मनको विज्ञान अ सेल्फ डिसिभिंग प्रोसेस

हाइड्रो पावर बैंकिङलगायत अन्य व्यवसायमा संलग्न एकजना प्रतिष्ठित उद्योगपतिले सोध्नुभयो, ‘होइन मनलाई कसरी कन्ट्रोल गर्ने ?’

अर्का एकजना प्रधान थरका मित्रले जिज्ञासा राखे, ‘तपाईं जस्तो जीवनको आयाम परिवर्तन गर्ने वा अन्य रूपमै जीवन परिवर्तन गर्ने सोच मेरो मनमा किन आउँदैन ?’
वा अन्य एउटा साथीकी श्रीमतीले भनिन्, ‘मनलाई आनन्दित कसरी बनाउने, के म पनि आत्मज्ञान लिन जाऊँ ? ’
यी प्रश्नहरूको जवाफ प्रश्नकर्ताहरूलाई जे दिए पनि म यी प्रश्नहरूबाट मुक्त हुन सकिनँ । कैयनपटक मनमा उपरोक्त प्रश्नहरूले खेदो गरेको पाएँ । यसपछि यस विषयमा चिन्तन गर्ने बाध्यता नै भयो । तीनवटै प्रश्न फरक देखिए पनि चिन्तनमा गहिरिँदै जाँदा भिन्नता पाइनँ । सबै प्रश्न मनमा, मनका विषयमा र मनलाई नियन्त्रण गर्ने चाहनासँग सम्बन्धित रहेछन् । मनको विषयबारे एउटा पुरानो वा पौराणिक सन्दर्भ सम्झना आउँछ । गीतामा अर्जुनले कृष्णसँग सोध्छन्–
‘चञ्चलम् हि मनः कृष्ण प्रमाथि बलवद्दृढम्,
तस्याहम् निग्रहं मन्ये बायोरिव सुदुष्करम् ।’ (गीता अध्याय ६–३४)
हे कृष्ण ! यो मन अति चञ्चल, दृढ र बलवान छ, यसलाई नियन्त्रण गर्नु मेरो विचारमा वायुलाई नियन्त्रण गर्नुजस्तै दुष्कर हुन्छ ।
प्रत्युत्तरमा कृष्ण भन्छन् –
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्,
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।
असंयतात्मना योगो दुष्प्राप इति मे मतिः,
वश्यात्मना तु यतता शक्योक्वाप्तुमुपायतः ।। (गीता अध्याय ६–३५,३६)
हे अर्जुन ! निश्चय पनि मन अति चञ्चल र बेगवान् छ, यसमाथि नियन्त्रण गर्नु अत्यन्त गाह्रो छ तर बारम्बारको अभ्यासले र वैराग्य भावले यो सम्भव पनि छ । मनलाई नियन्त्रणमा गर्न नसक्नेका लागि योग दुष्प्राप्य छ तर स्वाधीन मनका धनीले अभ्यासबाट यो स्थिति पाउन सक्छन् ।
नमन गर्न मन लाग्छ कृष्णप्रति उनले अर्जुनलाई कुनै जादु, चमत्कार, कृपा, ताबीज, मन्त्र, अनुष्ठान, पूजा, पाठ, नृत्य, यज्ञ, होम, दान, योगासान बताएर मनलाई नियन्त्रणमा लिने ‘फर्मुला’ दिएनन् । स्पष्ट भनी दिए, अर्जुन यदि मनलाई वशमा गर्न चाहन्छौ भने कठिन अभ्यासबाट गुज्रिनुपर्छ नत्र कुनै उपाय छैन । आजभोलिका गुरुजस्तै कृष्णले सम्पूर्ण गीतामा अर्जुनलाई कुनै ‘रेडिमेड’ उपाय दिएनन् । अहिलेका गुरु त एक महिनामै कुण्डलिनी जागरण गराउने ‘ललीपाप’ बाँडिरहेका छन् ।
आधुनिक मनोविज्ञानले मनलाई कुनै वस्तु मान्दैन, सतत गति, अविरल गति, अविराम गति नै मन हो । यसको आफ्नो कुनै अस्तित्व छैन । समुद्रमा उठेका छालजस्तै हो मनको अवस्था । छालको आफ्नो छुट्टै कुनै अस्तित्व हुन्न, वायुको दबाबले पानी तरंगित भएको हो, यस्तै यस्तै हो मन पनि । आधुनिक चिकित्साशास्त्रले त मनको कुरै गर्दैन, यसले ‘ब्रेन’को मात्रै निरूपण गर्छ । एक हिसाबले ठीक पनि हो ।
