एक वर्ष अघिसम्म फुटपाथ पसले, चटके तथा यौन व्यवसायीको बार्गेनिङ गर्ने थलोका रूपमा बदनाम रहेकोे रत्नपार्क अहिले भने शान्त, सभ्य र सुन्दर बनेको छ ।
त्यही रत्नपार्कमा, आजकाल पहिलाभन्दा फरक दृश्य देख्न पाइन्छ । तपाईंले हेर्नुभएको यो तस्बिर कुनै सिनेमाका लागि कैद गरिएको होइन । काठमाडौंको केन्द्रमा रहेको रत्नपार्क । प्रेम गर्नेहरूको डेटिङस्थलको रूपमा विकास हुँदै गएको छ । स्कुल पढ्नेदेखि कलेज पढ्नेसम्म नवदम्पतीदेखि अधबैंसेसम्मका लागि रत्नपार्क अहिले भेटघाट र मोजमस्तीको थलोको रूपमा परिचित भएको छ । स्कुल कलेजको ड्रेसमै प्रेमीप्रेमिकाहरूले रोमान्स गरेको भेटिन्छ । प्रेममा रमाउँदै गरेको ती जोडीहरू रमाउँदा रमाउँदै आवेशमा आएको दृश्यसमेत देखिन्थो । झट्ट हेर्दा अलि असहज लाग्ने यस्ता थुप्रै दृश्य देख्न सकिन्छ हिजोआज रत्नपार्कतिर । सार्क सम्मेलन हुनु अघिसम्म फुटपाथ व्यापारीको कब्जामा रहेको रत्नपार्कमा हिजोआज व्यापारीहरू भेटिँदैनन् । हिजोको फुटपाथ रत्नपार्क आज प्रेमको उत्तम थलो भएको छ ।
सार्क सम्मेलनका बेला मर्मतसम्भार गर्न भन्दै बन्द गरिएको रत्नपार्क सर्वसाधारणका लागि खुला गरिएसँगै यहाँ धेरैथरिका दृश्य देखिन थालेका छन् । सर्वसाधारणले मर्मतअघि निःशुल्क प्रवेश पाउँथे, रत्न पार्कमा । तर, अब उनीहरूले २५ रुपैयाँको टिकट काट्नुपर्ने भएको छ । भित्र पस्न पैसा तिर्नुपर्ने भएपछि मानिसकोे चाप नै देखिन्छ । पहिलाको भन्दा सीमित मान्छे मात्रै जाने र सबै आफ्नै धुनमा हुने हँुदा युवावर्गले खुलेर एक आपसमा प्रेम साटासाट गर्न पाएका छन् रत्न पार्कको छातीमा ।
त्यसो त रत्नपार्कमा आफ्नो बैंस बिसाउन जाने मात्रै छैनन् । पार्कमा बसेर आफ्ना बुढ्यौली र ठट्यौली गर्दै गरेको वयष्क पुस्ताको संख्या सानो छैन । स्वछन्द तरिकाले आकाशमा चराहरू उडेझैँ रमाउँदै गरेका युवा पुस्ता पनि प्रसस्तै भेटिन्छन् । छेउको पानी पोखरी, हरियाली बगैँचा । अनि आँखैलार्ई लोभ्याउने गरी फुलेका फूलले अहिले काठमाडौंको रत्नपार्कलार्ई सुन्दर र मनमोहक बनाएको छ । पहिले–पहिले फोहोर र दुर्गन्धित मानिने रत्नपार्कको अहिले स्वरूप नै फेरिएको छ । पहिले देखेकाले अहिले रत्नपार्क देख्दा हेरेको हे¥यै हुन्छन् । एक वर्षअघि गएको वैशाख १ गतेदेखि बन्द भएको रत्नपार्कको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरी असार १५ गते सर्वसाधारणका लागि खुला गरिएको थियो । सुन्दर र रमणीय रत्नपार्क हेर्न जानेले सर्वसाधारणका लागि २५ रुपैयाँको टिकट काट्नुपर्ने छ । तर, बुढाबुढी र अपांगत भएकाका लागि भने पार्कभित्र पस्न कुनै शुल्क लाग्दैन । शारीरिक रूपमा अशक्त भएकाहरू भने निःशुल्क प्रवेश गर्न पाउँछन् ।
