स्टेरिङ समाउने मन छ

Goma-Shresthaझापा जिल्लाले धेरै ठूला मान्छे जन्माएको छ । यही झापाले संघर्ष नै संघर्षका जीवन भोग्नेहरू पनि जन्माएको छ । गोमा श्रेष्ठ झापाकी एउटा संघर्षशील महिला हुन् । संघर्ष गर्न जेल जानु वा पार्टीको झन्डामात्र बोक्नुपर्छ भन्ने होइन । आफ्नो निजी जीवनलाई डोहो¥याउनेहरूले पनि समाजमा धेरै संघर्ष गरेका छन् । जीवनसाथीले बीचबाटोमा छोडेर हिडेपछि कठिन संघर्षले सन्तान हुर्काउने झापाली पात्र हुन्, गोमा । यतिबेला उनको पहिचान, मइक्रोबसको कन्टेक्टर हो । श्रम गरेर बाच्न लाज मान्नु हुदैन भन्ने भावना राख्ने गोमा विगत चार वर्षदेखि राजधानीमा कन्टेक्टर बनेर जीवनको संघर्ष गर्दै छिन् । जीवनका भोगाइ र कामको अनुभवबारे सौर्य दैनिकस“ग गरिएको गोमाका अन्तरमनका कथा :

माक्रोबसको ढोकामा झुन्डिएर आधा ज्यान भित्र र आधा बाहिर सजिलो पक्कै हुँदैन । न त यो काम कसैले रहरले नै गर्छ । पेट पाल्नका लागि गरिने स्वाभिमानको काम हो सहचालक । यौवनमा पे्रम गरेर सुनौलो सपना बोकी झापाबाट काठमाडौं छिरेकी गोमा श्रेष्ठ पेट पाल्नका लागि यतिबेला माइक्रोबसमा सहचालक बनेकी छन् । माइक्रोभित्र सिटमा बस्नेलाई त कष्ट हुन्छ भने गोमाको त आधा ज्यान बाहिर आधा भित्र हुन्छ । कपनबाट कहिले कालोपुल, कहिले हाँडीगाउँ गन्तव्य एउटै भए पनि बाटो भने फरक हुन्छ, उनको । देख्ने कतिलाई लाग्छ, केटीमान्छेले पनि किन यस्तो काम गरेको होला ? तर, उनको भोगाइ बुझ्नेले भन्छ, ‘स्याबास् गोमा ।’
दस वर्षअगाडि बुबाआमाको इच्छाविपरीत प्रेमविवाह गरेर काठमाडौं आएकी उनले हन्डरबाहेक केही पाएकी छैनन् । सँगै बाँच्ने र सँगै मर्ने वाचा थियो, प्रेम गर्दा । समय बित्दै जाँदा ती वाचा पूरा भएनन् । एकले अर्कोको दुःखमा मल्हम लगाउने विश्वास थियो । तर, उनको दुःखमा जीवनसाथीले मल्हमको सट्टा नूनचुक छर्नेबाहेक केही गरेनन् । दुई सन्तानको आगमनसँगै सुरु भए गोमाका दुःखका दिन । दुवैले ज्याला मजदुरी गरेर जीविका चलाउँदै थिए । समृद्धि नभए पनि शान्ति थियो, उनीहरूको जीवनमा । तर, त्यो शान्ति धेरै समय टिक्न सकेन । काठमाडौंको महँगीमा पनि ज्याला मजदुरीले जीवन धानेका थिए, गोमाका जोईपोइले । यतिसम्मको भोगाइ भोग्नुपर्ला भन्ने उनको मनमा कतै थिएन ।
समय बित्दै जाँदा उनको परिवारमा कलहको बादल मडारिन थाल्यो । श्रीमान्मा बडेको कुलतको आकर्षणले उनीहरूका सुख र शान्ति छिन्नभिन्न भए ।
अहिले श्रीमान् साथै हुदाँका दिन गोमालाई सम्झना नपरे हुन्थ्यो भन्ने लाग्छ । जे लागे पनि उनका अगाडि विगतको प्रश्न तेर्सिरहन्छ । उनको छाया जस्तै बनेर घुमिरहन्छ विगत वरिपरि । दिनभरि ज्यामी काम गरेर आउँथेँ, कहिले भात पकाउने कुकर गायब हुन्थ्यो, कहिले ग्यासको सिलिन्डर । जे भेट्यो त्यही बेचेर रक्सी खान्थे । घरमा आएर बबन्डर गर्थे, बाहिर कामको थकाइ, घरमा श्रीमान्को ताण्डव, खपिसक्नु हुँदैनथ्यो । छोराछोरी बाबुको हर्कत टुलु–टुल हेर्थे । छोरी बुभ्mने थिई, छोरा सानो केही बुभ्mदैन थियो । बाबुको पीडाले होला, अहिले उनीहरू सम्झन चाहँदैनन्, बाबुलाई । चार वर्षअघि एकाएक निस्केर गए