श्रावणी मेला, महादेव र बोलबम

bolbamहरेक वर्ष साउनमा विशेष गरेर महादेवलार्ई मान्ने महिना भएरै श्रावणीमेला भनिएको हो । महादेवलार्ई मान्ने बार सोमबार त्यसमा पनि महादेवको अतिप्रिय महिना साउन । साउनको सोमबारका दिन महादेवलार्ई अति श्रद्धाभाव राखेर भक्तजनले पूजा गर्दछन् । साउनभर महादेवस्थानहरूमा भक्तजनहरूको भीड लागिरहेको हुन्छ । सोमबार त झन् बढी नै भीड हुन्छ । बिहे नभएमा वा बिहे भइसकेका महिलाले आ–आफ्ना इच्छा पूरा गर्न सोमबारका दिन महादेवको व्रत बसेर आ–आफ्ना टोलछिमेक क्षेत्रमा भएका महादेवको पूजा गर्छन् । रातो सारी लगाएर हरियो चुरामा सजिएर समूह–समूह बनाएर महिलाहरू महादेवको मन्दिरमा जाने गर्दछन् । एक किसिमले वातवारण नै रमाइलो पार्दै महिलाहरूको घुइँचो भइरहेको हुन्छ, महादेवको मन्दिर र वरिपरिका बाटोघाटोमा ।
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विशेष गरेर मान्दै आएका महादेवमध्ये पशुपतिनाथ महादेव, दुम्जाका कुशेश्वर महादवे, नुवाकोट कविलासका कपिलेश्वर र ब्रह्मेश्वर महादेव, पाटनका कुम्भेश्वर महादेव, गोकर्णका गोकर्णेश्वर महादेव, भक्तपुरका डोलेश्वर महादेव र दत्तात्रय, काठमाडौं कुलेश्वरका कुलेश्वर महादेव, कोटेश्वर महादेव, मरुटोलका सन्तानेश्वर र पाटनका सन्तानेश्वर महादेव मन्दिरमा साउनको सोमबारका दिन भक्तजनको अपार भीड लागिरहेको हुन्छ ।
साउनभर महादेवलार्ई मान्ने सन्दर्भमा महादेवलार्ई अभिषेक गर्न देशका विभिन्न स्थानमा बोलबम भन्दै गरिने यात्रालार्ई पनि श्रावणी मेलाको नामले चर्चित भएको पाइन्छ । पाँच ज्ञानेन्द्रीय पाँच कर्मेन्द्रीय र अन्तस्करणदेखि नै शुद्ध पवित्र भई गरिने बोलबम यात्रा भारतको वैद्यनाथ धामबाट सुरु भएको हो । नेपालका तराईवासीहरूले यो बोलबम काठमाडौं उपत्यकामा भित्र्याएका हुन् । आजभन्दा २२ वर्षअघि गठन भएको बोलबम काँवरिया संघले सञ्चालन गरेको पहिलो बोलबम यात्रामा १३ जना भक्तजनले मात्र बोलबममा सहभागी भई सुन्दरीजल नदीको मुहान्बाट जल घडामा भरेर बोकेर ल्याई पशुपतिनाथमा चढाएका थिए । पछि आएर हजारौँ भक्तजनले भाग लिने थाले ।
बोलबममा सहभागी हुने भक्तजनले गेरु वस्त्र लगाई, काँधमा बाँसको काँवर बोकेर दुईवटा माटोका कलशमा जल भरेर खाली खुट्टा हिँड्दै हिँड्दै, व्रत बसेर बोलबमको नारा घन्काउँदै सुन्दरीजलदेखि आई पशुपतिनाथमा जल चढाउन ल्याउँछन् । यसरी जल चढाएपछि बोलबम भक्तजनहरूको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसरी बोलबम जानेहरूमा दुई किसिमका बोलबम छन् । एउटा डाँक बम र अर्को साधारण बम । डाँक बम बालाहरूले सन्दुरीजलदेखि नदीको मुहानबाट जल भरेर ल्याएपछि कतै पनि बिसाउनु हुँदैन । उनीहरूले अघिल्लो दिनमै स्थान गरेर शुद्ध भइरहनुपर्छ । बाटोमा कोहीसँग पनि कुरा गर्ने खानेकुरा खाने, पानी खाने र दिसापिसाब गर्ने जस्ता कार्य गर्नु हुँदैन । साधारण बोलबमहरूले भने बाटोमा कुरा गर्ने, शौचालय जाने, भोक लागेमा जलघडालार्ई अग्लो शुद्धस्थानमा बिसाएर खानपिन गर्छन् । बोलबमहरूलार्ई खुवाउन बीच बाटोमा व्यवस्था गरिराखेको हुन्छ । बोलबम जाने भक्तजनहरूमा जाति, भाषा र अरू कुनै पनि किसिमको भेदभाव हुँदैन । बोलबम यात्रामा जो कोहीले पनि भाग लिन सक्छन् । बोलबम यात्रामा विधिपूर्वक भाग लिएमा मधुमेह, रक्तचाप, जन्डिस, कब्जियत जस्ता रोग पनि निको हुने विश्वास गरिएको छ ।
घरानमा पनि बोलबमको नारा चर्काउँदै तिर्थयात्रीहरूको भीड लागिरहेको हुनछ श्रावण महिनाभरि । धरानको पिण्डेश्वर बाबा धाममा जल चढाउने बोलबम भक्तजनहरूको सहभागिता लाखौँको संख्यामा हुने गर्दछ । गेरु वस्त्र लगाई सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाको शिवलिंगमा चढाउन नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट पनि त्यत्तिकै संख्यामा तीर्थयात्रीको अपार भीड लागिरहेको हुन्छ ।
धरानमा वि.सं. २०३९ सालदेखि सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वरबाबा धामको शिवलिंगमा चढाउने परम्परा बसाइएको हो । चतरादेखि जल ल्याई नांगो खुट्टाले हिँडेर गई पिण्डेश्वरमा जल चढाउने नै बोलबमको विशेषता र मौलिकता हो । तर, हिँड्न नसक्ने भक्तजनले भने यातायात साधनमा आई बोलबममा सहभागिता जनाउँछन् । चतरा कौशिकीमा स्नान गर्दा शरीर शुद्ध हुने धार्मिक विश्वास छ । त्यस्तै पैदल हिँडेर आई बाटोभरि गाइने बोलबम भजनले मनको शुद्धि हुने विश्वास गरिएको छ । मन, शरीर र आत्माशुद्धि गरेर जल चढाउँदा पिण्डेश्वर बाबा प्रसन्न भई वरदान दिनुहुन्छ भन्ने धार्मिक विश्वास छ ।
शिवलिंगमा जल चढाउने चलन ारे हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार देवताहरूको पालामा देवता र दानव मिलेर समुद्र मथन गर्दा पिण्डेश्वर बाबाधाममा जल चढाएको किम्बदन्ती छ । यसै अनुरूप आफ्नो मनोकांक्षा पूरा गर्ने धार्मिक विश्वासका साथ पिण्डेश्वरबाबा धाममा जल चढाउने गरिँदै आएको हो, भनिन्छ । महादेवले कालकुट विष पिउँदा अत्यन्तै जलन भएकाले त्यस जलन कम पार्न देवताहरूले चतराको कौशिकी नदीबाट जल ल्याई चढाएका हुन्, भनिन्छ । त्यसैको स्मरणस्वरूप बोलबम तीर्थालुहरूले जल चढाउनेसँग सम्बन्धित रही आएको छ, भनिन्छ ।
त्यस्तै रूपन्देही जिल्लाको पर्रोहा गाविस– २ वडामा रहेको पर्रोल शिव ज्योतिर्लिंग बोलबम धाममा पनि व्यापक रूपमा बोलबम मेला लाग्दछ । यहाँ गेरु वस्त्र लगाएर घडामा गंगाजल राखी बोलबम नारा चर्काउँदै पैदल बम, सवारी बम र डाँक बम यात्रा गर्ने धेरै हुन्छन् । त्यस्तै दण्डवत् बम भन्दै दण्डवत्शैलीमा छाती भुइँमा धसाउँदै हिँड्ने पनि गरिन्छ । यो पर्रोहा बोलबम धाममा ३७ किलोमिटर टाढा कपिलवस्तुको लक्ष्मणघाट, ८४ किलोमिटर टाढा नवलपरासीको त्रिवेणीधाम, १ सय ३७ किलोमिटर टाढा चितवन देवघाट र ८८ किलोमिटर टाढाको गुल्मीको रुरु क्षेत्रको काली गण्डकीदेखि गंगाजल ल्याउने गरिन्छ । यसका लागि बासको व्यवस्था पनि गरिएको हुन्छ । देवघाट, त्रिवेणी र रुरुमा साउन र माघमा देवताहरूले स्नान गर्छन् भन्ने जनविश्वास छ । त्यही भएर यी स्थानमा साउन र माघमा मेला लाग्ने गरेको हो । पाल्पा, गुल्मी, अर्घाखाँची र देशका विभिन्न जिल्लाबाट यो धाममा बोलबम मेला भर्न भक्तजनको ओइरो लाग्ने गर्दछ । भारतको उत्तरप्रदेश र विहार क्षेत्रबाट पनि यो बोलबम धाममा भक्तजनहरू आउने गर्दछन् भने थाइल्यान्ड र क्यानडामा बस्ने नेपाली साधुसन्त र शिवमार्गीहरू पनि यहाँ आउने गरेको तथ्यांक छ ।
