अबोध र बेसाहारा बालबालिकाको साहारा बनेको छ, नक्सालस्थित बालमन्दिर । यहाँ पुग्दा हरेक मानिसको आखाँ रसाउँछ । बाबुआमाको गलत कदमकोे सजाय यहाँका अबोध बालबालिकाले भोगिरहेका छन् । तर, यिनीहरु अब बेसाहारा मात्र होइनन्, यिनीहरु त ‘आमा’ पाएका भाग्मानी पनि हुन् ।
आजको आधुनिक संसारमा पनि वंश निरन्तरताका लागि छोरा नै चाहिने धेरैमा अन्धविश्वास छ । यही अन्धविश्वासका कारण आफ्ना सन्तान छोरी भए अस्पतालको शैय्यामै बेबारिसे छोडिन्छन् । कति आफ्नो बैंस बिसाउने बहानामा सामाजिक रूपमा अवैधानिक सन्तानलाई जन्म दिन्छन् । यस्ताले लोकलाजका कारण नवजात शिशुलाई सालनालसहितै खोलाका किनार, झाडी, वा जंगलजस्ता एकान्त ठाउँमा प्लास्टिकमा बेरेर फालिदिन्छन् ।
एउटी आमाले सन्तानलाई नौ महिनासम्म पेटमा हुर्काएर असह्य पीडाका साथ यस धर्तीमा पाइला टेकाउँछिन् । ममताकी खानी आमाको काखमा लुटपुटिँदै बाल्यकाल बिताउन पाउनु हरेक बालबालिकाको अधिकार हो । तर, नक्सालस्थित बाल मन्दिरका बालबालिकाको यो अधिकार हनन् भएको छ । यहाँ यस्तै घटनाका सिकार भएका ११ बालबालिका छन् । भूकम्पले बालमन्दिरको भवनमा क्षति पु¥याएपछि ‘शिक्षाका लागि खाद्यान्न’को एक कोठामा ती एघारजना बालबालिका हुर्किरहेका छन् । यहाँ पुग्दा हरेक मानिसको आखाँ रसाउँछ । बाबुआमाको गलत कदमकोे सजाय यहाँका अबोध बालबालिकाले भोगिरहेका छन् । तर, यिनीहरु बेसाहारा मात्र होइनन्, यिनीहरु त ‘आमा’ पाएका भाग्मानी पनि हुन् ।
विगत दस वर्षदेखि यस्तै बालबालिकाहरूलाई हुर्काइरहेकी छिन् ३० वर्षीया बाटुला भट्टराईले । ‘जन्म दिने आमाले भन्दा कम गरिएको छैन,’ पाँच महिने शिशुलाई लिटो खुवाउँदै उनले भनिन्, ‘यो झाडीमा फेला परेको हो ।’
कुरा गर्दै गर्दा आँखाभरि आँशु पार्दै उनले भनिन्, ‘यो बाबु यहाँ ल्याउँदा २८ दिन जतिको थियो । चिसोले गर्दा पूरै शरीर निलो भइसकेको र सास फेर्न पनि नसक्ने अवस्थामा थियो, हामीले करिब दुई हप्तासम्म अस्पतालमा राखेर ल्यायौँं अहिले पनि ऊ ‘डाउसिम सिस्टम’ को बिरामी रहेको हुदाँ यहाँभरिका बच्चाभन्दा अलि कमजोर छ ।
शिशुहरूको हेरचाह गर्ने अर्की महिला प्रभा महतले भनिन्, ‘साना बच्चा हुर्काउन कम्ता गाह्रो हँुदैन ।’ उनी एक नौ महिने शिशुलाई बोतलको दूध चुसाउँदै र अर्कीलाई झोलुंगोमा हल्लाउँदै थिइन् । ‘यो बाबु यहाँभरिको ज्ञानी र स्वस्थ छ, यहाँ ल्याएदेखि आजसम्म बिरामी भएको छैन,’ एक बच्चालाई देखाउँदै उनले भनिन् ।
आमाको दूध नखाने भएकाले पनि बालबालिकालाई हुर्काउन पाँच महिनासम्म धेरै मुस्किल हुने जाडो महिनामा धेरै बिरामी हुने अर्की आमा निर्मला तिमिल्सिनाले बताइन् । बालाजुको पुलमुनि भेटिएको तीन महिने सन्देश नामक बालकलाई देखाउँदै उनले भनिन्, ‘अस्पतालबाट ल्याएका बालबालिकाभन्दा बाटो, झाडीमा भेट्टाएर ल्याइएकालाई हुर्काउन मुस्किल हुन्छ, सन्देशलाई पनि हामीले सुरुमा एक हप्तासम्म अस्पतालमा राखेर ल्याएका हौँ ।’ उनले भनिन्, तर, हामी सक्दो हेरचाह गरेर उनीहरूलाई सकभर बिरामी हुन दिँदैनौँ, कलंकीको पुलमुनि भेटिएकी जेसिका नामक बालिकालाई पनि हामीले सुरुमा पन्ध्र दिनसम्म अस्पतालमा राखेर ल्याएका हौँ ।’
बाबुआमाले जानाजान बेबारिसे छोडिदिएका एघार बालबालिका अहिले बालमन्दिरमा हुर्कंदै गरेको गृह व्यवस्थापन प्रमुख सविता लम्साल बताउँछिन् । ‘हामीले यी बालबालिकाको हेरचाहका लागि दिनमा दुईजना नर्सका साथै पाँचजना आमाको व्यवस्था गरेका छौँ । दिन र रातमा पालैपालो उनीहरूले हरेचाह गर्ने गरेका छन्,’ उनले भनिन् । भूकम्पले गर्दा बालमन्दिरको भवनमा क्षति पु¥याएपछि यी बालबालिकालाई अहिले नक्सालस्थित शिक्षाको लागि खाद्यान्नको कार्यालयमा राखिएको छ । अहिले त्यहीँ बालबालिकाहरूले आफ्नो बालपन बिताइरहेका छन् । फुटपाथमा बेबारिसे भेटिएका यी बालबालिकालाई यहाँ ल्याएर उनीहरूको नाम राखिने बालबालिकाको थर थाहा नहुने भएकाले पनि हामीले बालक भए थरको ठाउँमा बालक र बालिकालाई बालिका राख्ने गरेको लम्साल बताउँछिन् ।
बाबुआमाले आफ्नो अवैध कर्र्म लुकाउन बेबारिसे बनाएर छोडिन्छन् र यस केन्द्रमा आइपुग्छन् । हाल यस्ता असहाय एक वर्षमुनिका छोरी चार र छोरा ६ जना गरी जम्मा दसजना बालबालिका रहेको सविता बताउँछिन् ।
यस्ता बालबालिका बाहिर अन्य ठाउँमा भन्दा यहाँ धेरै सुरक्षित हुन्छन् । उनीहरूलाई लगाउनुपर्ने खोपदेखि लिएर सम्पूर्ण स्वास्थ्य सेवामा हामीले कमी हुन नदिएको तर, आमाको दूध नखाने भएकाले बालबालिकालाई ५÷६ महिनासम्म हुर्काउन अलि मुस्किल हुने नर्स कविता न्यौपाने बताउँछिन् ।
गर्भ पतनलाई कानुनी मान्यता दिए पनि यस्ता बेवारिसे शिशु भेटिने क्रम नरोकिएको पाइएको छ । आर्थिक रूपले कमजोर भए पनि साथीहरूसँग कमजोर देखिन नचाहने हुँदा गलत बाटो समात्नाले र हाडनाता सम्बन्ध आदि कारणले रहन गएको गर्भ यसरी फालिने गरेको चिकित्सकहरू बताउँछन् । अहिले देशका विभिन्न भागमा यस्ता बेवारिसे शिशु भेटिने क्रम बढेको समाचारहरू आइरहेका छन् । वैदेशिक रोजगारी पनि यसको एउटा कारण बनेको स्वयं प्रहरीहरूले नै बताउने गरेका छन् ।
नवविवाहित पत्नीलाई छाडेर दुई÷चार वर्षकै लागि पति विदेश जाने भएकाले यस्तो अवैध गर्भ रहने गरेको पाइएको छ । यस्ता अवैध गर्भ असुरक्षित ढंगले पतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड हुने भएकाले सरकारले यसलाई सम्बोधन गर्नुपर्ने अधिकारकर्मीहरूको ठहर छ । खासगरी लोकलाजकै कारण यसरी गर्भ पतन गराइने कुरालाई वैधानिक बनाउन जरुरी रहेको बताइन्छ । यस्तो नगरिने हो भने धेरै बालबालिकाले आफूले नगरेको गल्तीको जीवनभर सजाय पाउने स्थिति रहने अधिकारकर्मी बताउँछन् ।
प्रतिक्रिया