उद्यमी प्रश्नकर्तालाई म राम्ररी चिन्दछु । नेपालको पूर्वी पहाडमा जन्मिनुभएका उहाँको बाल्यकादेखि विद्यार्थी जीवन निम्नमध्यम वर्गीय परिवेशको थियो । युवावस्थामा उहाँ, मितभाषी, शालीन, पारिवारिक र मिलनसार हुनुहुन्थ्यो, कुल मिलाएर एउटा ‘कुल’ पर्सनालिटी । उहाँका अग्रजहरूले उहाँलाई उच्च अध्ययन हेतु विदेश पठाउनुभयो । विदेशमा उहाँले आशातीत सफलता आर्जन गर्नुभयो, एउटा सफल व्यवसायी नै बन्न पुग्नुभयो उहाँ विदेशमा । बिहे पनि उहाँले विदेशी महिलासँग गर्नुभयो, र कालान्तरणमा नोपलमा पनि व्यवसाय फैलाउनुभयो । आफ्नो स्वभावअनुसार उहाँले आफ्ना नाता, गोता, इष्टमित्र, भाइ, बन्धु सबैलाई सहयोग गरेको मलाई थाहा छ ।
एउटा ठूलो व्यापारी भएको नाताले कामको तनाव हुनु स्वाभाविक नै हो र स्वाभाविक हो काठमाडौंमा आध्यात्मिक व्यवसाय चलाएर बसेका केही व्यक्तिसँग यावत् विधिले सम्पर्क हुनु । अब को चाहँदैन ? तनावबाट मुक्ति, आनन्द, ‘वियोन्ड द माइन्ड’, ‘नो माइन्ड’ ‘कास्मिक इनर्जी’ आदि आदि ठूल्ठूला प्रलोभनका शब्दावली । उहाँले पनि मनलाई शान्त बनाउने इच्छा गर्नु नाजायज त होइन । फेरि ‘धार्मिक इन्डस्ट्री’ को विज्ञापन पनि निकै प्रभावशाली हुन्छ, एउटै शिविरमा आत्मबोध, मनको ‘मास्टर’ बनाइने, मनलाई यन्त्रसरह प्रयोग गर्ने कला सिकाइने आदि आदि ।
भेटमा उहाँले एउटा ओशो शिविरमा पनि भाग लिएको बताउनुभएको थियो । तर मन शान्त गर्ने जिज्ञासा भने उहाँमा यथावत् थियो । मेरो नाता पर्नु हुने उहाँसँग मैले अन्य अन्यझैँ वाक्चातुर्य नदेखाई स्पष्ट भने तपाईंका लागि मन शान्त हुने कुनै उपाय छैन, यति मात्र हो तपाईंलाई भ्रम दिन सकिन्छ कि मेरो मन शान्त छ । केही समय पहिला उहाँलाई दिएको जवाफमा म अझै दृढ छु, उहाँका लागि मन शान्त गर्ने कुनै उपाय छैन । उहाँलाई मात्र होइन, दिनको १२–१५ घण्टा व्यापारमा, व्यावसायमा मनलाई गति कुगति दिने कोहीका लागि पनि आधी एक घण्टा (दैनिक)को लगानीले –जुन उहाँहरूका लागि अत्यधिक हो) मनलाई शान्त बनाउने कुनै उपाय छैन । चाहे प्राणायाम गर्नुस्, मन्त्रजाप गर्नुस्, योगासन, दान होम, पाठ जे गरे पनि मन शान्त हुनेवाला छैन । पहिलो कुरा त प्रबल इच्छा चाहियो, आफ्नो वर्तमानबाट असन्तुष्टि चाहियो, ज्ञात र अज्ञातभन्दा पनि पारी केही अज्ञेय छ भन्नेमा विश्वास चाहियो । मन शान्त बनउनु ‘ग्यारेज’मा नयाँ ‘मोडेल’ को ‘कार’ हुल्नु जस्तो होइन । उहाँको यो जिज्ञासा चिता वैराग्य जस्तै हो । मलामी जाँदा घाटमा जो पनि दार्शनिक बन्छ ।
