सुकुम्बासी परिवारको पीडा

mangala biswokarmaम्याग्दीको पुलाचौरबाट कालीगण्डकी किनारमा बालुवा चाल्न आइपुगेकी काली परियारको आप्mनो भन्ने जमिन छैन । नदी किनारमा दुःखजिलो गरी बनाएको एउटा छाप्रो पनि छाडेर पाखोमा रात गुजार्न बाध्य भएको छ परियारको परिवार । ‘पहिरोले उठिबास लगायो’ उनले भनिन् ‘न टेक्ने जमिन छ, न झरी ओत्ने बास नै’ ।

बस्तीमाथिको डाँडाबाट निरन्तर रूपमा पहिरो खस्न थालेपछि पर्वतको कुस्मा नगरपालिका–१ मालढुंगाका सुकुम्बासी परिवारको बिचल्ली भएको छ । गएको साउन ३ गते खसेको पहिरो निरन्तर रूपमा बग्न थालेपछि सुकुम्बासी परिवारको बिचल्ली भएको हो । पहिरो गएको ठाउँमा पानीको ठूलो मूल फुटेका कारण पनि निरन्तर लेदो र जमिन बग्ने क्रम रोकिएको छैन । यसले गर्दा थप त्रास थपिएको छ । पहिरो जान थालेपछि प्रहरीले माइकिङ गरेर घर छाड्न शनिबार दिउँसो स्थानीयलाई आग्रह गरेको थियो । स्थानीयले घरमा रहेको भाडा र लत्ताकपडा बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् । ‘के गर्नु मर्न सकिएन’ विगत २२ वर्षदेखि मालढुंगामा बस्दै आएका नरसिंह पुनले घरको सामानसहित सुरक्षित स्थानतर्पm जाने क्रममा भने ।

आफ्नो भन्ने एक टुक्रा जमिन नहुँदा कालीगण्डकी नदी किनारमा बस्दै आएका ६३ घर सुकुम्बासी परिवार ओत लाग्ने जमिनको खोजीमा भौतारिन बाध्य भएका छन् । ‘अब हामीलाई बास बस्नका लागि ठाउँ चाहिएको छ’ पीडित सुकलाल परियारले भने ‘जाने ठाउँ पनि छैन, खाने थाल पनि छैन’ अझै चिरिएको जमिन बाँकी रहेकाले जुनसुकै बेला अभैm ठूलो पहिरो जान सक्ने र बस्ती सबै पुरिने संभावना रहेकोले उनीहरूको मनमा कालीगण्डकी जस्तै त्रास उर्लिरहेको छ ।

साउन ३ गते राती भूकम्पले चिरा परेको नुवारको डिलबाट पहिरो झरेपछि यहाँका बासिन्दा निदाउन सकेका थिएनन् । साउन ३ गतेको पहिरोले घर बगाएपछि ऋण खोजेको एक लाख रुपैयाँ खर्चेर बनाएको घर पनि शनिबार दिउँसोको पहिरोले बगाएपछि हरिबहादुर माझीको बिचल्ली भएको छ । नदी किनारमा बंगुरपालन र बालुवा चालेर हातमुख जोड्दै आएका माझीले भने ‘अब पहिरो आउँदैन होला भनेर पहिले पहिरो गएको एक सय मिटर पर घर बनाए, त्यो पनि बगाइदियो ।’

शनिबार दिउँसो १ बजे अचानक पहिरो आएपछि हरिबहादुर माझीसहित स्थानीय बलबहादुर माझीको घर पहिरोले बगाएको छ । श्रीमतिसहित मजदुरी गरेर जिबिको चलाउँदै आएका बलबहादुर पनि शनिबार पहिरोले घर पुरेको हेर्दै रोएरै बसेका छन् । ‘न सम्पत्ति छ, न कतै जाने नै ठाउँ छ’ वर्षौदेखि कालीगण्डकी किनारमा पर्ने मालढुंगामा बस्दै आएका बलबहादुरले भने ।

कालीगण्डकीको डरलाग्दो ठाडो भिरमा पहिरो खसेका कारण संरक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालय पर्वतका प्रमुख रमेश बरालले बताए । माथिको सबै भिर भूकम्पका कारण चर्किएको र संरक्षणका लागि जाली लगाउने ठाउँसमेत नभएकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने प्रमुख बरालको भनाइ छ । ‘ठाडो भिर भएकाले संरक्षणका कुनै उपाय अबलम्बन गर्न कठिन छ’ उनले भने ‘वर्षा र पहिरोबाट थप मानवीय क्षति हुन नदिन बस्ती नै स्थानान्तरण गर्नुको विकल्प छैन ।’

गएको वैशाखमा गएको भूकम्पका कारण कालीगण्डकी किनारा पर्वतको कुस्मादेखि वारी बेनीसम्मको सडक तथा र मोदीखोलाको किनारमा डिमुवादेखि नयाँपुलसम्मको सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको भन्दै भूगर्भविद तथा सडक विभागमा पटकपटक पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रयास नभएको पर्वतका सिडिओ ऋषिराम तिवारीले बताए । जुनसुकै बेला पनि ठूलै क्षति हुनसक्नेतर्फ सम्बन्धित निकायले समयमा नै ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया