खुवाले धानेको जिन्दगी

khuwa_1१२ वर्षको उमेरदेखि खुवाको भारी बोकेर आफ्नो जीवनयापन गर्दै आएका फलामेटार–५, फलाटेका कुमार थिङ अहिले २३ वर्ष पुगेका छन् । उनले आफ्नो कमाइले सात जनाको परिवार पालेका छन् । बिहान ६ बजे झिसमिसेमा खुवाको भारी बोकेर साहुको घरमा आइपुग्नु उनको दिनचर्या नै बनेको छ ।
काभ्रेकै फलामेटार–६ जौखोरियाका सन्तबहादुर लामा आपूmलाई आवश्यक पर्ने खाद्यन्न सामग्री लिन खुवा बोकेर कामीडाँडाको महाभारत लेक हुँदै पनौतीसम्म आउँछन् । यसरी गरेको आम्दानीबाट उनले घर खर्च र छोराछोरीलाई पढाइ खर्च पु¥याउने गरेको बताउँछन् । उनी भन्छन्, ‘यसैगरी खुवा बेचेर आएको पैसाले आफ्नो छोरा छोरीहरूलाई विद्यालय पढाउन सकेको छु ।’ तर, उनको यसरी त्यो भारी बोकेर हिँड्नु रहर भने होइन ।
उनी आफ्नो घरको आर्थिक अवस्थाको कारणले गर्दा यस्तो काम गर्नुपरेको बताउँछन् । उनका अनुसार करिब एक दिनको पैदल यात्रापछि पनौती बजार ल्याउँदा धार्नीको ६० रुपैयाँ मात्र आफूहरूले पाउने गरेको बताउँछन् ।
सोही गाविसका १७ वर्षीय मीनराज गोले पनि खुवाको भारी बोक्ने काम गर्दै आएका छन् । जीविकोपार्जन गर्ने माध्यम यही भारी भएको उनी बताउँछन् ।
अरूका लागि भन्ने हो भने कुरा सुन्दाखेरिसमेत आङ नै सिरिङ्ग हुन्छ । डाँडापारीको त्यो अति विकट क्षेत्रमा यातायातको साधन नभएका र अन्य कुनै उपाय नभएपछि सन्तबहादुर र कुमार थिङ जस्ता सयौँ मानिसले यसरी गह्रौँं भारी बोकेर जीवन गुजारी रहनुपरेको छ ।
khuwaपनौती बजारसम्म आउने जाने गर्दा घटीमा पनि दुईदेखि तीन दिनसम्म लाग्ने त्यस्तो बाटो हिँड्नु त्यो क्षेत्रको बासिन्दाहरूका लागि सामान्य जस्तै भइसकेको छ । यसरी भारी बोकेर नहिँडी जीवन नचल्ने भएकाले यो काम उनीहरूका लागि पेसा नै बनेको छ ।
चाहे दैनिक आवश्यक पर्ने खाद्यसामग्री होस् या चाहे आपूmले उत्पादन गरेको नगदे बाली वा अन्य सामग्रीहरू नै, आसपासका बजारसम्म बोकेर ल्याउनै पर्ने उनीहरूको बाध्यता रहेको छ । यो पेसा अँगालेर गुजारा गर्नेहरूका लागि त झनै कष्टको विषय बनेको छ । तर नगरीकन सुखै छैन के गर्नु ? दुखेसो पोख्दै एक खुवा व्यापारीले भने ।
डाँडापारीका हुनेखानेले खुवा व्यपारका लागि दुईदेखि चारजनासम्म यस्ता भरिया राखेका छन् । जसले त्यहाँ उत्पादन भएका खुवालाई बोकेर पनौती बजारसम्म ल्याउने गर्छन् ।
कतिन्जेल यसरी खुवाको भारी बोकेर जीविकोपार्जन गर्ने ? आउँदा जाँदाको त्यो पट्यार लाग्दो जंगल, उकालो ओरालो बाटो । ठाउँ–ठाउँमा प्याट–प्याट फुटेको नांगा गोडाबाट हिँड्नसम्म असजिलो हुनेगरी रगत बगिरहेको शिथिल भइरहेको जिउ, निरन्तर खुवाको त्यो गह्रुँगो भारी बोकेर थोपा–थोपा पानीको धाराझै पसिना बगिरहँदा पीडादायी बन्ने गर्छ ।
कहिले टन्टलापुर घाम त कहिले मुसलधारे वर्षाको पानीसँगै सामना गर्न अभ्यस्त भएको छ उनीहरूको शरीर । जति दुःखकष्ट खेप्नु परे पनि जिउ अनि टाउको माथिको नाम्लो कहिल्यै पनि हटेको छैन ।
थामको उकालो र महाभारतको जंगलै जंगल हुँदै कामीडाँडा भएर खोपासी, पनौती र बनेपाको मुख्य–मुख्य सहर बजारसम्म खुवाको भरी बोक्ने भरिया दाइको दैनिकि कष्टसाध्य छ । प्रायजसो फलामेटार गाविसका दायागाउँ कोठे, चिप्लेदमार, ठूलो धार्ने, सानो धार्ने, सिङगरडाँडा, सार्कीडाँडा, हात्तीडाँडा, महादेवटार, ढोका, सिम्ले, तालढुंगा, साल्धारा, साल्मेचाकल, डाँडागाउका बासिन्दाहरूको दिनचर्या यसरी बितिरहेको छ ।
यातायातको सुविधा नपुगेको कारण यहाँका बासिन्दाहरूले यसरी दुःख खेप्नुपरेको हो । यातायातका साधन भएको भए एकैदिनमा आवतजावत गर्न सम्भव हुने ती ठाउँका बासिन्दाहरू यतिखेर कल्पनामा मात्रै सीमित रहेर बाँचेका छन् । सरकारले डाँडापारी क्षेत्रको सुविधालाई ध्यानमा राखेर निर्माण गर्दै गरेको खोपासी तालढुङ्गा सडक खण्ड सुरु गरेको झन्डै एक दशक भइसकेको छ । तर, पनि कामीडाँडाको पारी भित्तादेखि एक मिटर पनि अगाडि बढ्न सकेको छैन । वर्षेनी डाँडापारीको नाम जोडेर थालनी गरेको सकड निर्माणको रकम त्यही महाभारत लेकमा नै अड्किरहेको छ ।
यस्तै, आफ्नो पीडालाई भुल्दै जीवनका हरेक वसन्तसँगै संघर्षका साथ जीवन यात्रा पार गरिरहेका छन् त्यस क्षेत्रका बासिन्दाहरू । यहाँको सडक सुधार होला र आफ्नै घर आँगनबाट मोटर चढेर बजार गइएला, यातायातका साधनमा सामान गुडाएर लैजाउँला भनेर सोच्नुबाहेकको विपल्प छैन उनीहरूसँग । ‘सपनामा सडक बनेर गाडी गुडेको र सरररर काठमाडौं पुगेर एकै दिन फर्केको देख्न थालेको छु,’ कुमार थिङ प्रश्न गर्छन्, ‘मैले देखेको सपना पूरा हुँदैन कि क्या हो ?’

प्रतिक्रिया