हरेक वर्ष भदौ १ गतेको दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर मातातीर्थ र साँगा सँगै विस्तार भएको हो भन्ने कुरा गोपाल वंशावलीमा उल्लेख गरिएको छ ।
गोपालवंशी गोपालकहरूमध्ये एकजनाको गाईले राति–राति काठमाडौंको गौशाला देवपाटन हाल पशुपतिनाथ रहेको स्थानमा थुनबाट सबै दूध झारेर आउने गर्दोरहेछ । यो कुरा थाहा पाएर गोपालकका नाइके त्यस स्थानमा गई खनेर हेर्दा ऊ अग्निको ज्वाला निस्केर भस्म भएछ । पछि त्यही स्थानमा पशुपतिनाथको स्थापना गरिएको हो, भनिन्छ । उसैलार्ई ने मुनिले नै राजा बनाएको हो, भनिन्छ । भुक्तमानपछि जय गुप्त, परम गुप्त, भीम (हर्ष) गुप्त, भीम गुप्त द्वितीय, मणि गुप्त, विष्णु गुप्त र जययक्ष गुप्तसम्म आठ पुस्ता गोपालवंशीको राज्य मातातीर्थमा चलेको थियो, भनिन्छ ।
इतिहासका लेखक वासुपासाले ‘नरगो’ कीर्तिपुरको प्राचीन बस्ती भएकाले जहाँ खनेर हेरे पनि अभैm पनि भग्नावशेषहरू भेटिन सक्ने कुरा उल्लेख गरेका छन् । त्यस सयममा जंगलै जंगल भइरहेको कीर्तिपुरको डाँडामा ‘नरगो’ का गोठाला केटाकेटीले भँेडाबाख्रा चराउन जान्थे । ती गोठालाले त्यहाँ माटोको बाघ बनाई खेलिरहेको बेलामा बाघको जिब्रो राख्न पात खोजेर ल्याउँदा त्यहाँ चराइरहेका सबै भेँडाबाख्रा बाघले खाइसकेको रहेछ । गोठाला केटाहरूले यस्तो दृश्य देखेर डराई गाउँका मानिसलार्ई भन्न जाँदा सबै गाउँले आउँदा यस्तो आश्चर्यजनक दृश्य देखेछन् । जंगलको चारैतिरबाट बाघ कराएको आवाज सुने र डराएर त्यहाँका सबै मानिस काठमाडौंको हाँडीगाउँमा वस्ती नै सरेका थिए, भनिन्छ ।
ती मानिसहरू बसाइँ सरेपछि पांगा र नगांका ज्यापूहरूलार्ई पनि बाघले दुःख दिन थालेछ । भेँडा, बाख्रा, बोका, राँगालगायतका चौपाया खाएर बाघले दुःख दिएकाले मानिसहरू त्रासमा बाँच्नुपर्ने भयो । यस्तो दुःख र त्रासबाट कसरी पार पाउन सकिन्छ भन्दै जान्ने एकजना तान्त्रिकलार्ई देखाउँदा माटोको बाघको शरीरमा भैरव वहन आएकाले यस्तो भएको हो भनेछन् । अब त्यो बाघलार्ई शान्त पार्न हरेक वर्ष सिंह संक्रान्ति अर्थात् भदौ १ गते भेँडा, बोका र राँगा बली दिएर बाघभैरवको जात्रा गर्नुपर्ने बताएछन् । त्यही बेलादेखि बाघभैरवको मन्दिर बनाएर पूजाआजा गरी जात्रा चलाउँदै आएको हो, भन्ने गरिन्छ ।
ने.सं. ३३५ मा पाटन पिम्वहालका महापात्र जगतपाल बर्माले बाघभैरव देवताको पुरानो मन्दिर भत्काएर पुनर्निर्माण गराई तीनतले प्यागोडाशैलीमा मन्दिर बनाएर भव्य रूपमा जात्रा चलाएका हुन् । हालसम्म पनि प्रत्येक वर्ष भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरेर मेला पर्व मनाइँदै आएको छ । यो दिन बाघभैरवको सानो खट चारजनाले बोकेर सन्ध्याकालमा कीर्तिपुरका सबै स्थानमा घुमाउँदै पूजा थाप्न जाने गरिन्छ । घरैपिच्छेका भक्तजनले खटमा रहेका बाघभैरव देवताको मूर्तिमा पूजा गर्दछन् । यसरी देवताको खट कीर्तिपुरमा घुमाउँदा खटको पछि–पछि हुलका हुल भक्तजन हिँड्ने गर्दछन् । ती भक्तजनहरूमा कोही धूप बाल्ने, कोही लावा छर्ने, कोही धूपबत्ती बाल्ने पनि हुन्छन् ।
