चोरी सिकारीका कारण लोप हुँदैछ डाँफे

danfeबाजुराका अधिकांश सामुदायिक र राष्ट्रिय वन जंगलमा केही वर्षपहिले प्रशस्त मात्रामा देख्न पाइने राष्ट्रिय पक्षी डाँफे पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छ । उच्च पहाडी क्षेत्रका जंगलमा पाइने डाँफेको चोरी सिकारीमा वृद्धि हुनुका साथै वनजंगलको अत्यधिक फँडानी बढेपछि डाँफेलगायतका महत्वपूर्ण पक्षी लोपोन्मुख अवस्थामा पुगेको स्थानीयले बताउने गरेका छन् ।
समुद्री सतहबाट दुई हजार एक सयदेखि तीन हजार एक सय मिटर उचाइको जंगलमा पाइने डाँफे केही वर्षयता हेर्नसमेत नपाइएको जुकोट– २ का स्थानीय रत्नबहादुर शाहीले बताएका छन् । रंगीचंगी र मनमोह राष्ट्रिय पक्षी डाँफे हेर्नका लागि गोठाला जाने ग्वालाहरूले डाँफे देख्न नपाइएको गुनासो गर्ने गरेका छन् । बाजुराको खडुल्ली, पानलोहटी, बागमा¥या, सदरमुकाम मार्तडीको लेक मालिका, बुढीनन्दा, गाम्बालगायतका लेकाली जंगलमा पाइने डाँफेको बासस्थान खतरामा परेका कारण उनीहरू लोप भइरहेको स्थानीयको भनाइ छ । डाँफे राष्ट्रिय पक्षी भएकाले सिकार गर्न वा मार्न नमिल्ने भए पनि चोरी सिकारी गर्नेहरूले मार्ने गरेको र बासस्थान सुरक्षित नभएका कारण डाँफे जस्तो महत्वपूर्ण पक्षी धरापमा परेको जिल्ला वन कार्यालय बाजुराले जनाएको छ ।
धेरै चिसो ठाउँ वा हिमाली भेगमा बस्न रुचाउने डाँफे तीन÷चार वर्षपहिले लेकाली जंगलमा यताउता उडिरहेको देख्न पाइने भए पनि आजभोलि देख्न निकै मुस्किल परेको र कहिले काहीँ फाट्टफुट्ट रूपमा देखिने गरेकोे मार्तडीका स्थानीय लक्ष्मीराज उपाध्यायले बताए । उचित संरक्षणको अभावमा अहिले बाजुराका लेकाली भेगका सामुदायिक र राष्ट्रिय वनमा पाइने डाँफे, कालिज, फग्रास, प्याउँरालगायतका महत्वपूर्ण चराहरू र बेँसीतिरका वनमा पाइने च्याखुरालगायतका विभिन्न प्रजातिका चराहरू लोपोन्मुख अवस्थामा पुगेको विच्छयाँका स्थानीय बासिन्दाको भनाइ छ । यसरी जंगलमा चोरी सिकारी गर्ने, जथाभावी जंगली जनावर मार्ने र वन फँडानी लगायतका अनियमित काम गर्नेलार्ई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र एक हजारदेखि १० हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ । तर, बाजुरामा यस्ता चोरी सिकारी गर्नेलार्ई कानुनसम्मत कारबाहीसमेत
हुन सकेको छैन ।
राष्ट्रिय पक्षीको खुलेआम चोरीसिकारी भइरहँदा सरोकारवाला निकाय भने अनविज्ञ बनेको स्थानीयको आरोप छ । वन्यजन्तुहरूको तत्काल संरक्षणको कुनै पनि प्रयास नथालिए बाजुराका अधिकांश जंगलमा पाइने डाँफे तस्वीरमा मात्र सीमित हुने जानकारहरूको भनाइ छ । हाम्रा वनमा भएका पशु पक्षीलाई जोगाउन सकेमा जैविक विविधताको संरक्षण हुनुका साथै प्राकृतिक सम्पत्तिको संरक्षण हुने निश्चित देखिन्छ । बाजुरामा भएको चारी सिकारलाई रोक्न सके र यस जिल्लामा पाइने पशुपक्षीको संरक्षण गरे मात्र यी डाँफेलगायतका पशुपक्षी हेर्न आउने पर्यटकहरूको घुइँचो लाग्ने बताउँछन्, स्थानीय अगुवा मनिजंग शाही ।
दिनहुँ भइरहेको चोरी सिकारलार्ई नियन्त्रण गर्न बाजुराका स्थानीय बासिन्दा सबै जागरुक हुने बेला आएको जिल्लाका स्थानीय बासिन्दाहरूको भनाइ छ ।

प्रतिक्रिया