दोस्रो मित्रका जिज्ञासा मनसँग सम्बन्धित भए पनि अलिकति बढी जटिल छ । प्रवृत्ति उनको पनि संयमित छ, शालीन छ र धेरै हदसम्म उनी भाग्यशाली पनि हुन् । केही वर्ष विदेशमा बसेर नेपाल फर्केर आफ्नो व्यवसाय चलाइरहेको अवस्था छ उनको । ‘ममा’ परिवर्तनको, नयाँ कुराको चाहना किन आउँदैन भन्ने उनको प्रश्न जति सहज देखिन्छ जवाफ त्यति नै जटिल छ । मनोवैज्ञानिकहरूले सहमति र घोषणा गरिसकेका छन्– मन चञ्चल, जटिल, गतिवान्, सतत तरंगायित र एक किसिमको रोग, ‘रिपिटेसन’ र ‘भ्वायड’ पनि हो । मन परस्पर विरोधाभाषी हो । उनको मन जे छ त्यसैको ‘रिस्पिटेसन’मा उनी सन्तुष्ट छन् । सन्तुष्ट विकासका लागि वाधक भए पनि व्यक्तिगत जीवनका लागि अपरिहार्य नै हो । धार्मिक मनोविज्ञान भने यो विषयमा पृथक् धारणा राख्छ । मनका कारणले मानिस पशुभन्दा श्रेष्ठ भएको हो, मन विकास हो, यात्रा हो । मानिस मनसहित विकासको यात्रामा छ । जबसम्म मन बोकेर ऊ मात्रामा रहन्छ, पीडाबाट, मानसिक सन्तापबाट मुक्ति सम्भव छैन । दुइटा उपाय छन्, मानवबाट (मन) तल खसेर पशुवर्गमा जाने, त्यहाँ पीडा छैन, मानसिक सन्ताप छैन । ड्रग्सले गर्ने यही नै हो । अर्को उपाय कृष्णले परिधिबाट माथि उठ्ने । बुद्ध, कृष्णमूर्ति, रमण जस्तै । ती मित्रले यसको निरूपण आफैँ गर्नुपर्छ उनी मनबाट तल गएका हुन् कि माथि उठेका हुन् । यो त निर्विवाद सत्य हो, मन रहेसम्म पीडा, अवसाद, सन्ताप, संघर्षबाट मुक्त हुन सकिँदैन ।
अनि साथीकी श्रीमतीको आत्मज्ञान लिने जिज्ञासा देखासिकी मात्र हो । काठमाडौंमा गरिरहेको व्यवसाय समेटेर सपरिवार क्यानाडा स्थानान्तरित हुन लागेकी उनी खाली समय काट्ने अभिप्रायले आत्मज्ञानतिर आकर्षित भएकी हुन् । काठमाडौंमा अहिले आत्मज्ञान बाँड्ने थुप्रै केन्द्रहरू खोलिएका छन् । शरीरबारे नै नजान्नेहरू अहिले आत्मवेत्ता बनेका छन्, प्रचारको युग हो जे पनि सम्भव छ । दुई दशकभन्दा लामो संगतमा कहिल्यै उनमा मैले जीवन, जगत्, शान्तिबारे अभीप्सा रहेको पाएको थिइनँ, अकस्मात् आत्मज्ञानको जिज्ञासा सुन्दा केही क्षणलाई म हतप्रभ बनेको थिए तर विस्तारै सुन्दा केही क्षणलाई म हतप्रभ बनेको थिएँ तर विस्तारै कुरा गर्दै जाँदा क्यानाडाको कन्फरमेसन नआएसम्म त नेपालमै बस्नुपर्‍यो, पसल बन्द गरी सके, खाली बस्नुभन्दा त आत्मज्ञान लिएकै राम्रो होइन र ? उनी भन्दै गएन ।
मन बडो कुटिल पनि छ । मनले हामी जति अरूलाई ठग्छौँ, त्योभन्दा धेरैधेरै हामी आफूलाई ठगिरहेका हुन्छौँ, ‘सेल्फ डिसिभिग’ । यस्तो सेल्फ डिसिभरलाई नियन्त्रणमा लिनु ‘गुड फ्राइडे’ मनाउनु जस्तो सहज छैन । गुरुहरूकहाँ मन शान्त गर्ने उपायको खोजी गर्न जोनहरूसँग यति मात्र भन्न चाहन्छु । कमतीमा उनीहरूको मनको स्थिति त हेर्नुस्, तपाईंलाई ‘स्टप द माइन्ड’ भन्ने गुरु स्वयंको मन त ‘स्टप’ भएको छ र ?

प्रतिक्रिया