खेतीपाती गर्नेलाई पुग्दो जमिन छैन । अलिअलि कसैले कमाउन दिएको जग्गामा पनि समयमा पानी नपर्दा के गर्ने भन्ने समस्याले पिरोल्दै आइरहेको छ । तिमालका रणबहादुर मगरको जस्तै गुनासो भूकम्पले गर्दा ढलेका इँटाभट्टामा अब कसरी जाने भन्ने पिरले अहिले सस्युखर्क–१ का विष्णु मगर चिन्तित छन् । दसैँ मान्न मात्र घर बस्ने गरेका उनले सो काम गरेरै आफ्ना चार छोरी र एक छोरासहितको परिवार पाल्दै आएका थिए । उनी भन्छन, ‘अब जाने ठाउँ काँ पो होला ?’ त्यस्तै प्रवेशिका परीक्षा ०७१ मा गाउँकै दाइ सरोज सार्की उत्तीर्ण भएको खबरले गाउँ गुञ्जियो । १५ वर्षीया संगीता तोलाङ्गेलाई पनि सरोजको खुसीमा उमंग आयो तर मनमनै आपूmले एसएलसी दिन पाउने हो होइन भन्ने कुराले सताउन थाल्यो । सिंगो बस्तीमै सरोज एक्लैले एसएलसी पास गरेपछिको सम्मानले संगीताको मनमा डेरा जमाउन थाल्यो ।
कात्तिके देउराली गाविसस्थित प्रभा उच्च माविको कक्षा ६ मा अध्ययनरत संगीतालाई नियमित विद्यालय जान मन भए पनि बाध्यतामा घरमा काम गरेरै दिन बिताउन विवश छिन । केही वर्षदेखि विद्यालय जाने गरेको भए पनि उनको उमेरका अधिकांश साथीहरूले एसएलसी दिइसकेका छन् । ‘उमेरले के गर्छ र ? पढ्ने रहरलाई रोक्न सक्दिनँ’, संगीताले भनिन् । उनको उमेरका र बालबालिका विद्यालय जान छाडेको चिन्ता त छँदै छ, नियमित विद्यालय गएर एसएलसी उत्तीर्ण गर्न सकिन्छ कि सकिँदैन भन्ने थप अर्काे चिन्ता थपिएको उनले बताइन् । कात्तिके देउराली गाविस–२, बोकेचौरमा रहेका ३६ घर परिवारका दलितका बालबालिका ६ महिना मात्रै विद्यालय जाने गरेका छन् । ‘वैशाख महिनामा घर आउने र कात्तिक महिनामा परिवारसहित भट्टामा जाने यहाँको चलन जस्तै बनिसकेको छ’, बोकेचौरका होमबहादुर सार्कीले बताए । आयश्रोतको कुनै अर्काे विकल्प नभएपछि यहाँका अधिकांश परिवार भक्तपुर र थानकोटका भट्टामा काम गर्न बाध्य छन् ।
अभिभावक काम गर्ने जाने विषयमा विमति नभए पनि उनीहरूसँग छोराछोरीहरूसमेत लैजाँदा उनीहरूको शिक्षा बीचमै टुट्ने गरेको छ । ६ महिना विद्यालय जाने गरेका बालबालिका ६ महिनापछि विद्यालय जाँदैनन् । वैशाखमा घर आएका बालबालिका काम नभएपछि विद्यालय पठाउने र कात्तिक महिनामा सँगै लगेपछि विद्यालयको अन्तिम र दोस्रो परीक्षामा समेत सहभागी हुन नपाएको स्थानीय गणेश सार्कीले बताए ।
संगीता जस्ता एक सय ५० भन्दा धेरै बालबालिका भएको बोकेचौरबाट दर्जनभन्दा थोरै विद्यार्थी मात्रै नियमित विद्यालय जान थालेका छन् । ढिलै अध्ययन गरे पनि संगीताको डाक्टर बन्ने लक्ष्य छ । उनले भनिन् ‘कक्षा १० सम्म पुग्दा विशिष्ट श्रेणीमा पास गर्ने लक्ष्य राखेको छु’, संगीताको साहस थियो । सानैदेखि भट्टामै गएकी संगीता भट्टामा जान छाडेको दुई वर्ष मात्रै भएको छ । बुबा आमा, दाजु भाउजु सबै भट्टामा गएपछि उनको विकल्प अरू थिएन ।
विद्यालय जाने उमेरमा भट्टामा गएका बालबालिका उमेर बढ्दै गएपछि थप कमाइका लागि विदेश जाने गरेका छन् । बालबालिकाको रेखदेख गर्ने अभिभावक नहुँदा विद्यालय जाने वातावरण छैन । बाँकी रहेका वृद्धवृद्धाहरू बिरामी हुँदा र कसैको घरमा शव पर्यो भने घाटसम्म पुर्याउने युवासमेत नभएको स्थानीय होमबहादुर सार्कीले बताए । प्रत्येकको बढीमा ३/४ आना मात्रै जग्गा भएकाले वर्षभरि खानका लागि समेत ज्याला गर्नुपर्ने भएकाले गाउँ छाडेर भट्टामा जाने र ६ महिना कमाएर ६ महिना खाने गरिएको होमबहादुर सार्कीले बताए । उनीजस्तै जिल्लाबाट भक्तपुरको इँटा भट्टामा जानेहरूमा बालबालिकाले पढाइ छाडी सुत्केरी महिलादेखि गर्भवती महिलासम्म त्यहाँ इँटा पार्दै जाने गरिँदै आएका छन् । यसरी उनीहरूले जीविका चलाउँदै आएको पेसा संकटमा पर्न सक्ने आशंका उनीहरूलाई पर्ने गरेको चिन्तामा अभिव्यक्त हुने गरेको छ ।
प्रतिक्रिया