सम्पर्क भएको छैन, म खोज्न पनि चाहन्नँ । हिजो पनि यही दुःख आज पनि यही दुःख । लोग्ने भएर आड हुनुको सट्टा सधैँ तनाव हुन्छ भने किन चाहियो त्यस्तो निर्दयी पति ? अहिले उनलाई हाइसञ्चो भएको छ । दिनभर काम गरेर घरमा जाँदा श्रीमान्को दमन सहनु परेको छैन । दुःखसुख जे गरे पनि आफँैसँग छ । दुई सन्तानलाई हुर्काउने र पढाउने एकल जिम्मा लिएकी छन् गोपीले । उनै सन्तानको भविष्य बनाउन पाए उनीहरूले आफूलाई हेर्लान् भन्ने आश छ, गोमासँग ।
गोमाले सानोमा पढ्ने अवसर पाइनन् । न उनलाई पढाइको महत्व थाहा थियो । यतिबेला उनले पढाइको महत्व बुझेकी छन् । तर, उनको बुझाइ निकै ढिला भएको छ, ‘गाउँमा खेतीपाती धेरै थियो । बुबाआले कहिल्यै पढ्न प्रेरित गर्नुभएन । आफूलाई पनि शिक्षाको महत्व थाहा थिएन । बल्ल–बल्ल पाँच कक्षासम्म पढेँ । उतिबेला पढ्न पाएको भए नाम, दाम र राम्रो काम हातमा हुन्थ्यो होला ।’ गोमालाई कहिले काहीँ आफ्नो बाल्यकाल फर्किए हुन्थ्यो भन्ने लाग्छ । बाल्यकाल र बंैस सम्झेर पछुताउनुबाहेक गोमासँग केही छैन । संघर्षले बाँचेको छ, उनको जीवन । बिहान पाँच बजेबाट सुरु भएको काम साँझ आठ बजेसम्म चल्छ । बा१ज ८१७७ ले दिएको छ, उनलाई आड र भरोसा । संघर्ष गरेर दुई छोराछोरी पढाउन पाए हुन्थ्यो भन्ने छ, उनमा । छोराछोरीलाई राम्रो शिक्षा र संस्कार दिनुपर्छ भन्नेमा सचेत छिन्, उनी ।
चार वर्ष भयो, गोमाले माइक्रोको ढोकामा झुन्डिन लागेको । श्रीमान् हिँडेपछि गोमा दिगो कामको खोजीमा थिइन् । आफन्त र साथीभाइको सल्लाहमा तयार भइन् उनी ‘कन्डक्टर’ बन्न । ‘सुरुमा आफँैलाई अप्ठेरो लागेको थियो, केटी मान्छे कन्डक्टर नभएकाले पनि कस्तो–कस्तो लाग्यो । केही समय परीक्षणमा बसेँ काम गर्दै जाँदा ठीकै लाग्यो । दुई वर्ष अर्कै कम्पनीमा काम गरेँ, यहाँ गरेको दुई वर्ष भयो । अहिले स्थायी भएँ । सहकर्मी र यात्रुहरूले राम्रो व्यवहार गर्छन् । कसैबाट दुव्र्यवहार भोग्नुपरेको छैन । अझ कतिले त प्रोत्साहन गर्छन् । केटीमान्छे भएर यो काम गर्नु सजिलो छैन, हिम्मत राखेर काम गर्नु भन्नेहरू धेरै भेटेको छु । जसले जे भने पनि यतिबेला मेरो काम राम्रो छ । कमाइ पनि राम्रै छ, चित्त बुझाउनुपर्छ । समयमा पढ्न नसकेपछि ठूलो र राम्रो काम खोजेरमात्र हँुदैन । आफ्नो हैसियतअनुसार काम गर्नुपर्छ ।’ आफ्नो हैसियतले भ्याएको काम यही देख्छिन्, गोमा । मासिक तीन हजार रुपैयाँ तलब र दैनिक तीनदेखि पाँच सय रुपैयाँसम्म हात पर्छ, उनको । यो कमाइले उनको सामान्य जीवन जसोतसो चलेको छ ।
Gomaपेट पाल्ने बाध्यता र केटाकेटीको भविष्य बनाउने महत्वाकांक्षा छ, गोमासँग । बाल्यकाल वा बैंस सम्झेर पछुताउन मन छैन, उनलाई । कर्ममा आस्था राख्ने गोमा भन्छिन्, ‘विगतमा जे भयो भयो, मेरो कर्ममा दुःख लेखेको थियो होला त्यसैले भोग्दै छु । दिनभर कामबाट आउँछु छोरीले खाना दिन्छे, ओछ्यानमा पल्टनेबित्तिकै निन्द्रा लाग्छ । बिहान मोबाइलको घन्टीले उठाउँछ ।’ चिन्तामा डुबेर छटपटाउनु छैन, उनलाई । उनी थप्छिन्, ‘चिन्ता केही लिन्नँ, जीवन भोगाइ हो । चिन्ता लिएर समस्या टर्ने होइन । जे पर्छ टर्छ भनेर चित्त बुझाउँछु ।’ गोमालाई जीवनका कुनै दिनको पनि पछूतो छैन । उनलाई लाग्छ, सायद मैले अझ बढी दुःख भोग्नु छ, भोग्दै जान्छु ।’ जीवनलाई यात्राको रूपमा लिने गोमा यतिबेला दुई सन्तानको साथमा संघर्षको यात्रा गर्दैछिन् ।