यस जात्राको अर्को एउटा विशेषता भनेको बाघभैरवको मन्दिरमा एक सय आठपटक परिक्रमा गरेमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । यसरी मन्दिर परिक्रममा गर्नेहरूले सन्ध्याकालको चार बजेदेखि रात्रिको दुई÷तीन बजेसम्म पनि मन्दिर परिक्रमा गर्ने काम चलिरहको देख्न सकिन्छ ।
१२ वर्षमा एकपटक बाघभैरवको भव्य जात्रा गरिन्छ । १२ वर्षे मेलाको रूपमा मनाइने जात्रामा विभिन्न देवीदेवताको नाच पनि देखाउने गरिन्छ । यसरी देखाइने नाचमा भैरव, बाराही, गणेश, कुमारी, ब्रम्हायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ । सर्वप्रथम कीर्तिपुरमै उमामहेश्वरको मन्दिरअगाडि पमाः खलकहरूले वस्त्र चढाएर देवताको नाच नचाउने सुरुवात गर्छन् । यसरी नाच प्रदर्शन गर्ने सन्दर्भमा विभिन्न स्थानमा गरी १८ स्थानमा नाच प्रदर्शन गर्नुपर्दछ । देवीदेवताको यो नाच हनुमानढोकामा पनि प्रदर्शन गर्न ल्याउनुपर्छ । बाघभैरव देतवाको पुजारी न्हुच्छे दर्शनधारीका अनुसार १२ वर्षे जात्रा र नाचका लागि एक वर्षअघिको गथांमुगः चःह्रे अर्थात् घन्टाकर्ण चतुर्दशीदेखि अर्को वर्षको गथांमुगः चःहे्रसम्म नाच सिकाउनुपर्छ । यो नाचलार्ई बेजोड गथुंप्याखं पनि भन्ने गरिन्छ ।
यही बाघभैरवको शक्तिका प्रभावले ने.सं. ८८४ मा गोरखाका राजा पृथ्वीनारायण शाहलार्ई कीर्तिपुरका सेनाले तीनपटकसम्म युद्धमा हराई फर्काउन सकेको हो इतिहास पाइन्छ । वासुपासाले लेखेका छन्, ‘त्यही युद्धमा पृथ्वीनारायणका भाइ सुरप्रताप शाहको आँखा फुटाइदिएको यिो । अनि त्यही युद्धमा सरदार कालु पाण्डेलार्ई मारिदिएको थियो । कालु पाण्डेका ढाल, तरबार र पोशाक यही बाघभैरवस्थानमा चढाई राखेको थियो रे । पछि ती सामग्री राष्ट्रिय संग्रहालय छाउनीमा लगी प्रदर्शनका लागि राखिएको हो ।’
कीर्तिपुरहरूका इष्टदेवता बाघभैरवको मन्दिरबाहिर ने.सं. ७९६ मा बनाइराखेको सेतो कमेरोले पोतिएको नारायणको मन्दिर, देय् पुखु (देव पोखरी) र वरिपरि कलात्मक घरहरू पनि देखिन्छन् । देय् पुखुमा हरेक वर्ष गाईजात्राका दिन कीर्तिपुरका युवाले पोखरीमा फालिएको राँगाको टाउको समाउने र प्रतियोगिता गर्ने गरिन्छ । जंगली समयको खेल भन्न सकिने यस खेलमा राँगाको टाको ल्याउन सक्ने व्यक्तिलार्ई त्यही वर्षको सबैभन्दा भाग्यमानी मानिस ठान्ने गरिन्छ ।
बाघभैरवलार्ई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताको रूपमा पनि लिने गरिन्छ । पृथ्वीनारायण शाहलार्ई युद्धमा कीर्तिपुरका एकजना सिपाहीले काटेर मार्न खोज्दा अर्को सिपाहीले छेकेर युद्धको नियमअनुसार राजालार्ई राजाले मात्र मार्न पाउँछ हामीले हुँदैन भनी नमारी बचाएको हो, भनिन्छ । त्यसपछि युद्ध भइरहेको स्थानबाटै पृथ्वीनारायण शाहलार्ई एकजना खड्गी र अर्को पुतवार नेवारले थानकोबाट फर्काएर पठाएको हो, भनिन्छ । तर, त्यस्तो गुणको बदला उल्टै पछि फेरि पृथ्वीनारायण शाहले आक्रमण गरेर राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीलार्ई मारिसकेपछि निहत्या कीर्तिपुरका जनताको नाक काटेर १२ धार्नी नाक पृथ्वीनारायण शाहले थानकोटको त्रिभुवन पार्कनजिकै न्हाय्द्वं भन्ने स्थानमा पुरिदिए । युद्धको धर्मविपरीत सर्वसाधारण जनताको नाक काटेर पुरिदिएकाले हालसम्म पनि पृथ्वीनारायण शाहको त्यस कुकृत्यलार्ई सम्झेर न्हाय्द्वं पुग्नेबित्तिकै कीर्तिपुरेहरूले थुक्ने गर्दछन् ।
प्रतिक्रिया