काठमाडौं ३ भदौ । कुनै समय मध्यरातमा शंख बज्दा गाउँलेहरु गाउँमा कसैको मृत्यु भएको संकेत पाउँथे, गाउँमा कसैलाई आपत्विपत् परेको ठानेर मन भारी पार्दै मलाम जान तयार हुन्थे । आजभोलि समयले कोल्टे फेरेको छ, काभ्रेका माथिल्लो भेगका किसानहरु आजभोलि पनि शंखको आवज सुन्नेबित्तिकै जम्मा हुन्छन् तर मलाम जान होइन, जंगली जनावरहरुबाट आप्mनो वर्षभर खाने अन्नबालीको संरक्षण गर्न ।
काभ्रे जिल्लाका माथिल्लो भेगमा बँदेल, मलसाप्रोे, बाँदर, धुमकीरा आदिले रातारात मकै बाली नष्ट गरेपछि किसान चिन्तित भएर यसरी जम्मा हुन थालेका हुन् । काभ्रेको माथिल्लो भागका ढुंखर्क, तिमाल, कुरुवास, मच्छेलगायत गाविसका जनता जंगली जनावरबाट बढी प्रभावित भएका छन् । धुमकीराले रातमा मकै खाने भएपछि ढुंखर्कका स्थानीय रातको समयमा ड्यांग्रो शंख बजाएर रातभर जाग्राम बस्न थालेका छन् । जंगली जनावरले त्यस क्षेत्रमा लगाइएको अन्नबाली सखाप पार्न थालेका छन् ।
यस्तै, बेँसी भेगमा सुनकोसी, इन्द्रावती नदी, झिंगु खोलालगायत नदीहरूमा पानीको बहाव बढ्न गएपछि नदी किनारमा लगाएको धानखेती बगाएकाले किसान अब के खाने भन्ने चिन्तामा रहेका छन् । देउपुर बेँसी घर भएका हरिहर दनुवारले भने, ‘सबै बगायो अब के खाने हो, कुनै उपाय पनि छैन । महिनाभर लगाएर रोपिएको खेत बिहान उठ्दा बगरमा परिणत भएको हुन्छ ।’ इन्द्रावती नदीले सिन्धुपाल्चोकको सीमाना भएर बग्ने नदीको किनार आसपासको करिब दुई सय हेक्टरभन्दा बढी धानखेत बगाएको छ । यस्ता चार नदी किनारमा रहेका करिब तीन सय हेक्टरको हाराहारीमा धानबाली बगाएको छ । असारको पहिलो साताबाट रोपाइँ गरिएको यस भेगको धानखेत आधाभन्दा बढी बगाएपछि स्थानीय कृषक चिन्तित भएका छन् ।
साउनको पहिलो सातादेखि निरन्तर वर्षाका कारण इन्द्रावती सुनकोसीलगायत नदीमा उर्लिएको भेलले रोपाइँ गरिएको धेरैजसो जमिन बगाएको छ । नदीको किनारमा खेत हुनेमा अधिकांश न्यून आय भएका माझी, तामाङ समुदायका कृषक बढी मारमा परेका छन् । खेत बगेपछि चिन्तत भएका कृषकले बगरमा बाँध बनाएर खोला र नदीलाई अन्यत्र पठाउनका लागि प्रयास जारी राखेका छन् । हरेक वर्ष यस्तै समस्या झेल्दै आएका स्थानीय कृषकहरूका लागि अहिले भने धेरै समस्या परेको छ । यसरी बर्सेनि उर्बर जमिन बगाउन थालेपछि यस क्षेत्रका किसानहरुलाई दिनमा भोक न रातमा निद्रा भएको छ । खेतबारी र त्यसमा लगाएको बाली नष्ट भएपछि किसानको लगानी र मिहिनेत त खेर गयो नै आगमी वर्ष के खाने र के लगाउने भन्ने समस्याले उनीहरू पिरोलिन थालेका छन् ।
प्रतिक्रिया