देखिएको छ । प्रत्येक वर्ष सरकारले सडक मर्मतका नाममा रकम विनियोजन गर्ने गरेको भए पनि लाखौँ रूपैयाँ कामै नगरी सकिने गरेको पनौतीका बासिन्दाको गुनासोे छ । ‘सडक मर्मतका नाममा आएको रकम सहिसदुपयोग भएको भए कम्तीमा गत वर्षदेखिका र टालिएका खाल्डासमेत जस्ताको तस्तै हुने थिएनन्,’ पनौतीका राजु लामा भन्छन्, ‘सम्बन्धित निकायले अझै पनि सामान्य मर्मत गरिदिन्छ कि भन्ने आश छ ।’

सडकमा खाल्डै–खाल्डा भएपछि पानी परेको समयमा त पैदल यात्रीलाई समेत समस्या परेको छ । खाल्डामा यातायातका साधनहरू गुडाउँदा उछिट्टिएको हिलोले पैदल यात्रीसमेत हिलाम्मे हुन्छन् ।

सडकका खाल्डा र पानी जम्ने कारणले यातायातका साधन आवतजावतमा समस्या परेको पनौतीका चालकहरूको पनि गुनासो छ । धेरै खाल्डाखुल्डीले बसका पार्टपुर्जा छिट्टै बिग्रने गरेको उनीहरू गुनासो गर्छन् । पनौती सडकमा कर उठाउने पनौती नगरपालिकाले सडक बनाउन वास्ता नगरेको यातायात व्यवसायी बताउँछन् । पनौती नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीले भने, ‘हाम्रो क्षेत्रभित्र रहेको पशुपति मन्दिर पुल यता बसपार्कसम्म त नगरपालिकाले काम गरिरहेकै छ । त्योभन्दा उताको सडक मर्मत गर्ने क्षमता र स्रोत नगरपालिकासँग होइन र छैन ।’

सडक मर्मत गरिदिन पटक–पटक सडक विभागमा अनुरोध गरिएको भए पनि पनौती सडकको अवस्थाबारे सडक विभागका कर्मचारीले खासै चासो नदिएको काभे्र मिनीबस सेवा समितिले जनाएको छ । समितिका अनुसार सडक मर्मतसँगै ढल निकास, सडकमा राखिएको निर्माण सामग्रीको व्यवस्थापन र लामो समय सडकमै गरिने पार्किङसमेत नहटाइए सडकको अवस्था सुधार्न नसकिने देखिएको छ ।

नाला, बनेपा, धुलिखेल, पनौती र हेलाम्बु राजमार्गअन्तर्गत पर्ने कुन्ताबेँसी महादेवस्थानमा पनि बिजोग छ । सडकमा जमेको पानी काटेरसमेत फालिएको छैन । यता केही महिनाअघि मात्रै उद्घाटन भएको बिपी रामार्ग पनि अन्यत्र जस्तै हुने खतरामा पुगेको छ । ‘बिसौँ वर्ष र करोडौँ खर्चबाट निर्मित सडक विभिन्न बहानामा भत्काइन्छन् तर राम्ररी व्यवस्थापन हुँदैनन् । यस्तै चाला हो भने बिपी राजमार्गको हालत पनि केही वर्षमै उस्तै निश्चित छ,’ भकुण्डेका शैलेन्द्र तामाङको गुनासो छ ।

प्रतिक्रिया