पार्किङ र फुटपाथ व्यापारीको स्थल मानिएको रत्नपार्क क्षेत्रलार्ई प्राकृतिक पार्क बनाइने भएको छ । यसका लागि नक्सांकन कार्य भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिका वातावरण विभागका महाशाखा प्रमुख रवीनमान श्रेष्ठले रत्नपार्क क्षेत्रलार्ई प्राकृतिक पार्क बनाउनकै लागि खुलामञ्चभित्र छिरेर व्यापार गर्ने एक हजार पाँच सय फुटपाथ व्यापारीलार्ई हटाइएको र पार्किङसमेत निषेध गरिएको जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङका अनुसार विद्यार्थीले परिचयपत्र देखाए १५ रुपैयाँ छुट दिइने छ । यस्तै रत्नपार्क प्रवेश गरेकालार्ई अल्छी नलागोस् भन्नका लागि महानगरपालिकाले फ्री वाइफाइको पनि व्यवस्था गर्न लागेको छ । त्यसका लागि सेवा प्रदायक संस्थासँग समन्वय भइरहेको महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले बताए । तमाङले भने, ‘पार्कभित्र बस्दा बोर नलागोस् भन्नका लागि हामीले फ्री वाइफाइ र सुविधा सम्पन्न क्याफे बनाउने तयारी गरिरहेका छौँ ।’ सुविधा सम्पन्न क्याफेका लागि टेन्डर प्रक्रिया पनि थालिएको बताए । पार्कभित्र बालबालिकाका लागि विशेष व्यवस्था गरिएको छ । पार्कभित्र केटाकेटीका लागि छुट्टै उद्यम खोलिएको छ । जहाँ उनीहरू खुलेर खेल्न र रमाउन पाउनेछन् । बालबालिका र जेष्ठ नागरिकहरूका लागि भने प्रवेश निःशुल्क हुनेछ । हप्ताको सातै दिन खुला रहने रत्नपार्क गर्मी समयमा बिहान ८ बजेदेखि साँझ ६ बजे सम्म र जाडोको समयमा बिहान ८ बजेदेखि साझ ५ बजेसम्म खुला रहनेछ ।
महानगरपालिकाका अनुसार ७५ लाख रुपैयाँको लागतमा रत्नपार्कको स्वरूप फेरिएको हो । काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण व्यवस्थापन विभागले सर्वसाधारणको मनोरञ्जनका लािग सहरको मुख्य भागमा रहेको रत्नपार्क प्राकृतिक पार्कको रूपमा विकास गरेको हो । विभागका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले मर्मत सम्भार गरी सशुल्क प्रवेश खुला गरेसँगै एक महिनाको अवधिमा ६५ सय विद्यार्थी र १७ हजार सर्वसाधारणले प्रवेश गरेको बताए । कार्कीका अनुसार एक महिनाको अवधिमा ५ लाख आम्दानी भएको बताए । अब यसको राम्रो सम्भार तथा मर्मत हुन्छ, जथाभावी गर्नेलार्ई कडा कारबाही गरिन्छ’ कार्कीले भने । बालबालिका र ज्येष्ठ नागरिकले समेत पार्कमा मनोरन्जन लिनसक्ने जनाकारी दिए । पार्कभित्र शोभापोखरी साथै दक्षिणतर्फ दुईवटा त्रिकोणात्मक पोखरी निर्माण गरिएका छन् । बालबालिकाको मनोरञ्जनका लागि ६ वटा पिङ र २ वटा चिप्लेटी रहेको कार्कीले जानकारी दिए । पूर्वतिरको क्षेत्रमा गमला, शौचालय निर्माण गरिएको छ, भने सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ ।
रत्नपार्कभित्र नयाँ चौतारा, पिङ बनाइएका छन्, विभिन्न स्थानमा रङरोगन गरिएको छ । पार्कभित्र कोही पुस्तक पढिरहेका देखिन्छन् त कोही ल्यापटप चलाइरहेका भेटिन्छन् । घुमघाम गर्न पार्कभित्र छिरेका पनि सभ्य तरिकाले बसेका देख्न सकिन्छन् । सःशुल्क गरिएसँगै रत्नपार्क सभ्य भएको छ, छाडापन र अश्लीलता देखिँदैन । रत्नपार्कमा नगर प्रहरी मात्रै होइन नेपाल प्रहरीले समेत चासो बढाएको छ । प्रवेशद्वारमै नगरप्रहरीले झोला र टिकट चेक गर्छन् । पार्कभित्र पनि केही प्रहरी जवान डुलिरहेका हुन्छन् । गेटमा बसेका नगरप्रहरीको चेकिङका कारण फुटपाथ पसलेले पनि प्रवेश गर्न पाएका छैनन् । टिकटको व्यवस्था गरिएपछि यौनकर्मीले पनि आफ्नो बार्गेनिङ धन्दा गेटबाहिरै गर्ने गरेको देखिन्छ ।