पर्रोहा बोलबमधाम वि.सं. २०३६ साल अघिसम्म झाडी मात्र रहेको स्थानको रूपमा थियो । गाउँका बासिन्दाले गाई चराउन जाँदा एउटा गाईले झाडीको बीचमा रहेको शिवलिंगमा दूध चढाउँदै गरेको देखे । सोही सालमा भारतका पञ्चजना अखडाबाट आएका नाँगाबाबा रमेशनन्द गिरीले झाडी फाँडेर हेर्दा ज्योतिर्लिंगका साथ गणेश, पार्वती, कुमार कार्तिकेयको मूर्ति पनि फेला पारे । ती नाँगाबाबाले विशाल पञ्चमुखी उक्त ज्योर्तिर्लिंगलार्ई खनेर हेर्दा जति खन्दै हे¥यो त्यति नै ठूलो आकारको देखिन थाल्यो, घोप्ट्याइराखेको गिलासजस्तै । मूर्तिको मुनिको भाग पत्ता लगाउन नसकेपछि शिवलिंगको टुप्पो मात्र देखिने गरी राखेर सानो मन्दिर बनाइराखेका रहेछन् । पछि गएर सबैको सहयोगबाट वि.सं. २०४९ सालमा हालको ठूलो मन्दिर बनाई व्यवस्थित ढंगले पूजा सुरु गरिएको हो । यहाँ २०४९ सालदेखि नै बोलबम धामको रूपमा विकास गरेर श्रावणी मेला सुरु गरिएको हो ।
बोलबम धामको व्यवस्थापकहरूको भनाइअनुसार श्रावणी मेलाको सुरुवात गर्दाको समयमा नौ करोड दीप प्रज्ज्वलन, एक करोड बेलपत्र पुष्पाञ्जलि, आरति, नेपाल र भारतका प्रख्यात विद्वान् धर्मशास्त्रीहरू, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाइँकुुण्ड, यमुना, गंगा, सरयु, अलकाननन्दा जस्ता नेपाल, भारत र तिब्बतका देवनदी एवं तीर्थस्थलबाट जल ल्याई ज्यार्तिर्लिंगको वैदिक विधिअनुसार विशेष अनुष्ठान र उपासना गरिएको थियो । त्यसै बेलादेखि साउनमा बोलबम यात्रा सुरुवात गरिएको हो । श्रावणी मेला र बोलबम धामको व्यापक प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि भयो । यसैको परिणामस्वरूप पश्चिम नेपाल र भारतको उत्तरप्रदेश र विहारमा महिमाशाली बाबाधामको व्यापक रूपमा प्रभाव प¥यो । हरेक वर्ष लाखौँको संख्यामा भक्तजन आउन थाले । वि.सं. २०५८ सालमा मात्र यहाँ १५ लाख भक्तजनले पूजा गर्न आएको तथ्यांक छ । सोही हाराहारीमा हालसम्म पनि लाखौँ भक्तजन यहाँ हरेक वर्ष श्रावणी मेला भर्न आउने गर्दछन् ।
यसभन्दा अघि यो क्षेत्रबाट ठूलो संख्यामा शिवमार्गीहरू श्रावणी मेला भर्न भारतको वैजनाथ धाम जाने गर्दथे । यस धामका प्रमुख संरक्षण र हिन्दू शास्त्रका आचार्य किशोरकुमार गौतमको भनाइअनुसार यस ज्योर्तिर्लिंगको उत्खनन् गर्दा सबैभन्दा मुनिको भाग पत्ता लगाउन नसकेको र निराकार भएकाले यो मानव निर्मित शिवलिंग नभई स्वयं उत्पत्ति भएको मानिएको छ ।
यस स्थानमा बुद्धसँग सम्बन्ध भएका सामान पनि प्रशस्त भेटिएका छन् । यो ज्योतिर्लिंगमा दैनिक तीनपटक रङ परिवर्तन हुने, गोलाइ र उचाइ पनि एकनास नहुने, बेला–बेलामा नाग आई शिवलिंगमा बेरिने आदि विशेषता भएको आचार्य गौतमको भनाइ छ ।

प्रतिक्रिया