सुत्केरीको नयाँ जन्म

sutkeriपाँचथर, ३ भदौ । ‘खै मलाई त के भयो के भयो ? एक्कासी बेहोस भएछु । थाहै पाइनँ । ऐया… मृत्युबाट बाँचेछु ।’ आँखा भरी आँसु पार्दै उनले भनिन् । ताप्लेजुङको दुर्गम गाविस इखाबुकी मञ्जिता सावाले पुनर्जन्म पाएको बताइन् । हुन त जीवनमा मृत्यु अनिवार्य नै छ । तर यति फरक हो । काल आएर की, बिनाकाल ? अर्थात ढिलो कि चाँडो ? कवि लेखनाथ पौड्यालको कविताको अंशलाई अलिकति बदलेर भन्ने हो भने आउँछ टप्प टिप्छ लान्छ मिति पुगेपछि यो निश्चित हो । तर, कहिलेकाँही यमराजले टप्प टिप्न खोज्दा स्वास्थ्यकर्मीहरूले खोस्ने गरेका छन् ।

हो–जिल्ला अस्पताल पाँचथरका डा.पवनजंग रायमाझीसहितका स्वास्थ्यकर्मीले उनलाई यमराजको पञ्जाबाट फुत्काए । डा.रायमाझीका अनुसार मञ्जिताको पाठेघरमा रहेको नलिमा भ्रुण बसेको र ठूलो हुँदा फुटेपछि पेटभरी रगत जमेको थियो ।

‘शरीरमा रगत थिएन । बचाउन सक्छु भन्नेमा विश्वस्त थिइनँ’ उनले भने ‘तर बचाउन सकेँ, खुसी छु ।’ उनले जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी र बिरामीलाई नै बोकेर ल्याएको सवारीका चालकले रातारात रगत दिएको बताए । पति विवश लिम्बूले सोमबार अत्यन्तै कष्टदायक तरिकाले विकट गाउँबाट मञ्जितालाई सदरमुकाम फुङ्लिङ ल्याउँदा डाक्टरले पाठेघरको नलीमा भ्रुण छ भनेपछि आपूm झस्किएको बताए । अझ डाक्टरले बाँच्ने सम्भावना अत्यन्तै कम छ भन्दा साह्रै दुखिःत भएको उनले सुनाए । जीवन संगिनी मृत्युसँग लड्दै गर्दा पीडा हुनु अस्वभाविक पनि होइन ।

तर, जब सोमबार मध्यरातमा उनले पत्नीलाई जिल्ला अस्पताल फिदिम ल्याई पु¥याए । स्वास्थ्यकर्मीहरूले सम्भव भएसम्मको प्रयास गर्दा मृत्युको मुखबाट बचाउन सकिएको भन्दै खुसी व्यक्त गरे । ‘पत्नी बाँच्छे भन्ने लागेको थिएन’ उनले भने ‘मैले त माया मारेको थिएँ ।’ स्वास्थ्यकर्मीहरू रातभर जाग्राम रहेर उनलाई बचाउन प्रयासरत रहेका थिए ।

अन्ततः अप्रेसनपछि बचाउन सफल भएको बताएका छन् । मञ्जिता जस्तै सयौँलाई डा.रायमाझीसहितका स्वास्थ्यकर्मीले यमराजको पञ्जाबाट खोसेका छन् । डाक्टरहरू सुविधा सम्पन्न सहरका अस्पतालमा काम गर्ने अनि दुर्गम पहाडी भेगमा जान नमानिरहको बेला डा. रायमाझीलगायतका स्वास्थ्यकर्मीले पाँचथरसहित छिमेकी जिल्ला तेह्रथुम र ताप्लेजुङका सर्वसाधारणलाई सेवा दिँदै आएका छन् ।

तर, दुःखको कुरा सधँै बिरामीको अत्यधिक चाप भएको जिल्ला अस्पताल फिदिममा शैयाको अभावममा भुँइमै राखेर दिनहुँजसो बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरू बाध्य छन् । बिरामी दैनिक दुई सयको हाराहारीमा आउने गरेको तर अस्पतालमा ३५ शैया मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ ।

तर, अस्पताल विकास समिति र जिल्लाका राजनीतिक दल कसैले पनि अभैmसम्म ५० शैया बनाउने विषयमा परिणाममुखी पहल नबढाएको भन्दै डा.रायमाझी चिन्तित छन् । अस्पताल समितिका अध्यक्ष भवानी शंकरले अस्पताललाई मापदण्ड अनुसार स्तरोन्नतिका लागि मन्त्रालयमा पहल भइरहेको जनाएका छन् । रायमाझीले आफ्नो कर्तव्यका लागि सुविधायुक्त सहरका अस्पतालभन्दा ग्रामीण क्षेत्रमा नै काम गर्न र मानिसलाई बचाउन सबैभन्दा खुसी लागेको बताए । डा. माझीका अनुसार मृत्युको मुखमा पुगेका मानिसहरूलाई अप्रेसन गर्दा स्वास्थ्यकर्मीहरूलाई असुरक्षित हुने भएकाले स्थानीय सामाजिक नागरिकको सहयोगको अभाव रहेकोसमेत गुनासो पोखेका छन् ।

मृत्युको मुखमा पुगेकी सुत्केरी सावाकोे लागि रगतको अभाव र सहयोगको अभाव भएकाले स्थानीय समाजसेवी सुबराज थापाले रात नभनी अप्रेसनका लागि साक्षीपत्रमा हस्ताक्षर गरी सहयोग गरिनुले महिलाले नयाँ जीवन पाएको माझीले बताए ।

प्रतिक्रिया