रत्नपार्कबाहिरको भागमा भने ठूलो भिड देख्न सकिन्छ । माइक्रोस्ट्यान्ड रहेका कारण केही मानिस माइक्रो पर्खिरहेका देखिन्छन् । साथै यसअघि भित्र व्यापार गर्नेहरू बाहिर बसेर सामान बेचिरहेको देखिन्छन् । यौनकर्मी पार्कभित्र प्रवेश गरेका त छैनन् तर पार्कबाहिर बसेर ढुक्कसँग बार्गेनिङ गरेका छन् । जसका कारण केही मानिस ठाउँ–ठाउँमा झुम्मिएको देखिन्छ । रत्नपार्कमा ड्युटीमा खटेका नेपाल प्रहरीका एक जवानले भने, ‘माथिबाटै यस्तो क्रियाकलाप रोक्न निर्देशन दिने हो भने यसलार्ई केही दिनमै रोक्न सकिन्छ जसले यो भीड धेरै कम गर्न सक्दछ ।’
अहिले रत्नपार्कको बाहिरी भागमा फुटपाथ पसलेले पत्रिका, काँक्रो, खबरबुजा केहीले नाङ्लोमा चुरोट सुर्ती र चकलेट राखेर बसेका छन् । महानगर प्रहरी प्रमुख धनपति सापकोटाले पार्कको वरिपरि नगर प्रहरीको सक्रियता बढाएको दाबी गरे पनि रत्नपार्कको फुटपाथ पसल भने हटेका छैनन् । रत्नपार्कको भित्रि भाग सुन्दर भए पनि बाहिरी भागमा नेपाल प्रहरी र नगरप्रहरीले सक्रियता नबढाउँदा यसअघि पार्क भित्र हुने कानुन विपरीतका कार्य अहिले पार्कको बाहिरी भागमा सरेको छ ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘पार्कभित्र नगर प्रहरी घुमिरहेको हुन्छ कानुनविपरीत काम गर्नेलार्ई तत्काल कारबाही हुन्छ, अब रत्नपार्कमा सभ्य ढंगले बस्नुपर्दछ ।’ अहिलेको रत्नपार्क पुनर्निर्माणका लागि महानगरपालिकाले गत वर्ष ८५ लाखको योजना बनाएको थियो । रत्नपार्कबाट औसत दैनिक १५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ । २०२१ सालमा निर्माण सम्पन्न भएको रत्नपार्कमा असार १५ गतेदेखि पहिलोपल्ट प्रवेश शुल्क लागु गरिएको हो । तत्कालीन राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मी शाहको नाममा यो पार्क निर्माण गर्न लगाएका थिए । २०१८ सालमा एक कमिटी गठन गर्दै महेन्द्रले रत्नपार्कको निर्माण गर्न लगाएका थिए ।
पञ्चायतकालमा अञ्चलाधीशको कार्यालयले यसको रेखदेख गर्ने गर्दथ्यो । तर २०३३ सालमा भने तत्कालिन श्री ५ को सरकारले सार्वजनिक उद्यान तथा सभागृह विकास समिति गठन गर्दै यसको रेखदेखको जिम्मा लगाएको थियो । पञ्चायत अन्त्य भएपछि पनि लामो समयसम्म यही समितीलेनै यसको रेखदेख गर्दै आएको थियो तर २०५८ चैत्र पाँच गतेको मन्त्रिपरिषद्को निर्णयले यो समितिलार्ई महानगरपालिकामा गाभ्ने निर्णय गरेपछि यसको स्वामित्व महानगरपालिकालार्ई आएको थियो । महानगरपालिकामा आएपछि पनि पार्क लामो समय व्यवस्थित हुन सकेन । पर्खालको मर्मत सम्भार र महानगरपालिकाले उचित चासो नदिँदा पार्क लामो समय अव्यवस्थित रह्यो । जसका कारण यो पार्क यौन व्यवसायी फुटपाथ पसले र चटकेको कमाउने थलो बन्यो । गत वर्ष २०७१ वैशाखमा महानगरपालिकाले पुनर्निर्माणका लागि रत्नपार्कलार्ई पूर्ण रूपमा बन्द गरेको थियो । २०७१ मंसिरमा सम्पन्न भएको सार्क शिखर सम्मेलनलार्ई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खुलेको रत्नपार्क अहिले भने शान्त, सभ्य र आकर्षक भएको छ ।
– सञ्जीव दाहाल
प्रतिक्रिया