गोमाको जीवनमा कतै महत्वाकांक्षा छैन । दुई छाक खान र छोराछोरीलाई राम्रोसँग पढाउन पाए हुन्छ । सामान्य र सरल जीवन उनलाई मन पर्छ । छोरालाई कालोपुलमा रहेको सुनगाभा बाटिकाले पढाइदिएको छ । छोरीलाई उनी आफँै पढाउँदैछिन् । पढ्न नपाएकाले आफ्नो जस्तो जीवन छोराछोरीले भोग्नु नपरोस् भन्ने छ, गोमालाई । ‘बेलामा आफूले पनि पढ्न पाएको भए यति कष्ठको जीवन भोग्नुपर्ने थिएन भन्नेसम्म लाग्छ’ कहिले काहीँ । तर, पनि आप्mनो काम र कमाइले उनलाई सन्तुष्ट पारेको छ । वरिपरि काम गर्नेको व्यवहारले पनि उत्साही बनाउँछ बेला–बेलामा, उनलाई । सन्तानको नागरिता बनाउने दिन आउँदै गर्दा उनको हातमा नेपाली नागरिताको प्रमाणपत्र छैन । यो उमेरसम्म नागरिकता बनाउन नपाउँदा उनको मन बेला–बेला खिन्न हुन्छ । भन्छिन्, ‘श्रीमान् नभएसरह छ, आफ्नै खुसीले बिहे गरेकाले बुबाआमा खुसी छैनन् । कताबाट कसरी नागरिकता बनाउने भन्ने अन्यौलमा छु ।’ जे भए पनि यसपटक झापा गएर नागरिता बनाइछाड्ने विचारमा छिन्, गोमा ।
गोमालाई अब गाडीको ‘स्टेरिङ’ समात्ने रहर छ । केही समययता उनी गाडी चलाउन सिक्दै छिन् । नागरिकता बन्नेबित्तिकै लाइसेन्स लिने विचारमा छिन् उनी । ‘सधैँ कन्डक्टर भएर हुँदैन, चार वर्ष भयो यो पेसामा लागेको । सँगै काम गर्ने भाइहरूले पनि उकास्दै छन्, ‘दिदी अब गाडी चलाउनुपर्छ’ भनेर । अलि–अलि जानेको छु, अब पूरै सिक्ने विचारमा छु ।’ उनको रहर सामान्य छ । तर, बाँच्नका लागि उनको आकांक्षा ठूलो छ । भन्छिन्, ‘मलाई बुझ्नेहरू भन्छन्, ‘कस्तो विन्दासको यो गोमा’ । हुन पनि म विन्दासको छु । जीवन भनेको काम गरेर खानका लागि हो । दुःख सम्झेर पीडामा डुब्नका लागि होइन । त्यसैले जति सक्दो काम गरेर राम्रोसँग बाँच्न चाहन्छु । एक्लै पनि धेरै गर्न सकिन्छ भन्ने लाग्छ मलाई । श्रीमान् साथमा नभएकोमा कुनै गुनासो छैन । सायद ऊ पनि मेरालाई थोरै समयको थियो, भेट भयो, माया बस्यो, केही दुःखसुख साट्यो गयो । यो पनि मेरो भाग हो भनेर चित्त बुझाएको छु ।’ श्रीमान् नहुँदा बाँच्नै सकिँदैन भन्ने लागेको छैन गोमालाई । पीडा दिने साथी हुनुभन्दा नभएकै राम्रो ठान्छिन्, उनी ।
‘स्वास्थ्यले साथ दिँदा र शरीरमा बल, उमेर छँदासम्म काम गर्छु,’ उनी भन्छिन् । बुढेस कालमा छोराछोरीले हेर्लान् भन्ने आश छ, गोमालाई । अथाह सम्पत्ति भएर पनि बुबाआमालाई अनाथालयमा एक्लै जीवन बिताउन बाध्य पार्ने धेरै घरानिया देखेकी छन् गोमाले । उनले भनिन्, ‘जेभए पनि छोराछोरी नै मेरो साहरा हुन् । जवानीको साथी, बुढेसकालको सहारा सम्झेको छु, छोराछोरीलाई । भोलि के होला भनेर चिन्ता छैन । हुने कुरा भइछाड्छ, टारेर टर्दैन ।’ आफ्नो काममा गर्व गर्ने गोमालाई माइतीसँग पनि गुनासो छैन । उनी आफ्नो दुःख आफ्नै रोजाइले भएकाले आफँै संघर्ष गर्नुपर्नेमा विश्वस्त छिन् ।

– चमिना भट्टराई

प्रतिक्रिया